ताजा अपडेट »

कुन रोगको लागि कस्तो घरेलु उपचार

शुक्रबार, २३ जेठ २०७७, १८ : १३
46 Shares
शुक्रबार, २३ जेठ २०७७
46 Shares

कति यस्ता रोगहरु छन्, जसको घरेलु उपचार पनि गर्न सकिन्छ । आज हामी घरेलु उपचार गर्न मिल्ने केही रोगहरुको बारेमा चर्चा गर्नेछौ । यस्ता रोगहरुमा कब्जियत, झाडापखला, वाकवाकी एवं बान्ता, पेट दुखेमा वा पेटमा ग्यास भरिएमा, ग्याष्ट्रिक, रुघाखोकी, रक्तचाप बढेमा, मधुमेह लगायतका पर्छन् ।

कब्जियत भएमा हर्रो, बर्रो र अमलाबाट निर्मित त्रिफला चूर्ण ३ देखि ६ ग्राम राति सुत्ने बेलामा मनतातो पानीसँग खाँदा फाइदा हुन्छ । झाडापखला भएमा बेलको काँचो फलको गुदी आगोमा पकाएर महसँग पाउडर (चूर्ण) तीन देखि छ ग्राम, रस १०–२० मि.लि. खानाले दिसाको साथमा रगत आउने, रगतमासी एवं अर्शमा समेत हितकर हुन्छ ।

साधरण झाडापखलामा जिराको धुलो ३ ग्राम पनि प्रयोग गर्न सकिन्छ । वाकवाकी एवं बान्ता भएमा दालचिनि वा सुकमेल प्रयोग गर्न सकिन्छ । शुद्ध दालचिनी वा सुकमेलको धुलो १ देखि ३ ग्राम प्रयोग गर्न सकिन्छ । यसको लागि अदुवाको रस वा सुकेको अदुवाको धुलोको पनि प्रयोग गर्न सकिन्छ ।

पेट दुखेमा वा पेटमा ग्यास भरिएमा ज्वानोको धुलो तीन देखि पाँच ग्राम प्रति दिन दुइपटक कुनै खाना वा अन्य पेय पदार्थमा राखेर प्रयोग गर्न सकिन्छ । यसको लागि पुदिनाको रस १० देखि २० मि.ली. र लेदो एक देखि तीन ग्राम प्रयोग गर्न सकिन्छ ।

बोझो चूर्ण एबं धुलो १२५ देखि ५०० मिग्रा र टुक्रा ५०० मिग्रा प्रयोग गर्न एवं चुस्न सकिन्छ । टिमुरको धुलो अजीर्ण र ग्यास हटाउन एक देखि दुई ग्राम साँझ बिहान प्रयोग गर्दा फाइदा हुन्छ । बच्चाहरूको साधारण पेट दुखाईमा, अजिर्ण, अरूची रोगमा तुलसीको पातको रस र अदुवाको रस मिसाएर दिंदा फाइदा हुन्छ ।

ग्याष्ट्रिक (अम्लपित्त) भएमा अमला मेथी, कुरिलो जराको धुलो, जेठि मधुको यी मध्ये कुनै एक जडिबुटीको धुलो अम्लपित्त भएको अवस्थामा तीन ग्राम सम्म साँझ बिहान प्रयोग गर्दा उपयोगी हुन्छ । रुघाखोकी लागेमा असुरोको पात वा फुलको रस १० देखि १५ मिलिलिटर र सुपको रुपमा ४० देखि ८० मिलि प्रयोग गर्न सकिन्छ ।

ताजापातको रस निचोरेर मह वा अदुवाको रससँग मिलाएर खाने गर्दा पुरानो खोकीको लागि उपयोगि हुन्छ । रुघाखोकी लाग्दा ज्वानोको झोल बनाएर खाने चलन पनि छ किनकि ज्वानोको झोलले खकार निकाल्न मद्दत गर्छ । रक्तचाप बढेमा जटामासी, निम वा सर्पगन्धा जडिबुटीको धुलो एक देखि तीन ग्राम साँझ बिहान प्रयोग गर्दा फाइदा हुन्छ ।

लसुनको लेदो एक देखि दुई ग्राम नियमित सेवन गर्दा रक्तचाप घटाउन फाइदा गर्छ । मधुमेह (चिनी रोग) बढेमा मेथीको रस खाने बानी गर्नुपर्छ। मधुमेह तथा पिसाब सम्बन्धी रोगमा तुलसीको बिजलाई पिधेर तयार गरिएको एक देखि तीन ग्राम लेदोलाई दिनमा दुई पटक सेवन गर्दा पनि फाइदा मिल्छ ।

गुर्जोको लहरा, तेजपात, बेसार आदिको धुलो तीन ग्राम सम्म नियमित रुपमा प्रयोग गर्दा फाइदा हुन्छ । तर कुनै जटिल स्वास्थ्य समस्या आउँदा र औषधि किनेर सेवन गर्नुपर्दा चिकित्सक एवं स्वास्थ्यकर्मीहरुसँग सल्लाह गर्न जरुरी हुन्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।