ताजा अपडेट »

‘कक्षा सञ्चालनका लागि अभिभावक आत्तिहाल्नु पर्दैन’

आइतबार, २१ बैशाख २०७७, २१ : ३२
22 Shares
आइतबार, २१ बैशाख २०७७
22 Shares

बुटवल । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण नयाँ शैक्षिक सत्र अन्यौलमा छ । कोरोना संक्रमणको सम्भावित दुर्घटनाबाट बच्नका लागि मुलुक लकडाउन भएको आइतबार ४१ दिन भएको छ । बन्दाबन्दीका कारण विद्यालयहरुले गत शैक्षिक सत्रको नतिजा प्रकाशन गर्न सकेका छैनन् । विद्यालयहरुले पठनपाठन गराउने शैक्षिक सामग्रीहरुका बारेमा समेत अभिवावकहरुलाई जानकारी गराएका छैनन् । छोराछोरीको पढाइको विषयलाई लिएर अभिभावकहरुले चिन्ता व्यक्त गर्न थालेका छन् ।

अर्कोतर्फ नेपाल सरकारका शिक्षा मन्त्री गिरीराजमणी पोखरेलले गत शैक्षिकसत्रको नतिजा प्रकाशन गर्न तथा अनलाइन वा अन्य मिडियाका माध्यमबाट कक्षा सञ्चालन गर्नका लागि शैक्षिक संस्थाहरुलाई आग्रह गरेका छन् । यसैगरी प्रदेश सरकारहरुले समेत सोही अनुसारको सर्कुलर जारी गरे पनि विभिन्न स्थानीय सरकारहरुले भने अर्को सूचना जारी नहुँदासम्मका लागि नतिजा प्रकाशन रोक्नका लागि निर्देशन जारी गरेका छन् । यो अवस्थामा शैक्षिक गतिविधीलाई कसरी सञ्चालन गर्ने भन्ने विषयमा अन्यौलता रहेको सरोकारवालहरुको गुनासो रहेको छ।

प्रदेश ५ का सामाजिक विकाम मन्त्री सुदर्शन बरालले भने राज्यकोतर्फबाट कुनै अन्यौलता नरहेको बताउँदै सबै शैक्षिक संस्थाहरुले नतिजा प्रकाशन गर्नुपर्ने पक्षमा देखिन्छन् । कतिपय स्थानीय निकायहरुले नबुझेर नतिजा प्रकाशन रोकेको बताउँदै उनले विस्तारै सबै ठाउँका शैक्षिक संस्थाहरुले नतिजा प्रकाशन गर्ने बताए । बालबालिकाहरुको नैसर्गिक अधिकारसँग जोडिएको शिक्षा जस्तो विषयलाई रोक्न नहुने बताउँदै मन्त्री बरालले प्रदेश सरकारले नयाँ शैक्षिकसत्रको कक्षा सञ्चालनका लागि मोडालिटी तयार पारिरहेको बताए । ‘संघीय सरकार तथा हाम्रो प्रदेश सरकारले पनि सम्भव भएका ठाउँहरुमा भिडियो संवादद्वारा कक्षा सञ्चालन गर्ने, सम्भावित जोखिम नभएका ठाउँहरुमा सामाजिक दुरी कायम गर्दै विद्यालयमा नै कक्षा सञ्चालन गर्ने बारेमा तयारी सुरु गरेका छौं ।’–मन्त्री बरालले भने शैक्षिक गतिविधी सञ्चालनका लागि त्यसप्रकारको एप निर्माणमा पनि लागिरहेका छौ । अभिभावकहरुले अहिले नै विद्यार्थीको शैक्षिक गतिविधीका बारेमा चिन्ता लिनुपर्ने अवस्था छैन।

बन्दाबन्दीका कारण नियमित कक्षा सञ्चालन गर्न नसकिए पनि अहिले नै अभिभावहरु आत्ति हाल्नुपर्ने अवस्था भने नरहेको विभिन्न शैक्षिक संस्थाका व्यक्तिहरुले समेत विचार व्यक्त गरेका छन् । ‘मुलुक अझै एक महिनासम्म लकडाउनको अवस्थामा रहेपनि शैक्षिक गतिविधी सञ्चालनमा केही ढिला मात्रै हुने हो आत्तिहाल्नु पर्ने अवस्था छैन ।’–निजी विद्यालयहरुको छाता संगठन प्याब्सन रुपन्देहीका अध्यक्ष लेखनाथ पौडेलले भने ‘आगामी असार वा साउन १ गतेबाट कक्षा सञ्चालन भएको अवस्थामा पनि स्थानीय विदा, पर्व विदा, हिउँदे विदा लगाएतका विदाहरुलाई कटाएर शैक्षिक गतिविधी सञ्चालन गर्न सकिन्छ ।’ अधिकतम वार्षिक १ सय ९२ दिनसम्म कक्षा सञ्चालन हुने गरेको बताउँदै उनले वर्षको अन्तमा चैत्र महिनासम्म कक्षा सञ्चालन गरी अध्यापन गराउन सकिनेहुँदा अभिभावकहरुलाई नआत्तिन आग्रह गरे । पछिल्लो समय कतिपय विद्यालयहरुले अनलाईन कक्षाहरु सञ्चालन गर्ने गरेको भएपनि सबै ठाउँमा यो सम्भवन भएको बताउँदै उनले रेडियो टेलिभिजनको माध्यमबाट पनि शैक्षिक गतिविधी सञ्चालन गर्न सकिने धारणा राखे । सरकारले विद्यार्थीहरुलाई पाठ्य पुस्तक तथा स्टेशनरी सामाग्रीका लागि सामाजिक दुरी कायम राख्दै पुस्तक पसलसम्म पुग्ने व्यवस्था मिलाउनु पर्ने उनको धारणा छ । गत शैक्षिकसत्रको नतिजा प्रकाशनका विषयमा सरकारी पक्षबाट नै अन्यौलता सिर्जना गरिएको बताउँदै उनले यस विषयमा राज्य नै स्पष्ट हुनु पर्ने जरुरी रहेको बताए ।

यसैगरी एनव्याब्सन रुपन्देहीका सचिव बाबुराम बन्जाडेले पनि कक्षा सञ्चालनको विषयलाई लिएर अभिभावकहरु नआत्तिन आग्रह गरेका छन् । ‘अझ एक महिनासम्म मुलुक लकडाउन भएको अवस्थामा पनि त्यसपछि सञ्चालन गरिने शैक्षिक गतिविधीबाट लक्ष्य प्राप्त गर्न सकिन्छ ।’–बन्जाडेले भने ‘सामान्यताया वार्षिक १ सय ८० दिन कक्षा सञ्चालन हुने गर्दछ, त्यो अवधि एक महिनापछि नियमित कक्षा सञ्चालन गरेको अवस्थामा पनि सम्भव छ ।’ गत शैक्षिकसत्रको नतिजा प्रकाशनका विषयमा फरक मत राख्दै उनले तत्कालका लागि नतिजा प्रकाशन गर्न नहुने तर्क राखे । नतिजा प्रकाशनसँगै विद्यार्थी तथा अभिभावकहरु नयाँ पाठ्य पुस्तक तथा शैक्षिक सामाग्रीका लागि बजारमा भिडभाड बढ्न सक्ने कुरालाई ध्यानमा राखी सजगता अपनाउनु वेश हुने बताए । रुपन्देहीमा एनप्याब्सन अन्तरगत ३४ वटा विद्यालयहरु रहेका छन्।

यसैगरी हिसान रुपन्देहीका अध्यक्ष कृष्णप्रसाद पौडेलले एसइइ र कक्षा ११÷१२ को परिक्षा कार्यक्रम रोकिएको हुँदा विद्यार्थीहरु केही भयवित अवस्थामा पुगेकोमा चिन्ता व्यक्त गरे । नयाँ शैक्षिकसत्रको कक्षा सञ्चालनका विषयमा आत्तिहाल्नु पर्ने अवस्था नरहे पनि परिक्षा तयारीमा रहेका विद्यार्थीहरुका लागि अनलाईन कक्षा सञ्चालन तथा अन्य माध्यमबाट शैक्षिक गतिविधी जारी राख्नुपर्ने बताए । ४० प्रतिशन विद्यार्थी अनलाई कक्षामा सहभागी हुन नसक्ने अवस्थामा रहेको बताउँदै उनले उनिहरुका लागि पनि राज्यले उचित व्यवस्था गर्नुपर्ने उल्लेख गरे।

बुटवल–११ कालिकानगरमा अवस्थित कालिका मानज्ञान माध्यमिक विद्यालयका प्राचार्य घनश्याम पाठकले पनि अझै एक महिनासम्म नयाँ कक्षा सञ्चालन नभएको अवस्थामा पनि अभिभावकहरुले आत्तिहाल्नु पर्ने अवस्था नरहेको बताउँछन् । ‘यसै शैक्षिक सत्रलाई आधार मानेर कक्षा सञ्चालन गरीयो भने भने एक महिना ढिला गरेर नियमन कक्षा सञ्चालन भएको अवस्थामा विविभन्न विदा कटाएर शैक्षिकसत्र पुरा गर्न सकिन्छ ।’–पाठकले भने ‘यदि एक महिनाभन्दा बढी मुलुकमा लकडाउन लम्बिएको अवस्थामा आर्थिक वर्षलाई शैक्षिकसत्र मानेर सञ्चालन गर्न सकिन्छ ।’

संघीय तथा प्रदेश सरकारले नतिजा प्रकाशनका बारेमा लिएको निर्णयलाई समर्थन जनाउँदै उनले स्थानीय निकायहरुले शैक्षिक संस्थाहरुलाई गत वर्षको नतिजा प्रकाशनमा रोक लगाउनु गलत भएको बताए । ‘कानूनी रुपमा पनि विद्यालयहरुले कक्षा नर्सरीदेखि कक्षा १२ सम्म कक्षा ८, १० र १२ बाहेकका कक्षाहरुको नतिजा स्वयम् विद्यालयले सार्वजनिक गर्न पाउने अधिकार हो ।’–उनले भने ‘नतिजा प्रकाशन रोक्नु गलत हो । लकडाउनलाई असर नगर्ने गरी शैक्षिक संस्थाहरुले नतिजा प्रकाशन गर्नुपर्छ भन्ने मेरो मान्यता हो ।’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।