ताजा अपडेट »

बुटवलमा टेलिभिजन शिक्षण सिकाई क्रियाकलाप सुरु

विहीबार, ०१ जेठ २०७७, १६ : ४१
24 Shares
विहीबार, ०१ जेठ २०७७
24 Shares


बुटवल । बुटवल उपमहानगरपालिकाले महामारीका विरुद्ध जारी लकडाउनका कारण रोकिएको एसइइ परीक्षार्थीलाई लक्षित गर्दै बुटवलले टेलिभिजन शिक्षण सिकाई कार्यक्रम सुरु गरेको छ ।

परीक्षाको तयारीमा रहेर परीक्षा दिन नपाएका तथा घरमै रहेका विद्यार्थीलाई पढाईमा केन्द्रित गर्ने र सघाउने उद्देश्यले बिहीबार बिहानदेखि बुटवलका दुई सामुदायिक टेलिभिजन लुम्बिनी र बुद्ध टेलिभिजनमार्फत शिक्षण सिकाई क्रियाकलाप सुरु गरिएको हो । बुटवलका प्रमुख शिवराज सुवेदीले सिकाई क्रियाकलापको शुभारम्भ गर्दै धेरै भन्दा धेरै बिद्यार्थीलाई लाभ पुग्नेगरि क्रियाकलाप सञ्चालन गर्न आग्रह गरे। उनले टेलिभिजनबाट प्रसारित सामग्रीलाई उपमहानगरको अनलाइन, बेभसाइट, फेसबुक पेजमा राख्ने र घरमा अभिभावकमार्फत पनि हेर्न मिल्ने गराइने बताए।

विद्यालय बन्द रहेका र विद्यार्थीहरु घरमै रहेकाले अभिभावकसमेत चिन्तित बनिरहेका बेलामा बुटवलले यस्तो कामको थालनी गरेको हो । यसले बालबालिकालाई पढाइमै मन कायम राख्न मद्दत मिल्ने अपेक्षा गरिएको छ । बिहान १० देखि १२ बजेसम्म दुई सिफ्टमा यस्ता कक्षा सञ्चालन भएका छन् । टेलिभिजनबाट सञ्चालन हुने कक्षा, विषयगत शिक्षक र कार्यक्रमका बारेमा उपमहानगरले सार्वजनिक सूचनामार्फत विद्यार्थी र अभिभाबकलाई जानकारी गराईसकेको छ ।


यहाँका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्यय्नरत विद्यार्थीलाई लक्षित गरेर बुटवलका दुई सामुदायिक टेलिभिजन लुम्बिनी र बुद्ध टेलिभिजनबाट उक्त कक्षाको पठनपाठन सुरु गरिएको बुटववलका शिक्षा तथा जनशंख्या महाशाखा प्रमुख मित्रमणि खनालले जानकारी दिए । जेठ १ गतेदेखि सुरु भएको शिक्षण सिकाई क्रियाकलाप एक महिनासम्म चल्ने छ । अनिवार्य गणित, नेपाली, विज्ञान, अंग्रेजी, एचपीइ, सामाजिक र ऐच्छिक विषयका रुपमा गणितको शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गरिने छ ।

बुटवलमा २१ सामुदायिक र ४५ संस्थागत विद्यालयमा एसइइ परीक्षाको तयारीमा रहेका करिब चार हजार विद्यार्थीलाई लक्षित गरेर यस्तो कक्षा सञ्चालन गर्न लागिएको हो । परीक्षार्थीहरुमा एक हजार सात सय ९८ छात्रा र दुई हजार एक सय ४५ छात्र एसइइ परीक्षार्थीका रुपमा रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।