नेपालमा सामुदायिक र निजी विद्यालयले विद्यार्थीहरुलाई औपचारिक शिक्षा प्रदान गरिरहेका छन् । नेपालभरी कुल ३५ हजार विद्यालय र त्यसमा ७० लाख विद्यार्थीहरु अध्ययनरत छन्। जसमध्ये २९ हजार सामुदायिक विद्यालयमा कुल विद्यार्थीको ८० प्रतिशतले अध्ययन गर्छन् भने करिब ६ हजार निजी विद्यालयहरुमा २० प्रतिशत विद्यार्थी छन् । नेपालको शिक्षा प्रणालि व्यवहारिक शिक्षाभन्दा पनि सैद्धान्तिक शिक्षा केन्द्रित छ । त्यसैले यहाँका हरेक शिक्षालयले नतिजामुखी पठन–पाठनलाई अनुशरण गरेको पाइन्छ । यसले घोकन्ते प्रणालिलाई (रोट लर्निङ ) प्रश्रय दिएको छ । विद्यार्थीहरुको सिकाई उपलब्धि मापन उनीहरुले परीक्षामा प्राप्त गरेको नतिजाको (अङ्क) आधारमा गरिन्छ । जसले राम्रो अङ्कका साथ परीक्षामा सफलता हाँसिल गरेको छ उसैलाई राम्रो विद्यार्थीको संज्ञा दिइन्छ ।
विभिन्न विद्यालय तथा कलेजले दिने छात्रवृत्ति पनि राम्रो अङ्क ल्याउने विद्यार्थीले नै पाउने हुनाले विद्यालयहरु विद्यार्थीलाई जसरी भए पनि राम्रो अङ्कका साथ उत्तीर्ण गराउने खालका शैक्षिक क्रियाकलापमा व्यस्त रहेको देखिन्छ । जुन विद्यालयको नतिजा राम्रो हुन्छ त्यो विद्यालय अभिभावकको पहिलो रोजाई बन्छ । शिक्षासँग सम्बन्धित विभिन्न पुरस्कार सहित राष्ट्रिय पुरस्कार पनि त्यस्तै विद्यालयले पाउँछ । नेपालमा सुरुवाती दिनदेखि नै समुदायिक विद्यालयको तुलनामा निजी विद्यालयले राम्रो नतिजा हात पर्न सफल भइरहेका छन् । यद्दपि सामुदायिक विद्यालयको नतिजामा सुधार ल्याउनको लागि प्रत्येक वर्ष मोटो रकम छुट्टयाउनुको साथै शिक्षकको पेशागत दक्षता अभिवृद्धि गर्ने खालका तालिमहरु पनि प्रदान गरिन्छ । तर, पनि नतिजा आसातितरुपमा राम्रो हुन सकेको छैन । मोटो रकम र तालिमहरु बालुवामा पनि खनाए जस्तो भइरहेका छन्।
अर्कोतिर ब्यक्तिगत वा सामुहिक लगानीमा अझ भनौं आफ्नै बलबुतामा स्थापित निजी विद्यालयहरु नतिजाको आधारमा सामुदायिक विद्यालयको तुलनामा कैयन गुणा अगाडि छन् । यसो हुनुको श्रेय निजी विद्यालयको ब्यवस्थापन र अहोरात्र शिक्षण सिकाई क्रियाकलापमा खटिरहने शिक्षकहरुलाई जान्छ । हुनत नतिजा राम्रो हुन विद्यालय , विद्यार्थी र अभिभावकको त्रिकोणात्मक सम्बन्ध पनि उत्तिकै महत्वपूर्ण हुन्छ । निजी विद्यालयका शिक्षकहरु तुलनात्मक रुपमा मेहनती हुनुको साथै शिक्षण सिकाई क्रियाकलापमा बढी समय प्रदान गर्छन् । सामुदायिक विद्यालयका शिक्षक दिनको बढीमा चार पिरियड पढाउँछन् भने निजी विद्यालयका शिक्षक दिनको कम्तिमा छ पिरियड पढाउँछन् । केही विद्यालयमा त सात देखि आठ पिरियड पढाएको पनि देखिन्छ । पढाएर मात्र उनीहरुको काम सकिदैंन । दैनिक गृहकार्य दिने , गृहकार्य परीक्षण गर्ने , कक्षा शिक्षकको जिम्बेवारी निर्वाह गर्ने , विद्यार्थीको हाइजिन चेक गर्ने , विद्यालयले दिएका अरु बिभिन्न ड्युटीहरु जस्तैःग्राउण्ड ड्यूूटी , बस ड्युटी , मर्निङ ड्यूूटी , इन्टरबल ड्यूूटी आदि निर्वाह गर्नुपर्ने हुनाले शिक्षकलाई बढी व्यस्त बनाएको हुन्छ ।
कहिलेकाँही गृहकार्य परीक्षण घरमै गर्नुपर्ने बाध्यात्मक परिस्थितिको निर्माण हुने कुरा शिक्षकहरु बताउँछन् । यिनै कारणहरुले निजी विद्यालयका विद्यार्थी तुलनात्मकरुपमा अनुशासित हुनुको साथै नतिजा पनि राम्रो आउने कुरा अकाट्य छ । यति धेरै जिम्मेवारीका साथ काममा खटिने शिक्षकहरुको तलब तथा अन्य सेवासुविधा एक–आध विद्यालयलाई छोडेर हेर्ने हो भने काम अनुसार न्यून भएको पाइन्छ । तिनै शिक्षकको योगदान बिना शिक्षित समाजको परिकल्पना गर्नु असम्भव प्रायः भएता पनि समाजले शिक्षकलाई त्यति राम्रो दृष्टिकोणले हेरेको भने पाइँदैन । यो यथार्थ हो । शिक्षकहरुको कुरा गर्दा अहिले कोरोनाको महामारीमा सबैभन्दा ठूलो मारमा निजी विद्यालयका शिक्षक परेका छन् । यो कोरोना कहरको बिचमा पनि बालबालिकाहरु पढाईबाट बञ्चित हुनु हुँदैन भन्दै कैयन निजी विद्यालयले अनलाइन कक्षा संचालन गरेको समाचार आइरहेका छन् ।
अनलाइन कक्षा सञ्चालन गरेवापत शुल्क लिन नपाउने सरकारको उर्दी छ । यस्तो स्थितिमा पनि विद्यालयको निर्देशनमा शिक्षकहरु आफ्नो घरबाटै विद्यार्थीहरुलाई पढाउने काम गरिरहेका छन् । यद्दपि सरकारले लकडाउनलाई चरणबद्धरुपमा खुकुलो पार्दै लैजाने भन्दै गरिएको घोषणामा शैक्षिक संस्था सूूचारु गर्ने कार्य अन्तिम चरणमा परेको छ । यस्तो विषम परिस्थितिमा कर्तब्यनिष्ट भई आफ्नो काममा अनबरतरुपमा लागेका शिक्षकको बैशाख महिना देखिको तलबको बारेमा अहिलेसम्म कहिँ कतैबाट सम्बोधन भएको देखिदैन । विद्यालयको आम्दानीको स्रोत बन्द भएको बर्तमान अवस्थामा शिक्षकहरुको तलब कसरी ब्यवस्थापन गर्ने भन्ने बिषयमा विद्यालय सञ्चालकहरु प्याब्सन , एनप्याब्सनको निर्णयको पर्खाइमा रहेको बताउँछन् । सरकारको त निजी विद्यालयका शिक्षकको बारेमा गुनासो सुन्ने कान नै छैन जस्तो आभाष हुन्छ । स्मरण रहोस् राज्यका उच्च अहोदामा आसिन धेरैजसो व्यक्तिहरुका छोराछोरीहरुलाई दीक्षित गर्ने काम तिनै निजी विद्यालयका शिक्षकले गरिरहेका छन् । तरपनि उनीहरु शिक्षकको न्यूूनतम हकहितको बारेमा बोल्न हिच्किचाउँछन् ।
वास्तवमा यी शिक्षकहरुको पक्षमा बोलिदिने को हो ? किन सबै भन्दा पवित्र पेशामा लागेका शिक्षकको पिरमर्का कसैले बुझ्दैन ? यिनीहरुको पक्षमा केही बोल्दा पाप नै लाग्छ र ? के यतिबेला सञ्चालकहरु मौन बस्नु उचित हो ? निजी विद्यालयको शैक्षीक गुणस्तर राम्रो देखेर सरकारले माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सबै निजी विद्यालयले सामाजिक उत्तरदायित्व वहन गर्दै कम्तीमा एक सामुदायिक विद्यालयमा शैक्षिक पूर्वाधार सामग्रीसहित विद्यालयको शैक्षिक गुणस्तर सुधारको जिम्मेवारी लिनुपर्ने कार्यक्रम बजेट भाषण मार्फत ल्याउनु यिनै शिक्षकको खटाई र अथक परिश्रमले गर्दा होइन ? यस्ता शिक्षकलाई राज्यले उपेक्षा गर्न मिल्छ ? समाजको चौतर्फी विकासमा अतुलनीय योगदान दिने शिक्षकको न्युनतम आवश्यकतालाई त सरकारबाटै सम्बोधन हुनुपर्ने हो तर बिडम्बना अहिलेसम्म हुन सकिरहेको छैन । सरकार बोलेन भनेर विद्यालयका सञ्चालक शिक्षकको पारिश्रमिकको बिषयमा चुप लगेर बस्नु कदापि उचित हुँदैन ।
यथेष्ट पूँजी भएका सक्ने विद्यालयले कम पूँजी भएका विद्यालयलाई आवश्यकता हेरिकन लोन दिई विद्यालयहरु एकापसमा मिलेर तत्कालको समस्या समाधान गर्नुपर्दछ । त्यसैगरी सरकारले पनि निजी बिद्यालयले माग गरे बमोजिम सफ्ट लोन छिटो भन्दा छिटो प्रदान गर्नुपर्दछ । यसलाई यो वा त्यो बहानामा आलटाल गर्नु हुँदैन । तत्काल अनलाइन भर्ना , अनलाइनकक्षा , रेडियो , टेलिभिजन दूूरशिक्षा र अनलाइन परीक्षालाई वैधानिकता प्रदान गर्दै उचित शुल्क निर्धारण गरिनुपर्दछ । खासमा मनन् गर्नुपर्ने कुरा के हो भने विद्यालय र शिक्षक एक–अर्काका परिपूूरक हुन् किनभने विद्यालयको लागि शिक्षक चाहिन्छ भने शिक्षकको लागि विद्यालय । जुन विद्यालयले यो कुरालाई आत्मसात गर्दै विद्यालय र शिक्षक कर्मचारीको बीचमा सुमधुर सम्बन्ध कायम गरी आफ्ना क्रियाकलापहरु अगाडि बढाउँछ त्यस्तो विद्यालय जस्तो परिस्थितिमा पनि सफल हुन्छ ।
आदरणीय विद्यालय सञ्चालकज्यूूहरुः सरकारी मापदण्डभन्दा बढी पिरियड लिएर , विद्यालयलाई आवश्यक परेको बेला अतिरिक्त समय दिएर , शैक्षिक गुणस्तर सुधार्न अहोरात्र खटिरहने शिक्षकहरुको गुन उनीहरुले पाउने तलब प्रदान गरेर तिर्ने बेला आएको छ । उनीहरुको गुन तिर्नुहोस् । यदि यो विषम परिस्थितिमा यसो गर्नुभयो भने शिक्षकहरु अझ बढी सकारात्मकरुपमा उत्प्रेरित हुनेछन् । उनीहरु भविष्यमा तपाइँहरुलाई सोंचे भन्दा बढी सहयोग गर्नेछन् । यो कुरा पक्का छ । त्यसैले छाती चौडा गराई हिम्मतका साथ यस्तो विषम परिस्थितिमा पनि मेरो विद्यालय भनि खटेका शिक्षकलाई उत्साहित गर्न छिटो भन्दा छिटो सरकारलाई झक्झकाउँदै स्रोत जुटाई तलब प्रदान गर्नुहोस् । यो विद्यालय , शिक्षक , विद्यार्थी , अभिभावक सबैको हितमा हुन्छ । हाल देखिएका विभिन्न विकल्प मध्ये उचित विकल्पमार्फत विद्यार्थीको पढ्ने लेख्ने अधिकारलाई सुरक्षित गर्नुपर्दछ । विषम परिस्थितिलाई हृदयंगम गर्दै महत्वपूर्ण पठ्यबस्तुलाई मात्र समावेश गरेर भए पनि यो शैक्षिकसत्र पूूरा गर्नुपर्दछ । यो हामी सबैको साझा दायित्व हो ।
प्रतिक्रिया