ताजा अपडेट »

सालको घप्पुसहित देउखुरीबाट ११ जना पक्राउ

सोमबार, १२ साउन २०७७, १७ : २१
20 Shares
सोमबार, १२ साउन २०७७
20 Shares

दाङ । देउखुरी डिभिजन वन कार्यालय लमहीले सालका घप्पुसहित देउखुरीबाट एघार जनालाई पक्राउ गरेको छ । गएराती करिब पौने एक बजेतिर राप्ती गाउँपालिका वडा नम्बर ४ स्थित राष्ट्रिय वनबाट चिरान सालका घप्पुसहित ती युवाहरुलाई पक्राउ गरिएको डिभिजन वन कार्यालय देउखुरीका प्रमुख प्रविण बिडारीले जानकारी दिए ।

पक्राउ पर्नेमा राप्ती गाउँपालिका वडा नम्बर ४ सिमलखुटी निवासी २५ वर्षिय विरबहादुर वलि, सोही ठाउँ निवासी १८ वर्षिय शिशिर शाही, पिपरखुटी निवासी १९ वर्षिय शेखर थापा, ३६ वर्षिय तिलक नेपाली, सुन्दरपुर निवासी २७ वर्षिय विष्णु गिरी, नयाँगाउँ निवासी १८ वर्षिय राहुल भुषाल, पिपरखुटी निवासी २१ वर्षिय मनोज श्रेष्ठ, राप्ती गाउँपालिका वडा नम्बर ८ सुकुम्वासी गाउँ निवासी २४ वर्षिय दुर्गे थापा, सोहि ठाउँ कहलुवा निवासी १९ वर्षिय हेम थापा, २५ वर्षिय प्रकाश कुमाल, २० वर्षिय सञ्जिव विक रहेका छन् ।

राष्ट्रिय वनबाट सालको घप्पु ल्याउँदै गरेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भालुबाङ्गका प्रहरी र डिभिजन वन कार्यालय देउखुरीबाट गएको टोलीले पक्राउ गरेको हो । काठ तस्करलाई नियन्त्रणमा लिएर फर्किने क्रममा युवाहरुले ईलाका प्रहरी कार्यालय भालुबांगबाट गएका दुईजना प्रहरी माथि कुटपिट गरि घाइते बनाएका छन् । सालको घप्पु ओसारपसारमा संलग्न युवाको जत्थाले एक्कासी आक्रमण गर्दा ईलाका प्रहरी कार्यालय भालुबांगमा कार्यरत प्रहरी हवल्दार मानबहादुर सुनार र प्रहरी जवान तिलक केसी घाइते भएका छन् । "रातको समयमा एक्काइस जनाको समुहले काठ ओसार्दै गरेको सूचना पाएर हामीले प्रहरीको सहयोग मागेर त्यहाँ पुगेका हौ, प्रहरी हामीभन्दा अघि घटनास्थलमा पुग्यो र उनीहरुले एक्कासी आक्रमण गरेका थिएपछि प्रहरीको भ्यान पनि घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रणमा लिएको थियो ।"सहायक वन अधिकृत लालबाबु यादवले भने ।

ती युवाहरुको साथबाट पन्ध्र थान सालको चिरान घप्पु बरामद गरेको छ । राप्ती गाउँपालिका वडा नबर ४ सुङ्गुरेका अब्दुल मियाले ती युवाहरुलाई प्रयोग गरि काठ ओसारपसार गर्न लगाएको पक्राउ परेका व्यक्तिहरुले बताएका छन् । राष्ट्रिय जंगलबाट तल गाउँसम्म एकवटा घप्पू पु¥याए बाफत एक हजार रुपैयाँ दिने गरेको उनीहरुको भनाई छ । पक्राउ परेकालाई बन पैदावर (साल चिरान काठ) ओसारपसार कसुर अपराध अन्तर्गत कारबाही हुने वन प्रमुख बिडारीले जाकारी दिए । साथै अन्य फरार भएकाहरुको खोजी कार्य भैरहेको वन कार्यालयले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।