बुटवल । रुपन्देहीको सियारी गाउँपालिकाले नियमित कक्षामा उपस्थित हुने विद्यार्थीलाई नगद पुरस्कार सहित पुरस्कृत गरेको छ । गाउँपालिकाको वार्षिक कार्यक्रम अनुसार गाउँपालिकामा रहेका सामुदायिक विद्यालयका विद्यार्थीलाई नगद सहित पुरस्कृत गरिएको गाउँपालिकाले जनाएको छ ।
कक्षा ३, ५ र ८ मा अध्ययनरत विद्यार्थीलाई एक कार्यक्रमको आयोजना गरि पुरस्कार वितरण गरिएको हो । सवै भन्दा बढि विद्यालयको कक्षा कोठामा हाजिर हुने विद्यार्थीलाई प्रथम, द्वितिय र तृतिय गरि पुरस्कार वितरण गरिएको छ । जसमा कक्षा ३ मा सबै भन्दा बढि हाजिर हुने प्रथमलाई ६ हजार, द्वितियलाई ५ हजार, तृतियालाई ३ हजार ५ सय रुपैयाँ नगद प्रदान गरिएको छ । त्यस्तै कक्षा ५ मा अध्ययनरत विद्यार्थीहरुलाई क्रमशः ७ हजार, ५ हजार ५ सय, ४ हजार र कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरुलाई क्रमशः ८ हजार, ६ हजार, र ५ हजार रुपैयाँ रकम पुरस्कार स्वरुप प्रदान गरिएको शिक्षा शाखा प्रमुख सुधीर पौडेलले बताए ।
यस खालको पुरस्कार तथा प्रोत्सहनले विद्यार्थीहरुलाई नियमित कक्षा कोठामा उपस्थित गराउन मद्दत पुग्ने तथा शैक्षिक गुणस्तर सुधारमा मद्दत मिल्ने भएकोले नगद पुरस्कार वितरण गरिएको गाउँपालिका अध्यक्ष अयोध्या थारुले बताए । यस्तै गाउँपालिका भित्र रहेका धार्मिक बालविकास केन्द्र, सामुदायिक बालविकास केन्द्र र विद्यालयमा रहेका बालविकास केन्द्रहरुलाई खेल्दै पढ्ने समाग्री शैक्षिक, खेलकुद तथा खेलौनाका समान वितरण गरिएको छ । बालबालिकाहरुको सिकाईलाई प्रभावकारी बनाउन सो समाग्री बुधबार वितरण गरिएको हो ।
गत आर्थिक वर्ष ०७६/७७ मा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत प्रदेश सरकारबाट प्राप्त ५ लाख रकम बराबरको सामाग्री वितरण गरिएको अध्यक्ष थारुले बताए । उचित वातावरणसँगै विद्यार्थी, अभिभावक, शिक्षक, व्यवास्थापन समिती र गाउँपालिका सबै मिलेर शिक्षाको गुणस्तर सुधारका लागि एक हुनुपर्ने सियारी गाउँपालिका उपाध्यक्ष अमृता गुरुङको भनाई छ । शैद्धान्तिक तथा व्यवहारीक शिक्षालाई प्राथमिकतामा राखि गाउँपालिकाले विभिन्न कार्य गरिरहेको समेत उहाँले जानकारी दिए । गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत मिन प्रसाद भट्टाराई, लेखा अधिकृत नारायण पौडेल, शिक्षक, विद्यार्थी, अभिभावक लगाएतको सो कार्यक्रममा उपस्थिति रहेको थियो ।
प्रतिक्रिया