२०५८ सालमा जिल्ला मगर महिला संघ,रुपन्देहीले दिएको परम्परागत हाते तान बुनाई तालिमले उनको जीवनमा बाँच्ने आधार सिर्जना गर्यो । आफूसँग भएको कलात्मक सीपलाई प्रयोग गर्दै स्थानीय निमुखा दिदीबहिनीहरुलाई सीपको सहारामा बाँच्न सिकाउने लेखा दगामी मगरको आजको कर्तव्य र भोलिको सपना छ ।
उनले सैनामैना नगरपालिका वडा नं. १,रानीबगियामा पाँचवटा हाते तान लगाएर घरेलु बुनाइका काम गरिरहेकी छन् । बच्चा सानो भएकोले केही समय परम्परागत तान बुनाई उद्यमलाई थाँती राखेकी थिइन् । अहिले भने स्थानीय पाँचजना महिलाहरुलाई रोजगार दिएकी छन् । परम्परागत हाते तानबाट पैसा मात्र होइन प्रतिष्ठा समेत आर्जन गरेकी छन् ।
दुईवटा हाते तानमा उनले खादा बुन्ने,एउटा तानमा सल बुन्ने,एउटा तानमा लुंगी बुन्ने र एउटा तानमा चोली बुन्ने काम निरन्तर गर्दै आएकी छन् । सानो खालको तानलाई न्यूतम १५/२० हजार,मध्यम खालको तानलाई ३०/३५ र ठूलो खाले हाते तानलाई ४० हजार रुपैयाँमाथि पर्ने उनले बताइन् । थोरै रकमबाट समेत आफ्नै गाउँघरमा यस्तो खाले तान राखेर स्वरोजगार बन्न सकिने भएकोले बेरोजगारी दिदीबहिनीहरुले पहल गर्नुपर्नेमा उनले जोड दिइन् ।
गएको वर्ष उनले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान र सैनामैना नगरपालिकासँग मिलेर स्थानीय ३० जना दिदीबहिनीहरुलाई परम्परागत तान बुनाई तालिममा प्रमुख प्रशिक्षकका रुपमा सहजीकरण गरिन् । उनीहरुलाई आवश्यक ज्ञान,सीप हस्तान्तरण गरिन् । सिकारु महिला दिदीबहिनीहरु पनि यतिबेला स्वरोजगार भइसकेका छन् । तालिम दिएर पनि वर्षमा उनले बढीमा लाखसम्म आम्दानी गर्दै आएकी छन् ।
सिक्न इच्छुक दिदीबहिनीहरुलाई आफ्नै लघु–उद्यममा दैनिक तान बुन्न सिकाउँदै आएकी छन् । सिकाए वापत उनले मसिक दुई हजार पाँच सय रुपैयाँ शुल्क लिने गर्छिन् । लेखाले भन्दैथिइन्–मन लगाएर सिक्नेले एक महिनामा तान बुन्न सजिलै सक्छन् । दिनहुँ मिहिनेत गर्दै जाने हो भने हात राम्रो बस्छ र बुनाईमा समेत फिनिसिङ्ग आउँछ । कमाई पनि ज्यादा हुन्छ ।लेखा दगामी मगरले परम्परागत हाते तान बुनाईको घरेलु लघु–उद्यम सञ्चालन गरी सल,खादा,चोली,लुंगी, आस्कोट उत्पादन गर्दै आएकी छन् । उनलाई बजारको कुनै पनि समस्या छैन । स्थानीय बजार नै उनका लागि काफी छ । आफूले उत्पादन गरेको सल त आफ्नै स्थानीय सरकार सैनामैना नगरपालिकामा पु¥याउनै हम्मेहम्मे परेको छ ।
स्थानीय सैनामैना सरकारले सबै खाले कार्यक्रममा आवश्यक पर्ने खादा आफूबाट लैजान थालेपछि फाइदा हुन थालेको खुसीका साथ उनले सुनाइन् । नर्मल खादालाई एक सय २० र ठूलो बुट्टे खादालाई ५/६ रुपैयाँसम्म पर्ने उनले भाउ बताइन् । त्यसैगरी ऊनीको लुंगीलाई हजार/बाह्र सय,कटनको बुट्टेदार आस्कोटलाई मीटरको हजार÷बाह्र सय र सलको बाह्र÷पन्ध्र सय रुपैयाँ पर्ने विवरण सुनाइन् । आफ्नामा काम गर्ने दिदीबहिनीहरुलाई गोटा अनुसारको ज्याला दिने उनले बताइन् । त्यसो गर्दा बुनाइमा राम्रो हात बसेकी दिदीबहिनीहरुले दिनमा सातसयदेखि आठसयसम्म सजिलै कमाउन सक्ने बताइन् । महिनामा आफ्नो घरधन्दा भ्याएर पनि १६/१७ हजार सजिलै कमाइ हुन सक्ने बताइन् ।
आफूले सिकेपछि सुरुसुरुमा लेखाले बुटवलमा तान बुनेर आफ्नो घर खर्च धान्ने गर्थिन् । अहिले उनले तान बुनाई र सजकीकरणबाट आएको आम्दानीले घरधन्दा,औषधी उपचार, सन्तानलाई शिक्षादीक्षा र लुगाफाटोमा खर्च गर्न सकिने बताइन् । लेखाले घरभाडा,विजुली,पानी सबै कटाएर अचेल सरदर महिनामा २५ देखि ३० हजारसम्म वचत हुने लेखा÷फाँटवारी सुनाइन् । माइतीघरकी माईली छोरी लेखाले कक्षा नौं पढ्दै गर्दा २०५० सालमा डोलबहादुर दगामी मगरसँग विहे गरिन् र घरकी जेठी बुहारी बन्न पुगिन् । अहिले दुई छोरी र एक छोराका आमा बनेकी छन् । ठूली छोरीले स्नातक पढेर विहे गरिन् । कान्छी छोरीले कक्षा १२ पास गरेर उच्च शिक्षा अध्ययन गर्न अष्ट्रेलिया पुगेकी छन् । छोरो आठ वर्ष पुगे । दुई कक्षामा पढ्दै छन्
आफूले धेरै पढ्न नसकेपनि आफूमा भएको ज्ञान र सीपलाई समुदायकै महिलाहरुका निम्ति सदुयोग गर्ने सोचका साथ अघि बढेकी लेखाले आफ्नै घरमा तान सारेपछि थप व्यवस्थापन गर्ने,स्थानीय दिदीबहिनीहरुलाई सिकाउने,बजारीकरणमा जोड दिने र बेरोजगारीको दरलाई घटाउन सक्दो पहल गर्ने भविष्यको योजना सुनाइन् ।धेरैले स्थानीयस्तरमै स–साना उद्यम सञ्चालन गर्न सक्ने हो भने अरुलाई रोजगारी दिन र आफूलाई स्वरोजगार बनाउँदै आर्थिक समृद्धिको ढोका सजिलै उघार्न सकिने लेखा दगामी मगरले बताइन् ।विहे भएरपनि लामो समयसम्म श्रीमान श्रीमती सधैंसँगै बस्न भ्याएका छैनन् । पटक पटक गरी श्रीमानले परदेशका यात्रा गरेको पनि १५ वर्ष बढी भयो । पछिल्लो पटक कतारबाट नआएको पनि चारवर्ष पुग्यो । घरव्यवहार,सन्तानका रेखदेख,पालनपोषण लेखा कै जिम्मामा छन् ।
श्रीमान परदेशमा चालक छन् गुड्ने मोटरको तर लेखा भने घर र आफ्नो हाते तान सञ्चालनको सफल ड्राइभर बनेकी छन् । लेखा आफ्नो काममा लगनशील भएर निरन्तर क्रियाशील छिन् । त्यतिमात्र होइन उनी सामाजिक गतिविधिमा समेत संलग्न छिन् । आदिबासी जनजाति महासंघ,सैनामैना नगर समितिकी कोषाध्यक्ष,मगर महिला संघ,सैनामैना नगरकी सल्लाहकार र स्थानीय मिलन आमा समूहकी निवर्तमान अध्यक्ष समेत हुन् ।
प्रतिक्रिया