ताजा अपडेट »

अलपत्र योजना : बुटवलमा बन्ने मानव सेवा आश्रमको भवन शिलान्यास भयो, निर्माण सुरु भएन

शनिबार, २७ असार २०७७, १८ : ००
60 Shares
शनिबार, २७ असार २०७७
60 Shares

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका-७ मा बन्ने मानव सेवा आश्रमको भवन शिलान्यास गरेको वर्ष दिन बित्न लाग्दा पनि निर्माण कार्यभने सुरु हुन सकेको छैन । तामझामका साथ प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले भवनको शिलान्यास गरेको एक वर्षसम्म पनि जग्गा विवादका कारण भवन निर्माणको काम अन्यौलमा परेको हो । बुटवल-७ को हिलपार्क तथा शिवनगर सामुदायिक वनभित्र निर्माण गर्न लागिएको भवनको काम बिबाद उत्पन्न भएपछि अलपत्र परेको छ । प्रदेश सरकारले २५ लाख रुपैयाँ रकम उपलब्ध गराउने भएपछि भवन निर्माणको काम सुरु गर्न लागिएको थियो ।

मन्त्री बरालले गत वर्ष, २०७६ साउनमा भवनको शिलान्यास गरेका थिए । भवन निर्माणका लागि जङ्गल फाँडेर माटो खन्ने काम भए पनि स्थानीय, सामुदायिक वन समूह र मानव सेवा आश्रम बीच कुरो नमिल्दा काम रोकिएको हो । हचुवाका भरमा भवन निर्माणको कामलाई अगाडि बढाउँदा बीचमै काम रोक्नु पर्ने अवस्था आएको एक स्थानीयले बताए । उक्त स्थानमा पहिलेदेखि नै रहेको सुस्त मनस्थिती बाल विद्या मन्दीरको जग्गालाई लिजमा लिएर आश्रमको भवन निर्माण गर्ने भनिएपनि बिना अनुमति सामुदायिक वन क्षेत्रकोजङ्गलमा घडेरी खन्ने काम हुँदा बिबाद उत्पन्न भएको शिवनगर सामुदायिक वनका अध्यक्ष नारायण घिमिरेले बताए । बाल विद्या मन्दिरको पहिले देखिनै रहेको ४ कट्ठा क्षेत्रफल जग्गामा भवन बनाउनुपर्ने भए पनि सामुदायिक वनको जग्गा अतिक्रमण भएपछि विवाद उत्पन्न भएको उनले बताए ।

मानव सेवा आश्रमको भवन निर्माण समितिका संयोजक लोकनाथ भुसालले भने जग्गा अतिक्रमण भन्दा पनि स्थानीयको गलत बुझाइका कारण काम रोकिए बताए । ‘मानव सेवा आश्रम यहाँ राख्न हुन्न भन्ने पक्षमा स्थानीयहरु लागेका छन् । उहाँहरुलाई बुझाउन गाह्रो भयो ।’– भुसालले भने ‘हाल प्रयोग गर्न लागिएको जग्गा वि.स. २०५२ साल तिर नै तत्कालिन सरकारले सुस्त मनस्थिती बाल विद्या मन्दीरको नाममा दिएको थियो ।’ आम्दा अस्पतालदेखि उत्तर पहाडको फेदसम्म नै बाल विद्या मन्दीरको जग्गा रहेको भुसालले बताए । २ सय जना बस्न मिल्ने गरी सय फुट लम्बाई तथा सय फुटचौडा भवन निर्माणका लागि बुटवल उपमहानगरपालिका, वडा कार्यालय, सामुदायिक वन तथा विद्या मन्दीरसँग मौखिक सहमती भएको उनले बताए । भवन निर्माणका लागि घडेरी खन्ने क्रममा केही रुखहरु पनि काटिए छन् । यसका लागि सम्बन्धित सामुदायिक वन तथा डिभिजन वन कार्यालय कहीँ पनि लिखित सहमती भने नलिइएको उनले स्वीकार गरे ।

वडा नम्बर ७ का अध्यक्ष कमलप्रसाद थापाले पनि स्थानीयहरुको गलत बुझाइका कारण भवन निर्माणमा समस्या भएको उल्लेख गरेका छन् । मानव सेवा आश्रम रहँदा आश्रममा राखिने मानवहरुले समस्या हुन सक्ने गलत बुझाईका कारण सामान्य बिबाद सिर्जना भएको उनको बुझाई छ । भवन निर्माणका लागि स्थानीयहरुसँग छलफल भैरहेको बताउँदै थापाले उनीहरु पनि सकारात्मक हुँदै गएको र छिट्टै सहमति हुने विश्वाष व्यक्त गरे । जग्गा विवादको बारेमा उनले भवन निमार्ण गर्न लागिएको जग्गा बन क्षेत्रनै भए पनि मानविय सेवाको कामका लागि अवरोध गर्न नमिल्ने उल्लेख गरे । विद्या बाल मन्दीरको जग्गा भएको भन्ने आफूले सुने पनि आधिकारीक रुपमा लालपूर्जा छ छैन भन्ने कुरा आफूलाई जानकारी नभएको बताउँदै उनले अहिलेसम्म जग्गाको तिरो समेत नबुझाइएको बताए ।

मानव सेवा आश्रमको भवन शिलान्याश गर्दै प्रदेश ५ सामाजिक विकास मन्त्री

यसैगरी बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले भने भवन निर्माणका लागि स्थानीय र आश्रम बीच कुरो नमिल्दा आफू नै पुगेर सल्टाएको बताउँदै पछिल्लो जानकारी आफूलाई नआएको बताए । भवन निर्माणका लागि प्रदेश सरकार र मानव सेवा आश्रम बीचको सम्झौता अनुसार बुटवल उपमहानगरमा पहिलो किस्ता बापतको रकम एक महिना अगाडि आईपुगेको बताउँदै उनले काम अगाडि बढ्ने बताए । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले भवन निर्माणका लागि जग्गा विवाद बारे आफूलाई जानकारी नभएको बताउँदै काम अगाडी बढेको रिपोर्टिङका आधारमा पहिलो किस्ता बापतको रकम बुटवल उपमहानगरपालिकालाई उपलब्ध गराइएको बताए ।

विश्वव्यापी कोरोना महामारीसँगै लकडाउनका कारण निर्माण स्थलको अनुगमन तथा जानकारी दिन नसकिएको बनको प्रतिक्रिया छ । आश्रमको भवन निर्माण गर्नु पर्ने पक्षमा आफू रहेको बताउँदै उनले जँगलको विषयलाई लिएर अनावश्यक विवाद गर्न नहुने बताए । प्रदेश ५ लाई सडक मानव मुक्त अभियानलाई सफल बनाउनका लागि सबै तहबाट सहयोग र सहकार्य गर्नुपर्ने कुरालाई जोड दिँदै मन्त्री बरालले जग्गाको विषयलाई लिएर कसैले आपत्ति मान्नु पर्ने आवश्यकता नदेखिएको उल्लेख गरे ।

५ वर्षभित्र सडक आश्रित मानव मुक्त बनाउने अभियान

सडक आश्रित मानव मुक्त अभियानका लागि भवन निर्माण गर्न आयोजना गरिएको महायज्ञ

आगामी पाँच वर्षभित्र नेपाललाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र बनाउने अभियान थालेको मानवसेवा आश्रमले बुटवलमा प्रदेशस्तरको आश्रम भवन निर्माण थालेको हो । ‘सबैका लागि खाना, नाना र छाना हाम्रो चाहना’ भन्ने अभियान लिएर मानवीय नेपाल बनाउने अभियानमा मानवसेवा आश्रमले सहयोगापेक्षी, बेसहारा, अभिभावकविहीन सडक आश्रितको उद्धार गरी आश्रम दिनका लागि भवन निर्माण गर्न लागेको हो ।

२०६९ सालमा मकवानपुरको हैटौँडामा स्थापना भएको आश्रमले २०७५ साल वैशाख १८ गते प्रदेश ५ को बुटवलबाट मानवता प्रवद्र्धनको अभियान सुरु गरेको थियो । मानव सेवा आश्रमसँगको सहकार्यमा बुटवल उपमहानगरपालिकाले गत २०७६ पुस ५ गते ‘सडक मानव’ मुक्त घोषणा गरिएको थियो । मानवताको शहर बनाउने अभियान शुरु भएको बताउँदै उपमहानगर प्रमुख शिवराज सुवेदीले घोषणाका लागि घोषणा नगरिएको भन्दै कार्यक्रमलाई निरन्तरता दिइने बताएका थिए । । सोहीअनुसार बुटवलमा ११ करोडको लागतमा भवन निर्माण गरी मानवता प्रवर्द्धनको महाअभियान थालेको आश्रमले बुटवलमा आयोजना गरेको श्रीमद् भागवत ज्ञान महायज्ञबाट करिब ४ करोड रुपैयाँ सङ्कलन गरेको थियो ।

बुटवल उपमहानगरलाई सडक आश्रित मानव मुक्त बनाउने प्रतिवद्धता गर्दै मेयर शिवराज सुवेदी र उप मेयर
गुमादेवी आचार्य

भवन निर्माण सहयोगार्थ गत २०७६ माघ २० देखि २७ गतेसम्म महायज्ञको आयोजना गरिएको थियो । महायज्ञ मूल आयोजक समितिका संयोजक लोकनाथ भुसालले यज्ञबाट ३ करोड ७० लाख ४० हजार ६ सय ११ रुपैयाँ आर्थिक सङ्कलन भएको प्रतिवेदन सार्वजनिक गरेका थिए । यसमध्ये १ करोड ५३ लाख ६३ हजार ९ सय ५ रुपैयाँ नगद तथा २ करोड १६ लाख ७६ हजार ७ सय ६ रुपैयाँ बराबरको सहयोग रकम प्रतिबद्धता भएको थियो । महायज्ञका लागि ३८ लाख ८३ हजार १ सय ९६ रुपैयाँ खर्च भएको थियो ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।