बलात्कारका घटनाहरूलाई कसरी रोक्न सकिन्छ भन्ने विषयमा सरकारी पक्ष र गाउँलेहरूका बीचमा छलफल चलिरहेको थियो । छलफलमा आमा समूहका महिलाहरूको पनि सहभागीता थियो ।
त्यस्तैमा आमा समूहकी अध्यक्षले सरकारी पक्षसामू आक्रोश पोखिन्,‘रगत उम्लेर आउँछ बलात्कारीहरूलाई देख्दा ! महिला तथा नाबलिकाहरूलाई गिद्धले सिनो लुछेजस्तै लुछ्ने अपराधीहरूलाई किन कडा सजायँ हुँदैन ?”
उनको आक्रोश सुनेपछि सरकारी पक्षका मानिसले भने, ‘ओ हो ! किन रिसाउनु भएको तपाइँहरू ? यो त भालुको रिस खन्युमाथी भनेजस्तै भएन र ?’ अरु महिलाहरूले भने, ‘बलात्कारीलाई फाँसी दिनु पर्छ ।’
‘तपाइँहरूले भनेको ठीक हो तर, संविधानमै फाँसी दिने व्यवस्था छैन । त्यसैले फाँसी दिने कानूून नबनेको हो ।’
‘संविधान संशोधन गर्न पनि त सकिन्छ ।’ समूहबाट आवाज आयो, ‘जबसम्म तपाइँहरूका आफ्नै घरका चेलीहरू बलात्कृत हुँदैनन्, तबसम्म तपाइँहरूले बलात्कारीहरूलाई फाँसी दिने कानूून बनाउनु हुन्न । हाम्रो माग यस्ता अपराधीहरूलाई फाँसीको सजायँ हुनु पर्छ भन्ने हो ।’
सरकारी पक्षका मानिसहरू बोलेका थिएनन्, अरु महिला बोले, ‘हिंसा बिरुद्धका कार्यक्रमले मात्र महिलाहरूका समस्या समाधान हुन्छन् ? अपराधीहरू दाम्लो फुकाएर हिँडेको साँढेजस्तै मात्तिएर हिँड्न पाएका छन् । कुनै डर छैन ।’
महिलाहरूलका कुरा सुनेपछि सरकारी पक्षका मानिसहरू हाँसे ।
तिनीहरूमध्ये एक जनाले भन्यो, ‘तपाइँहरूका भनाइहरू जायज छन् । यी कुरा हामीले सम्बन्धित ठाउँमा पु¥याउँछौँ । अहिले सरकार कोरोना नियन्त्रणमा व्यस्त छ । कोरोनाको समस्या समाधान भएपछि यस विषयमा सोचौंला नि हुन्न र ?
त्यसपछि उनीहरू मुखमा मास्क लगाउँदै बैठकबाट उठे र गाडी चढेर हिँडे ।
प्रतिक्रिया