बुटवल । निजी विद्यालयहरुको संस्था प्याब्सन रुपन्देहीले कोरोना संक्रमणका कारण निजी विद्यालयहरु अस्तव्यस्त भएको भन्दै रुपन्देही जिल्लाका १६ वटै स्थानीइ निकायहरुमा ध्यानाकर्षण पत्र बुझाएको छ । बुधबार तथा आज विहिबार प्याब्सनले बुझाइएको ध्यानाकर्षण पत्रमा लामो समयको लकडाउनका कारण विद्यालयहरु बन्द भएकाले विद्यार्थीको पढाइ अवरुद्घ भएको र शुल्क नउठेका कारण हजारौँ शिक्षक-कर्मचारीहरुको रोजगारी गुम्न लागेको भन्दै सो समस्या समाधानमा आवश्यक पहलको माग गरेको छ ।
प्याब्सन रुपन्देहीका अध्यक्ष लेखनाथ पौडेल र सचिव लक्ष्मण ज्ञवालीद्वारा संयुक्त हस्ताक्षरित ११ बुँदे मागसहितको ध्यानाकर्षण पत्रमा स्थानीय सरकारको निर्देशनअनुसार विद्यार्थी भर्ना कार्यक्रम रोकिएको हु“दा विद्यालयहरूले कार्यरत शिक्षक–कर्मचारीहरूलाई मासिक पारिश्रमिक भुक्तानी गर्न नसकेकोले सो तलव-पारिश्रमिक भुक्तानी गर्ने व्यवस्था तत्काल मिलाइनुपर्ने, लकडाउन अबधिभरको बिजुली, पानी महशुल, तथा घरजग्गा भाडा लगायतका स्थानीय सरकारले लिने सम्पूर्ण किसिमका कर मिनाहा गर्नुपर्ने, अनलाइन र भर्चुअल कक्षा चलाउनका लागि निःशुल्क इन्टरनेटको व्यबस्था गरिनुपर्ने र भर्चुअल (टि.भि., एफ.एम.) कक्षाका लागि बजेट विनियोजन गर्नुपर्ने माग राखिएका छन् ।
यसैगरी विद्यालय सञ्चालन भएपछि १८० क्रेडिट आवर र वार्षिक कार्य दिन पूरा गर्ने गरी १२ महिनाकै मासिक शुल्क लिने औपचारिक ब्यवस्था गरिनुपर्ने, संस्थागत विद्यालयमा अध्यापन गर्ने शिक्षकहरुको वृत्ति विकासका लागि उपलब्ध गराइने तालिममा विभेद गर्न नहुने र विद्यालयमा भर्ना कार्यक्रम अगाडि बढाउन औपचारिकरुपमा स्थानीय शिक्षा समितिले निर्णय गरी तुरुन्त पत्राचार गर्नुपर्ने लगायतका माग राखिएका छन् । ध्यानाकर्षण पत्रमा सरकारले निजी संस्थाले शैक्षिक क्षेत्रमा गरेको योगदानको यथोचित मूल्याङ्कन गर्न नसकेको र निजी शैक्षिक संस्थालाई उपेक्षा गरेको गुनासो गर्दै अगाडि भनिएको छ,–‘लकडाउका कारण निजी विद्यालयहरूको आम्दानीको पूरै स्रोत गुमेको छ । अभिभावक र विद्यार्थीहरू पनि उत्तिकै निराशा र पीडामा छन् । सरकारी विद्यालयका पाठ्यपुस्तक विक्री र भर्ना खुला गर्ने तर निजीका बालबालिकाको पुस्तक प्रकाशन र वितरणमा अवरोध खडा गर्ने रवैयाले सरकारले समता र समानतालाई अस्वीकार गरेको महसुस गरिएको हु“दा स्थानीय सरकारलाई आफ्ना व्यवहार र नीति–नियमहरूलाई परिवर्तन गरी हाम्रो विश्वास कायम गरिदिनु हुनका लागि अनुरोध गर्दछौ“ ।” प्याब्सनका केन्द्रिय, प्रदेश, जिल्ला र पालिकास्तरीय पदाधिकारीहरुको नेतृत्वमा रुपन्देही जिल्लाका १६ वटै पालिकाहरुमा उक्त ध्यानाकर्षण पत्र बुझाइएको थियो ।
यसैगरी स्थानीय निकायका जनप्रतिनिधीहरुले भने उनिहरुले राखेका माग संघीय सरकारले हेर्ने नीतिगत व्यवस्थासँग जोडिएको हुँदा सम्बन्धित पक्षसँगै छलफल गर्दा राम्रो हुने बताएका छन् । बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले प्याब्सनको माग बारे सोधिएको प्रश्नमा विद्यार्थीहरुलाई अनलाई भर्ना तथा अनलाई कक्षा सञ्चालनका लागि सहजीकरण गर्न तयार रहेको बताए । यसैगरी सैनामैना नगरपालिकाका मेयर चित्रबहादुर कार्कीले पनि निजी विद्यालयहरुले राखेका अधिकांश माग राज्यको नीतिसँग जोडिएको हुँदा सम्बन्धित पक्षसँग छलफल आवश्यक रहेको बताए । अनलाइन कक्षा सञ्चालनको सवालमा भने आफ्नो नगरमा निजी विद्यालयहरुलाई पनि समेट्ने तयारीमा रहेको उनले बताए ।
प्रतिक्रिया