बुटवल । रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नं १ स्थित सिसैंमा किसानले उत्पादन गरेका तरकारी सडकमा फालिएको छ । मुलुक बन्दाबन्दीको समयमा चेक साट्न बैंक हिँडेकालाई बाटाबाटै फर्काएपछि सुरु भएको मनमुटाव शुक्रबार सडकमा ३ लाख बढीको तरकारी छताछुल्ल हुने अवस्थासम्म पुगेको हो । शुद्धोधन गाउँपालिका वडा नम्बर १ र सैनामैना नगरपालिकाका स्थानीय बीचको मनमुटावका कारण एकले अर्कोलाई अवरोध गर्दै आएका थिए । सुद्धोधन गाउँपालिकाका अध्यक्ष किशुनचन्द्र चौधरीका अनुसार शुद्धोधन–१ का बासिन्दा केही दिन अघि चेक साट्नका लागि सैनामैनाको वडा नम्बर ४ मुर्गीया जानेक्रममा वडा तथा गाउँपालिकाबाट आधिकारीक सिफारिस नभएको भन्दै उनिहरुलाई सैनामैना प्रवेशमा रोक लगाइएको थियो ।
सैनामैना–४ सँग जोडिएको शुद्धोधन १ मा बैंक तथा वित्तिय संस्था नभएका कारण सम्पूर्ण बैंकिङ कारोबारका लागि सैनामैनाको मुुर्गियामा आउनु पर्ने बाध्यता छ । सैनामैनाका स्थानीयले आफूहरुलाई रोक लगाएको भन्दै शुद्धोधनका जनताले पनि तरकारी लिनका लागि गाउँ आउने सवारीलाई प्रवेशमा रोक लगाएपछि विवाद अझ चुलिएको थियो । शुद्धोधन–१ का वडा अध्यक्ष बाबुराम पालका अनुसार शुक्रबारको घटना हुनुभन्दा पहिलो दिन विहिबार साँझ सैनामैनाका जनप्रतिनीधिहरुले कुश्मामा बोलाएर सैनामैनाका सवारी शुद्धोधन प्रवेश नगर्ने तथा शुद्धोधनका सवारीलाई पनि सैनामैना प्रवेशमा रोक लगाउने बताएका थिए ।
सैनामैनामा हाम्रो सागसब्जी विक्री नभए पनि बजारमा पुर्याउने मूख्य नाका भएकाले सडकनै अवरोध गर्न नहुने धारणा आफूले राखेको अध्यक्ष पालले बताए । दोस्रो दिन शुक्रबारको घटना सम्झाउँदै वडा अध्यक्ष पालले भने– ‘शुक्रबार सैनामैनाबाट तरकारी लिनका एउटा गाडी बेलवा आयो, सैनामैनालाई आवश्यक पर्दा आफूले गाडी भित्र ल्याउन पाउने हामीले किन नपाउने भन्दै शुद्धोधनका कृषकहरुले पनि आफ्नो गाडीमा तरकारी लोड गरेर सँगै सेनामैनातर्फ आउँने क्रममा हाम्रा कृषकहरुको गाडीलाई रोकिएको हो ।’ बुटवलतर्फ आउँदै गरेको शुद्धोधनका कृषकको गाडीलाई अवधरोध गरेपनि सैनामैनाको गाडीलाई भने अवरोधन नगरिएको उनले बताए ।
सैनामैना नगरपालिका र शुद्धोधन गाउँपालिकाको सीमा क्षेत्र कुश्मामा नगरपालिकाले आवतजावत गर्न रोक लगाएपछि आक्रोशित किसानले करिब २५ क्वीन्टल विभिन्न प्रकारका तरकारी लुम्बिनी सडकमा फालेको कृषक असर्फि मल्लाहले बताए । किसानले आफूले उत्पादन गरेको बोडी, घिरौँला, तीते करेला, भन्टा, काँक्रा लगाएत तरकारी सडकमा फालेका थिए। शुद्धोधन–१ स्थित बेलवा तरकारी उत्पादनको पकेट क्षेत्र मानिन्छ । यहाँ उत्पादन भएका तरकारी पाल्पा, बुटवल तथा सैनामैनामा समेत बिक्री हुने गर्दछ । सैनामैनाबाट तरकारी लिनका लागि गाउँ आउने सवारीलाई प्रवेशमा रोक लगाएपछि उनिहरुले पनि हाम्रो तरकारी बोकेका गाडीलाई नगरप्रवेशमा रोक लगाएका हुन् एक कृषकले भने । शुुद्धोधनमा उत्पादन भएका तरकारी पाल्पा , बुटवल लगायतका बजारमा पुर्याउनका लागि सैनामैनाहुँदै जानुपर्ने मूख्य नाका भएका कारण आफूहरुलाई समस्या हुने गरेको एक कृषकले गुनासो गरे ।
सैनामैना नगरपालिकाका मेयर चित्रबहादुर केसीले भने शुद्धोधन गाउँपालिकाको जनप्रतिनिधीको कम्जोरीकै कारण यो समस्या सिर्जना भएको बताउँछन् । ‘गाउँपालिकामा उत्पादन भएका तरकारीलाई बजारीकरणका लागि गाउँपालिकाले नै संकलन केन्द्र स्थापना गरी एकद्वार प्रणालिबाट वा संस्थागत रुपमा बजार पठाउने व्यवस्था गरेको भए यस्तो समस्या आउँदैन थियो ।’–मेयर कार्कीले भने । मुलुकमा रोकोरोना भाइरस संक्रमणको अवस्था थप जटिल बन्दै गएको अवस्थामा सैनामैनाले नगरका सिमानाकाहरुमा कडाइ गरेको बताउँदै उनले हरियो तरकारी, खाद्यान्न, दुध तथा दुग्धजन्य पदार्थहरुलाई नरोकिने बताए । यसैगरी तकारीका लागि सैनामैनाआत्मनिर्भर भएका कारण बाहिरका उत्पादनलाई नगरमा विक्रिवितरणका लागि रोक लगाइएको उनले बताए । बैंकको काममा आउनेलाई समेत नगर प्रवेशमा रोकिएको विषयमा कार्कीले आधिकारीक सिफारिस बिना जो कोही भएपनि रोकिने बताए ।
रुपन्देहीको गैडहवा गाउँपालिका लगाएत ठाउँमा पनि कोरोना संक्रमित फेला परेपछि सैनामैना र शुद्धोधनको सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउने सहमतिअनुसार आवतजावत गर्न दिइएको थिएन ।सैनामैना ४ का वडाध्यक्ष धनबहादुर कार्कीले वडास्तरीय दलीय सहमतिमा आवत–जावतमा रोक लगाएको उल्लेख गर्दै शुद्धोधन १ का वडाध्यक्षसँग पनि सहमति भएको बताए । स्थानीय प्रहरी, वडास्तरका राजनीतिक दल, वडाध्यक्ष लगाएतका स्थानीयवासीको सहमतिमा आवत–जावतमा रोक लगाएको सैनामैनाले जनाएको छ। सडकमा तरकारी फालिएपछिको उत्पन्न समस्याका बारेमा शनिबार संयुक्त छलफल गरी सहमतीमा टुङ्गीएको छ । सैनामैना नगरपालिकाको कार्यालयमा दुबै स्थानीय निकायका जनप्रतिनिधिहरु बीचको छलफलपछि तरकारी वसारपसारका लागि व्यवस्थित मापदण्ड बनाएर अवरोध हटाउने सहमति भएको छ ।
प्रतिक्रिया