बुटवल । नेपालमा बाली नास गर्ने घातक किराका रुपमा रहेको सलह प्रवेश गरेपछि प्रदेश ५ कृषि विकास निर्देशनालयका कर्मचारी तथा जिल्ला स्थित कृषि अनुसन्धान केन्द्रका कर्मचारीहरु फट्रयाङ्ग्रा खोज्दै गाउँ-गाउँ पुगेका छन् । एकै रातमा हजारौ विगाह क्षेत्रफलमा बाली नष्ट गर्ने क्षमताको विशेषता रहेको सलह किरा शनिबार भारतहुँदै नेपाल प्रवेश गरेको थियो ।
अहिलेसम्म के–कति सलहको झुण्ड नेपाल प्रवेश गरेको छ भन्ने तथ्याङ्क एकिन नभए पनि यस बारेमा अध्ययन जारी रहेको निर्देशनालयका प्रमुख यमनारायण देवकोटाले बताए । ‘अहिले हामी सैनामैना जाँदै छौं, हिजो सलहको केही झुण्ड त्यहाँ बसेको भन्ने खबर आएको छ ।’–देवकोटाले बाटोमा हिड्दै गर्दा भने ‘पाल्पामा पनि देखा परेको हुनाले अध्ययन टोली त्यता पनि खटिएको छ । दाङमा पनि अध्ययन भैरहेको छ । यसैगरी अर्घाखाँचीको सितगँगामा पनि देखा परेको भन्ने खबरका आधारमा टोली खटाइएको छ ।’
हावाको वेगसँगै सोही दिशामा उड्ने सलह एक दिनमा १५० किलोमिटरसम्म पुग्ने गर्दछ । अहिलेसम्म प्रदेश ५ का नवलपरासी, रुपन्देही, पाल्पा, अर्घाखाँची, दाङ लगायतका ठाउँमा सलह देखा परेको निर्देशक देवकोटाले बताए । शनिबार एकैसाथ रुपन्देहीका देवदह, मर्चवारी, बुटवल, सैनामैना, कञ्चन लगायतका ठाउँमा सलह देखा परेको थियो । शनिबार बेलुका रुपन्देहीको सैनामैना, पाल्पा जिल्लाका विभिन्न ठाउँमा सलह बास बसेको थियो ।
अहिलेसम्मको जानकारी अनुसार सलहको झुण्ड बसेका ठाउँमा वनस्पतिलाई त्यति धेरै असर पारेको नदेखिएको निर्देशक देवकोटाले बताए । प्रदेशका कपिलवस्तु, बाँके, बर्दिया, रुकुम, रोल्पा लगायतका ठाउँबाट रिपोर्ट आउन बाँकी रहेको तथा गुल्मीमा अहिलेसम्म सलह प्रवेश नगरेको उनले जानकारी दिए । आईतबार विहानै देखि पानी परेका कारण अध्ययन गर्न केही समस्या भएको निर्देशनालयले जनाएको छ । पानी परेपछि सलहको उडान पनि केही कम भएको बताइएको छ ।
सुडानबाट उडेको यो ‘सलह’ पाकिस्तान हुँदै भारतको उत्तर प्रदेशसबाट नेपालको तराई भुभागमा प्रवेश गरेको जानकारहरु बताउछन् । सलह किरा, फट्यांग्रा प्रजातीको एक झुण्डमा (४ देखि ८ करोड संख्या) उडान गर्ने र ठूलो परिमाणमा खेती वा वनस्पती नष्ट गर्न सक्ने किरा हो । सलह कृषि क्षेत्रको एक खतरनाक कीट रहेको पाइन्छ ।
प्रदेश ५ कृषि विकास निर्देशनालायका वरिष्ठ वालि विज्ञ कामना अधिकारीले सलह किरा देखिएमा मालाथिना ३ एम एल १ लिटर पानी वा क्लोरोपाईरिफस नामक विषादी २ एम एल प्रती लिटर पानीमा घोली विषादी किरामा पर्ने गरि स्प्रे गर्न कृषकलाई आग्रह गरेकी छन् । धानबालिको बीउ, तरकारी बाली तथा अन्य बालिहरुको बचाबटको लागि झुल वा जालिले छोप्न र आफ्नो आसपासको क्षेत्रहरुमा ठूलो ध्वनि, धुँवाको प्रयोग गरि बचाबट गर्न अधिकारीले कृषकलाई सल्लाह दिएकी छन् । यसैबीच प्रदेश ५ सरकार तथा रुपन्देहीको बुटवल उपमहानगरपालिकाले सलह किरालाई संकलन गरि वडामा बुझाउनेलाई प्रती किलो २० रुपैयाँको दरले प्रोत्साहन रकम दिने भएको छ ।
प्रतिक्रिया