ताजा अपडेट »

कल्पनाको कर्मथलो

विहीबार, २२ साउन २०७७, १७ : ४१
204 Shares
विहीबार, २२ साउन २०७७
204 Shares

दुर्गा तेल मिलकी सञ्चालक हुन् कल्पना पाण्डेय । पहिला कल्पनाका ससुराले सो तेल मिल आफैले सञ्चालन गरेका थिए । छोराहरुका अंशबण्डा भएपछि जेठा छोरा अर्थात् आफ्ना श्रीमान् कृष्णले नगद नौं लाख रुपैयाँ तिरेपछि आफ्नो भागमा मिल पारे । मिल आफ्नो भागमा परेपछि कल्पनाले मिलमा कुटानी पिसानी लगायतका सबै व्यवस्थापन आफै गर्न थालिन् ।

कल्पनाले भन्दैथिइन्–महिलाले मिल चलाउने काम अनौठो भएतापनि मैले भने दुईचार दिनमै मिल सजिलै चलाउन सिकें । सुरु सुरुमा मिलको आवाज सुन्दै डर लाग्थ्यो र कुनैपनि किसिमका दुर्घटना पो हुन्छ कि भन्ने मनमा त्रास फैलिरहन्थ्यो तर राम्रोसँग मिल चलाउन सिकेपछि डर,त्रास आफै भागेर जाँदा रहेछन् । करीब एक कठ्ठा जग्गामा रहेको सो तेल मिल कल्पनाका लागि कर्मथलो भएको छ । मिलसँगै आफूहरु बस्ने घर समेत जोडिएको छ । कल्पना विहान ७ वजे मिलको ढोका उघार्छिन् र राति आठ/नौं बजे बन्द गर्छिन् । उनको मिलमा गहुँ,कोदो,मकै,धान सबै किसिमका अन्न र दलहन कुटानी पिसानी हुने गर्छन् । विहान सखारैदेखि कल्पनाले कुटानी पिसानीमा समय बिताउँछिन् । खासमा तेल मिल हो उनको ।

उनको मिलमा गहुँ र दाल पिसानी गरेको किलोको ६ रुपैयाँ पर्दोरहेछ भने चामल, मकै, दाना पिसेको प्रतिकेजी ७ रुपैयाँ लाग्दो रहेछ । हर्दी र मसला पिसेको प्रतिकेजी ६० रुपैयाँ र तोरी पेलेको किलोको १३ रुपैयाँ लाग्ने कल्पनाले बताइन् । यसरी सरदर हिसाव गर्दा औषतमा दिनमा दुईहजारदेखि दुईहजार पाँचसयसम्म कुटानी पिसानीबाट आम्दानी हुने कुरा सुनाइ रहँदा उनको ओठमा खुसीको मुस्कान छुटेको देखिन्थ्यो । कल्पनाले कुटानी पिसानीमात्र होइन बर्दिया, दाङ् र पहाडी जिल्लाहरुबाट समेत तोरी, गहुँ,मकै, कोदो, फापर र गेडागुडी किनेर पेल्ने, कुटाउने र पिसानी गरेर खुद्रारुपमा बेच्दा रहेछन् । वर्षेनी २०/२५ लाख रुपैयाँका अन्न,दलहन,तेलहन खरिद गरेर बिक्रीबट्टा गर्ने कामले उनमा थप कामको जिम्मेवारी बोध भएको सुनाउँदै थिइन् ।

उनको कामबाट प्रभावित हुनेहरु धेरै छन् । उनले नगरपालिकासँग कुनै पनि सहयोग माग वा सहयोग लिएकी त छैनन् तरपनि आफ्नो वडाका जनप्रनितिधि र कर्मचारीहरुले आफ्नो मिलमा आएर नेपालमै रहेर नेपाली महिलाले गरेको जोखिमपूर्ण कामप्रति गरेको सम्मान र आफूलाई उद्यम गर्न दिएको हौशलाले ठीकै काम गरेको रहेछु भन्ने उत्साह जागेको कल्पनाले बताइन् । २०७३ सालमा आफ्नै तरिकाले मिल सञ्चालन गर्न थालेपछि दिनरात नभनी कल्पनाले दुःख गरेकी छिन् र श्रीमानको समेत साथ लिएकी छन् । अति नै मिहिनेती कल्पनाका सकारात्मक कर्महरुको जति प्रशंसा गरेपनि कमै हुने छ । कामको चटारोले उनलाई सधैं असारको १५ हुने गर्छ । टुसुक्क बस्न र खाना खान समेत फुर्सद निकाल्न कठिन छ ।

दुईभाइ र दुईबहिनी थिए कल्पनाका माइतीघरमा । बाबा आमाले भैसीपालन र कृषि कर्म गरेर राम्रै घरव्यवहार चलाएका थिए । उनका बाबालाई भेटेनरी सम्बन्धी प्रशस्तै ज्ञान थियो । माइतीघरमा खासै दुःख थिएन । बाबा आमाले पाल्पा सदरमुकाम तानसेनमा राखेर उनलाई पढाएका थिए । माइतीघरकी जेठी छोरी कल्पनाले पाल्पा, तानसेनको मोहनकन्या माविबाट २०६० सालमा प्रवेशिका परीक्षा उत्तीर्ण गरेकी थिइन् । प्रवेशिका परीक्षा दिएपछि उनको विहे भयो । विहेपछि उनी तिलोत्तमा नगरपालिकामा आइपुगिन् र अहिले उनीहरुको परिवार सोही पालिकाको वडा नं. ३ रुपन्देही पथमा स्थायी बासिन्दाका रुपमा बस्दै आएका छन् । २०६२ सालमा उनले शंकरनगरमा रहेको न्यू लाईट आवासीय माविबाट कक्षा ११/१२ समेत उत्तीर्ण गरिन् । उनलाई पढाउनका लागि श्रीमान् कृष्णको अति नै सहयोग रहेको थियो ।

उच्च शिक्षा हासिल गर्ने उनको रहरलाई घरधन्दा, सन्तानका जन्म, सुत्केरीपछि पक्षघात भएकी देउरानी र उनका सन्तानलाई गर्नु परेको स्याहार सुसारले पूरा गर्न दिएन । उच्च शिक्षा पढ्न नपाएपनि कल्पनाले आफ्नै उद्यममा गरेको मिहिनेत हेर्दा विश्वविद्यालयको सर्टिफिकेटधारी भन्दा कुनै कुरामा कमी देखिदैनिन् । घरधन्दा,मिलको कामले उनलाई छिनभर फुर्सद छैन । ग्राहकहरुका सेवाका लागि कहिलेकाँही उनी विहानै ५ वजे र राति १०/११ वजेसम्म खटिएकी हुन्छिन् । त्यो उनको सेवाभाव पनि हो । कल्पनाका श्रीमान कृष्ण मेकानिक रहेछन् । मिल बिग्रिएर कल्पनालाई कुनै एकदिन रोकिनु परेको छैन । भारतको पञ्जाव, दुबई र कोरियामा उनले विभिन्न समयमा आफ्ना सीपहरु तिखार्न पुगेका रहेछन् ।

पछिल्लो पटक उनी सन् २०१६ मा दक्षिण कोरियाबाट नेपाल फर्केपछि आफ्नै ठाउँमा कर्म गरिराखेका छन् । उनले बुटवल पावर कम्पनीमा टर्वाइन बनाउने काम गरेको अनुभव सुनाईरहेका थिए । अहिले आफ्नो मिल बाहेक अन्य उद्योगहरुमा समेत मेकानिकल सेवाहरु दिदै आएका छन् ।
कल्पनाको माइती घर पाल्पाको बराङ्दी र कर्मघर पाल्पा कै ख्याहा गाउँ थियो । उमरेले १८ टेक्दै गर्दा कल्पनाको २०६० सालमा कृष्णप्रसाद पाण्डेयसँग विहे भएको थियो । अहिले उनीहरुका छोरा रोशनले बुटवलको कालिका मानवज्ञान माविमा कक्षा ९ मा पढ्दैछन् भने छोरी कृपाले तिलोत्तमाको स्मृति बोर्डिङ्ग स्कूलको कक्षा ७ मा पढ्दैछिन् । सानो र सुखी परिवारले उनीहरुको सम्पन्नताको परिचय दिइरहेको छ ।

कल्पनाको भविष्यको सोंच भनेकै आफ्नो तेल मिललाई ब्यवस्थित गर्ने,सबै किसिमका सेवा सुविधा दिने र विजुली नआउँदा समेत जेनेरेटरको सहायताले कुटानी पिसानीलाई निरन्तरता दिने रहेको छ ।कल्पनाले सुनाउँदै थिइन्–महिलाहरु आफ्नै खुट्टामा उभिन आफैले उद्यम गर्न सिक्नुपर्छ । गरे सकिन्छ र त्यसका लागि घरपरिवारको समेत साथ आवश्यक हुने गर्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।