ताजा अपडेट »

तिलोत्तमा हत्या प्रकरण : प्रारम्भिक अनुसन्धानसहित अभियुक्त सार्वजनिक

बुधबार, २८ जेठ २०७७, १९ : ४८
16 Shares
बुधबार, २८ जेठ २०७७
16 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमामा भएको सामूहिक हत्यामा संलग्न अभियुक्तलाई बुधबार सार्वजनिक गर्दै प्रहरीले मानसिक दबाबका कारण अभियूक्तले हत्या गरेको बताएको छ । अभियुक्तको बयान अनुसार आफूलाई होच्याएको र अपहेलना गरेका कारण फारममा काम गर्ने ३ जना र अन्य दुईजनालाई लाठी तथा कोदालो प्रयोग गरी हत्या गरेका थिए । अभियुक्तले ५ जनालाई लगातार फरुवा प्रहार गर्दा पनि कसैले चाल नपाउनु, घटनास्थलमा छरप्रष्ट नभएर एकै ठाउँमा मारेर तन्नाले छोपेको अवस्थामा शव भेटिनु लगाएतका कारणले भने घटनामा थप अनुसन्धान आवश्यक रहेको देखिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भने बुधबार बुटवलमा पत्रकार सम्मेलन गर्दै अभियुक्तले हत्या स्विकारेकोजानकारी दिएको छ ।

मारिएकाहरुले आफूलाई व्यक्तिगत आक्षेप लगाउने, एक्लो बनाउने र चरित्र हत्या समेत गर्ने गरेकाले विक्षिप्त भएर आफैले हत्या गरेको प्रहरीलाई बयान दिएको प्रदेश ५ प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उरिक्षक राजकुमार बैदवारले बताए । प्रहरीले श्रीमतीले छाडेपछि हत्यामा संलग्न भनिएका सुर्खेतका झसेन्द्र सिंजालीको मानसिक अवस्था कमजोर रहेको र विक्षिप्त भएपछि ५ जनाको हत्या गरेको जनाएको छ ।रुपन्देहीको तिलोत्तमा १० कान्छीबजार स्थित एउटा पशुफर्ममा मंगलबार बिहान ५ जनाको सामुहिक हत्या भएको थियो । फरुवाले प्रहार गरि हत्या गरिएकाहरुमा पशुफर्मकै कामदार माधव मुसहर उनका श्रीमती जानकी, पोखराज मुसहर, तथा कामदार पोखराज मुसहरका साथी करण चौधरी र आशिश चौधरी रहेका थिए।

घटनाको प्रकृति र मृतकहरुलाई नजिकबाट नियालिरहेका छिमेकीहरुले भने हत्यालाई रहस्मय बताएकाछन् । बेलुका सुत्ने बेलामा छुट्टै कोठामा सुतेका माधव मुसहर र उनकी श्रीमती जानकी मुसहरको समेत एकैस्थानमा हत्या भएपछि घटनालाई स्थानीयले रहस्यमय मानेका छन् । प्रहरीले सबैले सँगै मदिरा सेवन गरेर सँगै सुतेको र राती सिंजालीले उठेर फरुवाले प्रहार गरेको बताए पनि अन्य पुरुषहरुसँगै लहरै श्रीमतीलाई सुताउने अवस्था कसैको पनि हुन नसक्ने स्थानीयको विश्लेषण छ । प्रदेश प्रहरी कार्यालयले घटना लगत्तै प्रदेश प्रहरी प्रवक्ता बैदवारको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । घटनाका बारेमा थप सुष्म रुपमा अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।