बुटवल । कोरोना भाइरस (कोभिड-१९) संक्रमण त्रासका बीच लुम्बिनी बोद्ध विश्वविद्यालयले आगामी भाद्र १ गते देखि स्नातक तह पहिलो वर्षको परीक्षा सञ्चालन गर्ने भएको छ । गत चैत्र २ गते परीक्षा सञ्चालन गर्ने गरी परीक्षा तालिका सार्वजनिक गरेको विद्यालयले कोरोना संक्रमणसँगै लकडाउन हुने भएपछि परीक्षा स्थगित गरेको थियो । कोरोना कहर रजोखिम कायमै रहेको बेला विश्व विद्यालयले परीक्षा गर्नथालेपछि विद्यार्थीहरुले गुनासो गरेका छन् ।
कोभिड-१९ का कारण गाउँमा गएर बसेका तथा शहरमा भएका विद्यार्थी समेत परिक्षाको मिति जानकारी नहुँदा तयारी नपुगेको उनिहरुको गुनासो छ । स्नातक तह अन्तर्गत टूर एण्ड ट्राभल्स संकायको पहिलो सेमेस्टरमा अध्ययनरत विद्यार्थी आशा चापागाँईले कोरोना महामारीले विद्यार्थी अन्यौलामा रहेका बेला परिक्षा सञ्चालन गर्नु उचित नभएको बताइन् । ‘गएको वर्ष दशै तिहारपछि कक्षा सुरु भएको थियो, विश्वविद्यालयको नियमित कार्यतालिका अनुसार चैत्रमा परीक्षा हुनु पर्ने भएपनि कोभिडका कारण रोकिएको थियो ।’ उनले भनिन्-‘स्थगित भएको परीक्षा अब एक्कासी दिन तयारी छैन । यसलाई विश्वविद्यालयले स्थगित गर्नुको विकल्प छैन ।’
यस्तै अर्का विद्यार्थी कुशल पंगेनीले विश्वविद्यालयले परीक्षा सञ्चालन गर्नु राम्रो भएपनि सार्वजानिक परीक्षा दिनका लागि सार्वजनिक यातायातमा यात्रा गर्दा कोरोनाको संक्रमणको डर व्यक्त गरे । विद्यालयले परीक्षामा सहभागी हुने विद्यार्थीका लागि छुट्टै सवारी साधनको व्यवस्था गर्नु पर्ने उनको धारणा छ ।
यता विश्वविद्यालयका रजिष्टार डा. तिलक आचार्यले भने कोरोनाका कारण लामो समयसम्म परीक्षा रोकिँदा विद्यार्थीहरुको भविष्य अन्यौलमा पर्ने भएकाले परीक्षा सञ्चालन गर्न लागिएको बताए । विद्यार्थीहरुले परीक्षाको तयारी नपुगेको भन्दै परीक्षा स्थगित गर्नु पर्छ भन्न नमिल्ने आचार्यले बताए । ‘विश्वविद्यालयको नियमानुसार परीक्षाको तालिका १ महिना अघि सार्वजनिक गर्नु पर्ने व्यवस्था छ, विश्वविद्यालयले निमयमा आधारित रहेर नै परीक्षाको तालिका १ महिना अघि नै सार्वजनिक भएको छ, यसकारण अहिले कै अवस्थामा परीक्षा रोकिने अवस्था छैन् ।’-उनले भने । विद्यालयले हाल विश्वभरी देखा परेको कोभिड–१९ सरकारले परीक्षा सञ्चालन गर्नका लागि जारी गरेको परीक्षा सञ्चालन कार्यविधीमा आधारित रहेर विश्वविद्यालयले परीक्षा सञ्चालन गर्न लागेको रजिष्टार आचार्य बताए ।
कोरोना संक्रमणको जोखिम नेपालमा पनि रहेकाले सामाजिक दुरी लगाएत सुरक्षाका सबै उपायहरु अपनाएर भन्दै १ गतेबाट परीक्षा सञ्चालन गर्ने बताए । परीक्षा दिन जुम्ला, रोल्पा लगाएतका स्थानबाट विद्यार्थीहरु परीक्षा दिन आइसकेको बताउँदै उनले स्थानीय विद्यार्थीहरुले परीक्षाको तयारी नभएको भन्दै परीक्षा नगर्न दवाब दिएको बताए । परीक्षा लुम्बिनी बौद्ध विश्वविद्यालय, बुटवलको कान्ति मा.वि. र काठमाडौँमा हुने रजिष्टार आचार्यले बताए । परीक्षामा करिब १५० जना विद्यार्थी सहभागि रहने विश्व विद्यालयले जनाएको छ ।
यता देशकै सबैभन्दा ठूलो र पुरानो त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले भने बन्दाबन्दीले रोकिएको परीक्षा यही भदौको तेस्रो हप्ताबाट शुरु गर्ने तयारी गरे पनि तत्कालै परीक्षा सञ्चालन गर्ने निर्णयबाट पछि हटेको छ । लकडाउन खुलेसँगै कोरोना सङ्क्रमित बढेको र राजधानीलगायत मुख्य शहरी क्षेत्रसमेत सङ्क्रमणको जोखिममा पर्न सक्ने सम्भावना रहेको भन्दै विश्वविद्यालयले तत्काल परीक्षा लिने सम्भावना टरेको विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताइसकेका छन् ।
त्रिविका स्नातक तथा स्नातकोत्तर तहका विभिन्न परीक्षा गत चैतदेखि स्थगित रहेका छन् । यस्तै राष्ट्रिय परीक्षा बोर्डले पनि कोरोनाको संक्रमण कायम रहेकाले कक्षा १२ को परीक्षा कहिले गर्ने भन्ने बारेमा औपचारिक रुपमा अहिलेसम्म केही पनि बताएको छैन ।
प्रतिक्रिया