ताजा अपडेट »

लघुकथा : गाजर र मूलाको झगडा

सोमबार, २९ असार २०७७, ०१ : ०६
358 Shares
सोमबार, २९ असार २०७७
358 Shares

केशवले सानो करेसाबारीमा लगभग सबै किसिमका तरकारी लगाउँछन् । हिउँद लाग्दै गर्दा केही केराउ , बकुल्ला, कोपी , रायो , चमसुर , पालुंगो रोपे । हरियो पात खान हुन्छ भनेर केही लसुन पनि । गाजर रोपे । आलु चाहिँ नरोप्ने , हरियो सागपात बाहेक अरु किनेर खाँदा नै फाइदा हुन्छ भन्ने लाग्छ उनलाई ।

आफ्नो पेसा, दिनभरको अफिसको तनाव, कच्कच्, गुनासा सबै बिर्सन्छन् केशव करेसाबारीमा काम गर्दा । फेरि केटाकेटीमा गाउँमा हुँदा खेतबारीमा काम गरेको मीठो यादगार बनिरहेको छ यो दुई आनाको घरको पिछाड । पार्वती बजारमा हुर्किएकी खेतीको बारेमा केही पनि थाहा छैन उनलाई । बच्चाहरू त झण्डैझण्डै दुध डेरीले दिन्छ भन्ने वातावरण र पुस्ताका । धेरैजसो तरकारी रोपेको एक महिनापछि पार्वतीलाई करेसाबारीमा ल्याए केशवले । केही हरियाली देखिईसकेको थियो । सबै सुन्दर लाग्यो उनलाई । जताततै हेरिन् , मूला देखिनन् ।

"खै त मूला ?" पार्वतीले जिज्ञासा राखिन् ।
'मूला सस्तो हुन्छ , किनेर खाए पनि हुन्छ' केशवले जवाफ दिए ।
'बाहिरबाट किनेको मूला त फ़ोहोर हुन्छ , मान्छेको मल राख्छन् रे यहाँको मूलामा त' पार्वतीले स्पष्ट पारिन् ।
'कुरा त ठिकै हो तिम्रो, लगाउने पो कता हो ?' यताउती आँखा डुलाउँदै केशवले सहमति जनाए ।

खासै खाली ठाउँ त थिएन तर थोरै ठाँउ भेटियो गाजर लगाएको छेउमा । अर्को दिन मूला छरे उनले । लगभग सबै मौसमी तरकारी लगाउन पाएकोमा खुसी थिए उनी । हरेक दिन अफिसबाट आएपछि उनी त्यहीँ जान्थे , गोडमेल गर्थे , सिंचाइ गर्थे । लघु जमीन बहुबाली ! अदालतको जागिर दिनभर मान्छेको कच्कच् , झगडा , साँझ यो शान्ति । लाग्थ्यो , विरुवालाई झगडा गर्नु नपर्ने मान्छेलाई मात्रै किन झगडा गर्नुपर्ने होला । कति मिलेका यी विरुवाहरू !

झगडा नगर्दा पनि हुन्छ भनेर उदाहरण दिँदा उनले अदालतमा आउने झगडीयाहरूलाई आकाशका लाखौंलाख ताराहरू र धर्तीका अनगिन्ती विरुवाहरूलाई झगडा गर्नु नपरेको भनेर दिन्थे । यहाँसम्म कि झगडीयाहरू पनि सहमत हुन्थे यो कुरामा ।

के थाहा बिचरा उनलाई मुला र गाजर रातदिन झगडा गर्छन् भनेर ? गाजर एक महिना जेठो भएपनि मुलाले साइजमा भेटाईसकेको थियो । उसमा यही कुराको घमण्ड आउन थाल्यो । पटकपटक गाजरलाई जिस्काउन थाल्यो । शुरुशुरुमा गाजर त्यति बोलेन । तर पछी अति भएपछि उ पनि झगडा गर्न थाल्यो । उ पनि आफूलाई मुलाभन्दा बढी पौस्टिक गुणयुक्त हुँ भन्ने सोच्न थाल्यो । यी दुई एकअर्कोको रंग , साइज र गुणस्तरको बारेमा झगडा गर्न थाले । गाजरले मूलालाई सेते , हात्ती , हिप्पो भन्थ्यो भने मुलाले गाजरलाई पिलन्धरे , सिन्के , मुसो भन्थ्यो ।

मुला झगडा गरेपछि कुनै वास्ता नै नगरी मस्तसँग खान्थ्यो र सुत्थ्यो । तर गाजर चिन्ता गर्थ्यो , कुनैकुनै रात त चिन्ताले सुत्दै सुत्दैनथ्यो । त्यसैले, मूला मोटो थियोे तर गाजर त्यति फस्टाउन सकेको थिएन ।

तीन महिनापछि दुबै तयार भइसकेका थिए । वयस्क दुबै रातभरि झगडा गरे । 'सेते भन्ने मलाई , बुझिस् म त चाँदी हुँ चाँदी, ए पिलन्धरे' मुलाले पाखुरा सुर्कदै भन्यो । 'म त झन् सुन , बुझिस् , तँ भन्दा त कति हो कति कीमती , ल हेर गोल्डू आफ्नो पहेँलो शरीर देखाउँदै गाजरले भन्यो ।

माटोमा नगाडिएका भए कति लड्थे होला । तर पनि मूलाले गाजरलाई आवेशमा आक्रमण गर्न खोज्दा माटोबाट केही बाहिर आईहाल्यो । गाजर पनि रिसले चुर हुँदा माथिल्लो पट्टिको भाग निलो भयो । अरु विरुवाहरू यिनीहरूको झगडा सुनेर दुखित हुन्थे । भोलि मान्छेको आहार बन्ने हो किन तितोपिरो गर्ने अरुहरू सोच्थे । केही परको ठुटेपिपलले सोच्थ्यो, बैगुनी मान्छेहरूको अत्यधिक सम्पर्कले होला मान्छे जस्तै बैगुनी र मूर्ख छन् यी विरुवाहरू पनि । आम मान्छेहरू आफ्नो निरीह अबस्थाको पत्तो पाउँदैनन् , बरु आफूआफूमा लडाइँ झगडा गर्छन् ।

भोलिपल्ट शनिबारको दिन थियो , घरका सबैजना फुर्सदमा थिए । केशवले केही गाजर र मूला गोडे, सफा गरे । गोलागोला पिसहरू बनाए। पुरै परिवार खाना खान बसे । सबैजसोले गाजरमा जोड गरेको देखेर केशवले भने , 'गाजर मात्रै खायो भने पेट दुख्छ किनकि यो अत्यन्तै पौस्टिक गुण युक्त हुन्छ । मुला पनि अति गुणकारी हुनुको साथै खाएको खानालाई पचाउन सहयोग पुर्याउँछ । त्यसैले , मुला पनि खाउू । सबैजनाले आफ्नै बारीको गाजरको साथसाथै मुला पनि खुब रुचिका साथ खाए।
रुची र सुरुची दुई बहिनी एउटै बेडमा सुतेका थिए । राति बहिनी सुरुचीको पेट खुबै घोल्घोलायो ।

"दिदी मेरो पेट किन घोल्घोलायो , हेर्नु नू सुरुचीले गुनासो गरिन्।
"गाजर र मूला लडाइँ गरिरहेका होलान्" , रुचीले ठट्टा गर्दै थपिन् , "गाजरलाई मूलाले पचाउन खोजिरहेको होला तर गाजरले मानिरहेको छैन होला" ।
'कतिबेलासम्म लडिरहन्छन् त ? ' बहिनीको यो प्रश्नमा दिदीले उत्तर दिइन् , "जतिबेलासम्म दुईवटै पचेर मल बन्दैनन् " ।

-चोपनारायण बञ्जाडे /सन्धिखर्क, अर्घाखाँची ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।