ताजा अपडेट »

लघुकथा : खै के ! खै के !!

विहीबार, ११ असार २०७७, १४ : २७
14 Shares
विहीबार, ११ असार २०७७
14 Shares

बाँझाखर्क चुराबहादुरको पाडो बाघले खायो हिजो साँझ भन्ने थाहा पाउँदा खगिश्वर खङ्ग्ररङ्ग भए । ‘बज्जेले पाडो बेचेर पाँच बर्ष पहिले लगेको चार हजारको साँवा–ब्याज पनि सँगै दिन्छु भनेर अस्तिमात्रै फेरी चार हजार लग्यो। साहुमाराले त्यति दुःख दिएको जान्दा–जान्दै पनि दिने नै म उस्तै । लोभले लाभ लाभले विलाप । डुब्ने भो त्यहीँ पनि ।’ धिक्कारे आफैंले र गर्दागर्दैको काम छोडेर हानिए बाँझाखर्कतिर।

‘पाडो ट्याँ गर्दै करायो , हत्तपत्त उठेर हेर्दा यत्कैबाट लतार्दै थियो , त्यसपछि त कता लग्यो कता त्यत्रो पाडो पनि , बाघ पनि सानो हो र !!’ हाउभाउ सहित बताउँदै थिई चुराबहादुरकी श्रीमती वेलकुमारीले धर्मराज , बिष्णुभक्त र डिलारामलाई ।

‘ खै तो चुराबहादुर ?’ खगिश्वरले सोधे । ‘के कुरा गर्नुहुन्छ उहाँ त मुर्मुरिएर ओछ्यानमा नै पल्टिनुभएकोछ , च्या पानी केही पनि मुखमा हाल्नुभएको छैन अहिलेसम्म नि …’ वेलकुमारीले फटारी लाउँदै भनिन् ‘ल हजुरहरू बस्दै गर्नु म चिया बनाएर ल्याउँछु।’ सबैले पर्दैन पर्दैन भने । ‘जे–जे भयो,भयो खान त पर्यो नि ।’ भित्र पस्दै भनिन् । खगिश्वरले वेलकुमारीको औंलामा औंठी देखें। ‘त्यहीँ औंठी लिएर हिसाबमा बाँकी पैसा दिनेगरी जसरी पनि उठाउनु पर्छ, गहना पनि जोरेकी रहेछ।’ खगिश्वरले मन–मनै भने ।

‘खै डुब्छ कि क्या हो पाडो बेचेर दिइहाल्छु खटक्कै भए। भन्यो र एकहप्ता अघि ७ हजार दिएँ फटाहालाई ।’धर्मराजले भने । ‘मैले त अझ समूहबाट निकालेर दिएको , सबै ठाउँबाट त्यहीँ भन्दै पैसा ऋण खोजेको रहेछ हो ‘खगिश्वरतिर फर्किएर डिलारामले सोधे ,‘तपाईंको पनि छ कि क्या हो बा ?।’

डिलारामले छ या छैन केही भनेनन् ।तर , ‘त्यहीँ असत् गरेर दुनियाँलाई झुक्काएकोले त बाघले खायो , ईश्वरले दण्ड दिए पापीलाई।’ थप चारजना आइसकेका थिए चुराबहादुरका पाडो बेचेर तिर्ने सर्तमा पैसा ऋण दिएका साहुहरू । थप अरुकोबाट पनि ल्याएको अनुमान गरे उनीहरूले। झन्डै पचास हजार उठाएको अनुमान गरे ।चिया बनाउन भित्र गएकी बेलकुमारी फर्केकी थिइनन्।

दोभानको मासुपसले सन्तुमान जाँगर नलागी–नलागी हिँडेको जस्तै गरेर आयो। बसेका सबैलाई नमस्कार गर्यो । ‘हिजो अलि अबेर केहि मासुको इमर्जेन्सी अर्डर आयो , यो चुरेकोमा छ भनेर आएको त , आठ हजार पर्ने पाडोलाई दसहजार कि दसहजार भन्यो, बल्ल–तल्ल नौहजारमा त दियो । तर, एक हजार पुगेन , विश्वास गरेन र एक हजारमा औठी अडना राखेर पाडो फुकाइयो , के विश्वास यसको त्यहीँ एकहजार लिएर औंठी लिन आएको । आफ्नै गाँउ–ठाँउको मान्छेलाई पनि विश्वास गरेन ।’ सन्तुमानले गुनासो गर्यो ।

सबै छाँगाबाट खसेजस्ता भए । ‘बाधेर घाँस हाल्नुपर्छ डाँकालाई’ सबै चिच्चाए एक स्वरमा । तर, त्योभन्दा ठूलो स्वरमा वेलकुमारी चिच्चाएको सुनियो, ‘लौन नि बुढा त छाती दुखेर फत्रे–फत्रे भए।’ केहि प्रतिक्रिया दिनुभन्दा पहिले ९ जनाले एक–अर्कालाई हेरे– खै के ! खै के !! भावमा ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।