तिलोत्तमा नगरपालिकाको वडा नं.१ मा प्रेमनगर भन्ने ठाउँ छ । त्यहीं थियो पार्वती गिरीको माईतीघर । प्रेमनगरकी १४ वर्षिया किशोरीले प्रेम गरेरै शंकरनगर दुर्गामन्दिर, तपाहा बस्ने २१ वर्षे भेषराज गिरीलाई आफ्नो जीवन साथी बनाईन् । भनिन्छ–प्रेम र बैंशले जात,भात,वर्ग,वर्ण,उमेर र भूगोल हेर्दैन । हेर्छ त केवल माया पिरतिको सहारामा मनको एल्बम ।
विहे हुँदा शंकरनगर सारदा स्कूलको नौं कक्षामा पढ्दै थिइन् पार्वतीले । उनका श्रीमानले कक्षा १० पास गरेर भारततिर आउने जाने गर्थे रे ! भारतीय अत्तरले माया पिरति बढायो कि दुवैका अनुहारले उनीहरुले नै जानून् । त्यतिबेला पार्वतीका आँखामा भेषराजका फोटा बाहेक किताबका कुनै अक्षरहरु नाचेनन् । त्यसपछि दुई मुटुलाई एक बनाएर घरजम गरे । सम्वत् २०५२ सालको मंसीरमा । साँचो प्रेमलाई परिवारमा रुपान्तरण गरे उनीहरुले । अनि दिए प्रेमको बलियो प्रमाण स्वरुप अन्तरजातीय विहे आफ्नै समाजलाई
१५ वर्षको कलिलै उमेरमा राखीकी आमा बनिन् पार्वती । सानैमा प्रसव वेदना खेप्नुको पीडा उनैलाई थाहा होला तर त्यो पीडालाई सन्तानको खुसीले मेटाइन् । त्यसको १० वर्षपछि दोस्रो सन्तानको रुपमा छोरा जन्माइन् । छोरीलाई विहे गरिदिइन अनि छोरा कक्षा ७ को परीक्षा दिएर बसेको छ । सन्तानका खुसीका लागि पार्वती र भेषराजले जीवनमा सुखदुःखका अविरल यात्रा गरिरहेका छन् । भेष्राज २०५२ देखि ०६२ सालसम्म भारतमा मजदूरी गर्न उतै बसे । भारत बसाईमा उनको तलब खाइपाई जम्मा एकहजार दुईसयदेखि दुईहजार दुईसयसम्म थियो । घर आउँदा पार्वतीलाई एकजोर लुगा र चुरापोते ल्याइदिन समेत हम्मे पथ्र्यो । तैपनि श्रीमानको आगमनले खुसीका सबैथोक पाएजस्तै हुन्थ्यो रे पार्वतीलाई ।
तराईमा पर्ने रुपन्देहीको प्रेमनगरमै खाइखेली हुर्किएकी जमीनदार दामोदर भण्डारीकी नातिनी पार्वती १७ जनाको परिवारमा कान्छी छोरी थिइन् । माया र स्नेहको म्वाइँ खाएर हुर्किएकी उनी शंकरनगर कर्मघरमा आइपुग्दा ८ जनाको परिवारमा जेठी बुहारी बनेकी थिइन् । उमेर १४ तर जिम्मेवारीको हिसावले जेठी बुहारी ! कति विपरित एकता थियो । माइतीघरमा दुःख कुन चरोको नाम थाहा नपाइकी पार्वतीका कर्मघरमा बुहारी हुनुका आफ्नै सुखदुःखका कथाहरु मनको पर्दामा नाचिरहन्छ । दुई देवर,दुई नन्द अनि सासुससुराका सेवामा आफूलाई समर्पित गर्नु त्यतिबेला कुनै मजाकको विषय थिएन ।
विहेको ६ महिना त उनीहरु भारतमै भागेर बसे । त्यसछि पार्वतीलाई घरमा छाडेर भेषराज फेरि भारततिर लागे । त्यसैमा पनि जीवनभर साथ दिन्छु भनेर विहे गरेका श्रीमान साथमा नहुँदा मनको भारी बिसाउने चौपारी सिरानी बाहेक अरु केही हुन्थेन् । कहिलेकाँही मनमा डर लाग्थ्यो,पीर लाग्थ्यो । सुनिदिने कोही थिएनन् । कुरो बिसाउने माइतीघरबाट भागी बिहे गरेपछि जानेआउने बाटोपनि ताल्चा लगाएको मूल ढोका जस्तै लाग्थ्यो । यी सबै पीडाहरु जेठी छोरी रेखीका मुहार हेरेर बिर्सिएकी हुँ मैले–पार्वती भन्दैथिइन् ।
सुखको बाटो खोज्दै श्रीमान भेषराज २०६३ देखि २०७४ सालसम्म खाडीमुलुक दुबईमा गए । हल्का पैसा कमाए । त्यही पैसाले छोराछोरीलाई पालनपोषण,शिक्षादीक्षा मात्र होइन छोरीको विहेदान समेत गरिदिए यो दम्पत्तिले । गरिखाने उमेरका २०/२२ वर्ष श्रीमानले विदेशमा श्रम,सीप र पसिना बगाएपछि पार्वतीले अचेल श्रीमानलाई साथ लिएर उद्यम सञ्चालन गरेकी छन् । लकासी अचार उद्योग उनको उद्यमको नाम हो । शंकरनगरमा रहेको सामुहिक बहुउद्देश्यीय सहकारी संस्थाबाट पार्वतीले २०७४ को असार २ र ३ गते अचार सम्बन्धी तालिम लिइन् । ६ जनासाथीहरुसँग मिलेर शुभलाभ अचार उद्योग सुरु गरिन् र २०७४ सालको चैत्रसम्म सँगै रहेर काम समेत गरिन् । शुभलाभ अचार उद्योग अहिले पनि दुईजना उनका साथीहरुले सञ्चालन गरिरहेका छन् ।
१० बैसाख २०७५ बाट पार्वतीले ४० हजार स्थीर र ६० हजारको चालू पूँजी रहने गरी एकलाखबाट लकासी अचार उद्योग सुरु गरिन् । दुईवर्षको दौरानमा उनको अचार उद्योगले काफी फड्को मारेको छ । पार्वतीले वर्षमा करिव चार लाख नाफा गर्न थालेपछि श्रीमानलाई परदेशको तातोहावा खान नपठाउने निर्णय गरेर सँगै अचार उद्यममा मिसाएकी छन् । हाल २२ थरि (आँप,लसुन, मेथी करेला,च्याउ, लप्सी,अकबरे खोर्सानी,च्याउ लगायत) का अचार उत्पादन गर्छिन् । उनको उद्योगमा प्रतिकिलो कम्तिमा दुईसयदेखि बढीमा आठसयसम्मको अचार पाइन्छन् ।
तिलोत्तमा नपाको वडा नं.३,शंकरनगर चोकको पश्चिमतिर सामुहिक सहकारी जाने बाटोकै मुखमा लकासी अचारको विक्रीकक्ष समेत खोलेकी छन् । उनले त्यहाँ दैनिक सरदर तीन हजारको व्यापार गर्छिन् । तिलोत्तमा,बुटवल,सैनामैना, देवदह,पश्चिम ४ नम्बर जीतपुरका साथै मेला,महोत्सव लाग्ने स्थानहरुमा समेत गएर आफ्नो अचारको विक्री र प्रवद्र्धन गर्दै आएकी छन् । मेला महोत्सवमा आफ्नो अचारले बजार लिएता पनि कच्चा सामग्रीको अभाव र छिमेकी भारतीय बजारबाट आयतित अचार नै आफ्ना लागि चुनौती रहेको पार्वतीले बताइन् ।
आफ्नो अचार उद्योगमा स्थानीय महिलाहरुलाई ( सिजनमा दुईजना महिलाहरुलाई रोजगारी दिने गरिएको ) निरन्तर रोजगारी दिने,स्थानीय कच्चा सामग्री उत्पादनमा जोड दिने र बजारीकरणमा ध्यान दिदै आयातित बजारसँग जुध्न सक्ने अचार उद्योग बनाउने सोच लिएकी पार्वतीको आँट,हिम्मत र शाहसले उद्यम गरौं भन्ने नेपाली महिलाहरुलाई पक्कै नयाँ उर्जा थप्ने छ ।
पार्वतीले सानैमा विहे गरेपछि पढ्न पाइनन् । यसपाली उनले दूर शिक्षाको माध्यमबाट एसईई दिने तयारीमा छिन् । आफ्नो पढाईलाई प्राथमिकता दिने प्रेरक व्यक्तित्वका रुपमा सामाजिक एवम् आर्थिक अभियन्ता देवी वाग्ले हुन् भन्छिन् पार्वती । देवी दिदीसँगै मिलेर उनले सहकदम कृषक समूह बनाएकी छन् । फूलखेतीमा सरिक भएकी छन् । पार्वती भन्दै थिइन्–देवी दिदीसँग रोटरी क्लवमा लागेर जीवनलाई बुझ्न सिकेकी हुँ । आर्थिक उपार्जनका बाटाहरु रोजेकी हुँ । मेरो प्रगतिमा दिदीको हात र साथ निरन्तर छ । सेनेटरी प्याड बनाउने कामको प्रशिक्षक समेत हुन् उनी । उनले गुल्मी,स्याङ्जा,कपिलवस्तु,रुपन्देहीका धेरै स्थानहरुमा पुगेर दिदीबहिनीहरुलाई अचार र सेनेटरी प्याड सम्बन्धि तालिम दिइसकेकी छन् । पार्वतीले २०७६ सालको पुष महिनामा तिलोत्तमा नगरप्रमुख–दायित्व उद्यम प्रतियोगिता –२०७६ मा उत्कृष्ट ५ उद्यमीमा पर्न सफल भई ५० हजार रुपैयाँसहित सम्मानित हुने अवसर पाएकी थिइन् । त्यसैगरी सामुहिक विकास बचत तथा ऋण सहकारी संस्था लि.शंकरनगरले उनलाई आफ्नो रजत महोत्सवको अवसर पारेर उत्कृष्ट लघु–उद्यम व्यवसायीको रुपमा सम्मान गरेको थियो ।
पढेरभन्दा परेर धेरै सिकेकी पार्वतीको भविष्यको सपना भनेकै आफ्नो अचार उद्योगलाई व्यवस्थित गरी बिस्तार गर्ने,सेनेटरी प्याडलाई समेत व्यवसायिक उद्योगको रुपमा विकास गर्ने र पुष्पखेतीका माध्यबाट देशलाई फूलमा आत्मनिर्भर बनाउने नै हो । परिश्रम र पसिनाले पैसा कमाउन सकिने,प्रतिष्ठा बढ्ने र पहिचान बनाउन सकिने पार्वतीको तर्क छ ।
पार्वती भन्दैथिइन् –महिला उद्यमशीलता विकासमा मेरो उद्यमले नयाँ गोरेटो देखाउन सक्ने छ । महिलाहरुका आर्थिक उन्नति र प्रगतिका लागि उद्यम भन्ने नारालाई साकार बनाउन मेरो पनि केही हदसम्म योगदान रहने छ । हिजो सम्झेर होइन बरु भविष्य हेरेर अघि बढौं ।महिलाहरुलाई उद्यमी बनाउने र देशलाई आर्थिक समृद्धिको गोरेटोमा डोराउने सपना बुनेकी पार्वतीलाई आफ्ना विगतका दुःखका दिनहरुले पक्कै उत्प्रेरणा दिने छन् ।
प्रतिक्रिया