बुटवल । विश्वव्यापी कोरोना महामारीले मुलुक सन्त्रासमा रहेकै बेला नेपालमा बाली नास गर्ने घातक किराका रुपमा रहेको सलह प्रवेश गरेपछि यसले थप चिन्ता बढाएको छ । एकै रातमा हजारौ विगाह क्षेत्रफलमा बाली नष्ट गर्ने क्षमताको विशेषता रहेको सलह किरा शनिबार भारतहुँदै नेपालमा प्रदेश ५ को रुपन्देही क्षेत्रबाट प्रवेश गरेपछि सरकारले अनुसन्धान तथा नियन्त्रणका लागि संयन्त्र परिचालन गरेको छ ।
सलह किरा, फट्याग्रां प्रजातीको एक झुण्डमा (४ देखि ८ करोड संख्या) उडान गर्ने र ठूलो परिमाणमा खेती वा वनस्पती नष्ट गर्न सक्ने किरा हो । सलह कृषि क्षेत्रको एक खतरनाक कीट रहेको पाइन्छ । सलह किसानहरुको ठूलो शत्रु रहिआएको र कतिपय देशमा जनता र भोकमरीको लागि पर्याप्त खानेकुराको बीचमा निर्धारक रहेको पाइन्छ । सुडानबाट उडेको यो ‘सलह’ पाकिस्तान हुँदै भारतको उत्तर प्रदेशसबाट नेपालको तराई भुभागमा प्रवेश गरेको जानकारहरु बताउछन् ।
शनिबार विहान रुपन्देहीको भैरहवा, बुटवल, देवदह तथा सैनामैना लगायतका क्षेत्रमा यो किरा देखा परेको थियो । प्रदेश ५ कृषि विकास निर्देशनालयलका प्रमुख यमनारायण देवकोटा, निर्देशनालायका वरिष्ठ वालि विज्ञ कामना अधिकारी, बुटवल उपमहानगरपालिकाका प्रतिनिधी लगायतका उपस्थितीमा रुपन्देहीका विभिन्न ठाउँको अध्ययन अवलोकन पछि नेपामा प्रवेश गरेको किरा सलह किरा नै भएको एकिन भएको हो ।
सलह किरा नेपालमा प्रवेश गरेको भएपनि के कति मात्रामा प्रवेश गरेको छ भन्ने तथ्यका बारेमा भने अहिले सम्म एकिन नभएको निर्देशनालयका प्रमुख देवकोटाले बताए । निर्देशनालयकी बाली विज्ञ कामना अधिकारीले भने नेपालमा प्रवेश गरेको सलहको झुण्ड सानो रहेको बताइन् । प्राय दिउसोको समयमा एक ठाउँबाट उडेर अर्को ठाउँ जाने यो किरा रातमा मात्रै बस्ने भएकोहुँदा भोलि विहान कुन ठाउँमा पुगेको छ, त्यो हेरेर मात्रै कति संख्यामा छ र कति बालि नष्ट गर्न सक्न भन्ने कुरा एकिन गर्न सकिने उनले बताए ।
सलह किरा एक प्रकारको फट्याङ्ग्रा किरा भएको र यसले झुण्ड बनाएर उड्ने विशेषता रहेको वरिष्ठ वाली विशेषज्ञ कामना अधिकारीले बताइन् । लाखौ संख्यामा उड्ने यो सलह दिनमा १५० किलोमीटर सम्म पुग्न सक्छ र यसले खेतीयोग्य जमिनमा रहेको खेतिबाती बोटबिरुवा खाएर सबै नस्ट पार्दछ । ‘सलहले वनस्पति सामग्री खान्छ । यो एक समस्या हो, किनभने झुण्ड (एक वर्गकिलोमिटरमा ८० लाख ) सलहले वनस्पति लाग्ने क्षेत्र नोक्सान गर्नुका साथै बालीलाई पनि हानि पुर्याउछ । यसले आफ्नो तौल बराबरको (२ ग्राम) हरीयो बस्तु एकै दिनमा खान सक्ने क्षमता राख्दछ ।’–अधिकारीले बताइन् । सलह किरा देखिएमा मालाथिना ३ एम एल १ लिटर पानी वा क्लोरोपाईरिफस नामक विषादी २ एम एल प्रती लिटर पानीमा घोली विषादी किरामा पर्ने गरि स्प्रे गर्न अधिकारीको सल्लाह छ ।
जानकारहरुका अनुसार युवा अवस्थामा (होपर) यो उड्न नसकेता पनि बिरुवामा अघि बढिरहन्छ र आफ्नो बाटोमा आइपर्ने सम्पूर्ण वनस्पतिलाई खान्छ । दिउँसो यो १५० किलोमिटर हिड्नसक्छ र रातमा बोटबिरुवा, झाडीमा आराम गर्छ ।
सलहले कसरी क्षेति गर्न सक्छ ?
सलह किरा फट्याङ्ग्रा वर्गको किरा हो । संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संगठनले यो किराको नाम (Locust) प्लेग दिएको छ । सलहको वैज्ञानिक नाम Schistocerca Gregaria हो । यो किरा समुहमा बस्छ र कृषि बालिमा अमेरिकी फौजी किराले भन्दा बढी क्षति पुर्याउछ । सलह किरा करोडौंको संख्यामा हुन्छन् । यो किराले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठ समेत गरी खाइदिन सक्छ । यस्तै एक दिनमा १ सय ५० किलोमिटर भन्दा बढी टाढा सम्म पुग्न सक्छन् ।
यो कीराले प्राय धेरै जसो वनस्पति खान सक्छ, प्रत्येक कीराले प्रत्येक दिन आफ्नो तौल बराबर वनस्पति सेवन गर्छ । यसकारण यसको बिकास छिटो हुन्छ र धेरै क्षति पुर्याउछ । यो कीरा झुण्डमा भएको हुँदा क्षतिको प्रतिशत पनि बढि नै हुन्छ । १ टन सलहले एक दिनमा १० वटा हात्ती वा २५ वटा ऊँट वा २५०० मानिसले खान सक्ने खाना सेवन गर्न सक्छ । यो किराले बिरुवाको पात, फल, फुल, बोक्रा र टुप्पो नष्ट गरी क्षति पुर्याउछ ।
झुण्डमा रहेका कारण यसको वजन वा तौलको चापका कारण रुखहरु समेत ढाल्न सक्छ । सलहको मलमूत्रका कारण बोटबिरुबामा संश्लेषणको कमी हुनुका साथै अन्य समस्या निम्त्याउँछ । सलहका कारण कहिले काही मानिसमा एलर्जी समेत देखापर्न सक्छ ।
सलहको नियन्त्रण कसरी गर्ने ?
प्रदेश ५ कृषि निर्देशनालयका वरिष्ठ बालि विज्ञ कामना अधिकारीका अनुसार यसको नियन्त्रणका लागि घरेलु प्रविधिमा ठुलो आवाज आउने चिजहरु जस्तै थाल ठटाउने, ड्रम बजाउने अथवा ठुलो आवाजमा स्पिकर बजाउने, ट्याक्टर प्रयोग गरेर पनि आवज निकाल्न सकिन्छ । आँगो बाल्ने, धुँवा गराउने गर्न सकिन्छ । क्षतिग्रस्त क्षेत्रमा बोरिक एसिड प्रयोग गर्ने जसकारण सलहको संख्या घटाउन सकिन्छ ।
प्राकृतिक सिकारी जस्तैः चरा, माकुरा, छेपारोले सलह नियन्त्रणमा मदत पुर्याउछ । लामो घाँसे जालको प्रयोग गर्ने । यसका साथै सलह नियन्त्रणका लागि जैबिक बिषादीको प्रयोग गर्ने, जस्तैः नोसेमा (प्रोटोजोआन सुक्ष्मजीव नियन्त्रण एजेन्ट), मेटाहाइजम (फंगल सुक्ष्मजीव नियन्त्रण एजेन्ट) प्रयोग गर्न सकिन्छ ।
प्रदेश ५ सरकार तथा रुपन्देहीको बुटवल उपमहानगरपालिकाले सलह किरालाई संकलन गरि वडामा बुझाउनेलाई प्रती किलो २० रुपैयाँको दरले प्रोत्साहन रकम दिने भएको छ । रुपन्देहीमा सलह किरा प्रवेश गरेको र यसको प्रभाव बुटवल आसपासमा देखिएको भन्दै उपमहानगरले यसको नियन्त्रणको लागि किरालाई संकलन गरि बुझाउनेलाई प्रती किलो २० रुपैयाँका दरले प्रोत्साहन रकम दिने भएको हो ।
बुटवलको सुख्खानगर, रामनगर, कालिकानगर, गोलपार्क,रामनगर लगायतका क्षेत्रमा सलह किरा देखिएपछि उपमहानगरले सुचना जारी गर्दै सलह किरा साझँ पख सबै किसिमका वोटविरुवामा झुण्ड भै बाँस बस्ने हुँदा किरा देखिएका सम्बन्धित स्थानीय तहको कृषि विकास शाखा, सम्बन्धित वडा कार्यालय, कृषि ज्ञान केन्द्र, कृषि विकास निर्देशनालय तथा कृषि विकास मन्त्रालयमा सम्पर्क गर्न अनुरोध गरेको छ । उपमहानगरले सलह किरा देखिएमा मालाथिना ३ एम एल १ लिटर पानी वा क्लोरोपाईरिफस नामक विषादी २ एम एल प्रती लिटर पानीमा घोली विषादी किरामा पर्ने गरि स्प्रे गर्न कृषकहरुलाई आग्रह गरेको छ ।
उपमहानगरले धानबालिको बीउ, तरकारी बाली तथा अन्य बालिहरुको बचाबटको लागि झुल वा जालिले छोप्न र आफ्नो आसपासको क्षेत्रहरुमा ठूलो ध्वनि, धुँवाको प्रयोग गरि बचाबट गर्न समेत अनुरोध गरेको छ ।
प्रतिक्रिया