मागेर नदिएपछि भागेर विहे गरेका दम्पत्तिको सम्बन्ध चिसिएको पनि १४ वर्ष पुग्यो । रोचक विहे थियो तर अहिले विछोड भयो । अतीत सम्झेर पीडा हुन्छ । विछोडका घाउ बल्झिरहन्छन् । अचेल सन्तानका अनुहार र आफ्ना जाँगरलाई प्रेम गरि रहन्छिन् धनी दमाई । अनि बिर्सिन्छन् अतीतका पीडा र उप्काउन रुचाउँदिनन् माम्री लागेका घाउहरु । हातमा सीप र जाँगर गर्ने रहर एवम् आँट छ धनीसँग । पुख्र्यौली पेसाका रुपमा सिकेको प्रारम्भको सिलाई कटाई उनको जीवनको यात्रामा बाँच्ने आधार बन्यो । २०६४ सालमा लघु–उद्यम विकास कार्यक्रम(मेडेप),प्युठानले उनलाई व्यवसाय सुरुआत् र विस्तार सम्बन्धी १० दिने तालिम दिएको थियो । त्यो तालिमले उनलाई उद्यमी बन्न उत्साह थप्यो ।
२०६५ सालमा प्युठान नगरपालिका वडा नं. ४ को विजुवार बजारमा उनले आफ्नै पहलमा लालीगुराँस महिला सिलाई कटाई सेन्टर खोलिन् । जो उनको व्यवसायिक जीवनको सुरुआती यात्रा थियो । सोही वर्ष,उनले सिलाई कटाई सम्बन्धी एक महिने पुनर्ताजगी तालिम लिने अवसर पाइन् । त्यो तालिम उनका लागि जीवन जिउने प्रेरणाको थप स्रोत बन्यो । सुरुआत्मा ५० हजार रुपैयाँको लगानीमा दुईवटा सिलाई मेसीन,एउटा कैंची र आइरनबाट लघु–उद्यमका रुपमा सुरु गरेको सो सेन्टरमा अहिले तीन लाख बढीको लगानी पुगेको छ । ठूलो मेसीनसहित ६ वटा सिलाई मेसीन,इन्टरलक मेसीन, आइरन लगायतका सामग्रीहरु रहेका छन् ।
आफ्नो सेन्टरमा उनले तीनजना स्थानीय दिदीबहिनीहरुलाई रोजगार दिएकी छन् । सुरुआत्का समयमा उनले आफ्नो सेन्टरमा १० जना दिदीबहिनीहरुलाई रोजगार दिएपनि अहिले स्थान अभावका कारण संख्या घटेको बताइन् । लेवल १ र २ भित्र पर्ने महिला र पुरुषका सबै लुगाहरु सिलाई–कटाई गर्ने क्षमता आफूसँग रहेको धनीले बताइन् । उनले सीटीइभीटीबाट टेलरिङ्ग व्यवसायको लेभल १ को सीप परीक्षण उत्तीर्ण गरेकी छन् । आफूसँगै सहयात्रा गर्ने साथीहरुलाई उनले गोटा अनुसारको ज्याला भुक्तानी गर्दा रहेछिन् । सर्ट र पाइन्टको सिलाई बजार मूल्य आठ सय पचास रहेछ । सो सिलाए वापत दिदीबहिनीहरुले ५० प्रतिशत् रकम पाउँदा रहेछन् । यसो गरी हेर्दा दिदीबहिनीहरुले विहान साँझ घरधन्दा गरेर पनि महिनामा आठदेखि १० हजारसम्म्म आनन्दले कमाउँदा रहेछन् ।
धनीले कोठाभाडा,पानी,बिजुली सबै तिरेर महिनामा १२ हजारसम्म वचत गर्दि रहेछिन् । सो वचत रकमबाट छोरा दीलिप,छोरी सम्झनाको पढाई खर्च,परिवारको खानपान,औषधोपचार,लत्ताकपडामा खर्च गरी बचेको पैसालाई आफू नै सचिव रहेको प्रेरणा महिला बहुृद्देश्यीय सहकारी संस्थामा जम्मा गर्दै आएको धनीले सुनाइन् । खर्च र खाँचो टार्ने माध्यमका रुपमा सहकारी रहेको उनले सुनाइन् ।
स्थानीय सरकारहरुले दिने आधारभूत सिलाई कटाई तालिममा प्रशिक्षक भएर सहयोग पु¥याउँदै आएकी छन् । तालिमको सहजीकरण गरे वापत वर्षमा ५० देखि ७५ हजारसम्म आम्दानी गर्ने कुरा सुनाइ रहँदा धनी हौशिएकी थिइन् । आफ्नो सीप र सर्टिफिकेटको प्रयोग भइरहेको अनुभव गर्दैथिइन् ।
२०६५ सालदेखि अहिलेसम्म दुईसय बढी महिला दिदीबहिनीहरुलाई उनले तालिममा सहजीकरण गरिसकेकी छिन् । ती तालिम प्राप्त महिलाहरुमध्ये ७६ जनाले सिलाई– कटाई पेसालाई अपनाएर स्वरोजगार भएका छन् । तालिमलाई व्यवहारमा उतारेको यो नमूना कार्य हो । धनी दमाई भन्दैथिइन्–मैले तालिम दिएकामध्ये धेरै दिदीबहिनीहरु गैह्रदलित छन् । त्यसमा पनि जनजातिभन्दा अन्य जातिका धेरै भेटें । यसको अर्थ यो पेसाप्रतिको सम्मान बढ्दैछ । पहिला जस्तो लुगा सिलाउन आउनेहरुलाई हेरेर नाप्नु पर्ने अर्थात् छुन नपाइने चलन ह्वात्तै घटेर गएको छ । बालीघरे प्रथा छैन । उधारो कहिलेकाँही जान्छ तर पहिला जस्तो छैन । धेरैजसो नगद मै सिलाउने चलन छ ।
धनीले लुगामात्र होइन फाइवरको झोला पनि सिलाउन थालेकी छन् । घरेलु तथा साना उद्योग विकास समिति,प्युठानबाट २०७५ मा उनले ४५ दिने तालिम लिई आफ्नो सीपलाई फराकिलो बनाएकी छन् । झोलाको बजारीकरणका लागि मेला तथा महोत्सवमा पुग्ने गरेकी छन् । त्यसैगरी लघु उद्यम विकास कार्यक्रमले उनलाई सिलाई कटाई उद्यम सफलतापूर्वक सञ्चालन गरेकोमा २०७५ सालमा स्तरोन्नतिको प्रमाण–पत्र समेत प्रदान गरेको छ ।
धनी दमाई जातीय समताका लागि संघर्षशील महिला हुन् । प्युठानमा गठन भएको दलित महिला संघ(फेडो) की संस्थापक अध्यक्ष हुन् । सोही संस्थाबाट उनले सार्वजनिक वक्तृत्व क्षमता विकास तालिम,नेतृत्व विकास तालिम,प्रस्तावना तथा प्रतिवेदन लेखन सम्बन्धी तालिम लिई आफूलाई तिखारेकी छन् । त्यस बाहेक उनले मानव अधिकार,सुशासन र सार्वजनिक सुनुवाई प्रक्षिण लिएकी छन् । त्यसैगरी मानव अधिकार सम्बन्धी प्रशिक्षक प्रशिक्षण समेत लिएकी छन् । कर्मशीलहरुलाई जात,भात,वर्ण,वर्ग र लिङ्गका आधारमा विभेद गर्न हुन्न भन्ने उनको गतिलो तर्क छ ।
नाम जस्तै मनकी धनीको काँधमा छोराछोरीको जिम्मेवारी छ । उनीहरुका लालनपालन,शिक्षा–दीक्षामा राम्रो गरी ध्यान दिएकी छिन् । श्रीमान् रामलालसँग २०५८ को असारमा विहे भएपछि भारतको पञ्जाव पुगेकी थिइन् । करिव सात महिनाको बसाइपछि उनी एक्लै घर फर्किन् । अहिले पनि उनको श्रीमान् भारततिरै छन् । उनीबाट आर्थिक,भौतिक एवम् सामाजिक कुनैपनि सहयोग नपाएपछि कानुनी सहायतामार्फत आफ्नो अंश लिएर छुट्टै बस्न थालेकी छन् ।छोरो दीलिपले बुटवलको केपीन,नेपालबाट १८ महिने उद्यमविकास सहजकर्ता तालिम लिइरहेका छन् । छोरीले यसैवर्ष कक्षा नौं पास गरिन् । सामान्य साक्षर धनीले आफ्ना छोराछोरीलाई सकेजति पढाउने रहर बोकेकी छिन् ।
जिल्ला लघु–उद्यमी समूह,संघ,प्युठानमा २०६४ सालदेखि उनी संगठित छिन् । उनी अहिले जिल्ला कोषाध्यक्ष र राष्ट्रिय लघु–उद्यमी महासंघको केन्द्रीय महासचिव छिन् । उनले एक कार्यकाल सचिव भई अनुभव बटुली सकेकी छिन् । लघु–उद्यमीहरुका छाता संगठनको महासचिव समेत भएकी हुनाले उनलाई लघु–उद्यमीहरुको पीरमर्का धेरै थाहा छ । त्यसमा पनि आफ्नै पेसामा देखिएका समस्या र चुनौतीलाई उनले मिहिन तरिकाले अध्ययन गरेकी छन् । समाधानका अनेक बाटा खोजेकी छिन् ।उनका अनुसार–सिलाई कटाई पेसामा रेडिमेट विदेशी लुगाहरुका कारण आफूहरु ठूलो मर्कामा परेको अर्थात् प्रतिस्पर्धा गर्न गाह्रो भएको,स्थानीय सरकारहरुले दिने सिलाई कटाईका आधारभूत तालिमहरुमा समन्वय र सहकार्यको अभाव,सहरबजारमा सिलाई कटाई गर्नेहरुलाई घरभाडा दिन अनकन गर्ने,सरोकारवालाहरुले लघु–उद्यमीहरुलाई प्रोत्साहन गर्ने चलन कमजोर रहेको छ ।
निकट भविष्यमै टेलरिङ्ग सम्बन्धी लेभल २ को सीप परीक्षण दिने तयारी गरेकी धनीले फेसन डिजाइन र बुटिक सम्बन्धी तालिम लिन पाए जाती हुने भन्दैथिइन् । भोलिका दिनमा आफ्नो यही पेसालाई व्यवस्थित गरी नयाँ जागरुक महिलाहरुलाई सिलाई कटाई तालिम दिई आत्मनिर्भर बनाउने रहर बोकेकी धनी दमाईको प्रशिक्षक भएर सेवा गर्ने सुन्दर सपना छ । धनीले जिल्ला घरेलु कार्यालय र जिल्ला लघु–उद्यमी समूह,संघ,प्युठानले संयुक्त रुपमा प्रदान गरेको उत्कृष्ट लघु–उद्यमी सम्मान प्राप्त गरेकी छन् । तेस्रो स्वर्गद्वारी प्युठान महोत्सव–२०७४ मा उनको स्टलले नगदसहित तेस्रो पुरस्कार पाएको थियो ।
त्यसैगरी उनलाई नेपाल सरकार उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्यमशीलताको प्रवद्र्धन मार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि नेपाली महिला उद्यमी व्यवसायीका हैसियतले पुराएको योगदानको उच्च मूल्याङ्कन गर्दै २०७६ सालको उत्कृष्ट महिला उद्यमीका रुपमा नगदसहित पुरस्कृत गरेको छ ।
प्रतिक्रिया