ताजा अपडेट »

गोमाको गन्तव्य

सोमबार, २४ चैत्र २०७६, १८ : २८
36 Shares
सोमबार, २४ चैत्र २०७६
36 Shares

एउटी महिलाको कृषि कर्म र भविष्यको गन्तव्य

गोमाको विहे हुँदा उमेरले १९ टेक्दै थियो भने श्रीमानको २३ पूरा । माइतीघरकी एक्ली छोरी । दुई दाइहरु थिए उनका । बाबा गाउँकै शिक्षक । शिक्षाको उज्यालो घाम बाँड्दै हिडेका दुर्गा खनालले आफ्नी छोरीलाई पश्चिम पाल्पाको भैरव जनता माविबाट २०५४ मा प्रवेशिका उत्तीर्ण गराई सोही वर्ष हुमनाथ भण्डारीलाई ज्वाइँ बनाए । गोमाको माईतीघर पाल्पाको रिब्दिकोट मालमुल गाउँ हो भने कर्मघर तिनाउ गाउँपालिका वडा नं.६ मस्याम गाउँको कुट्डाँडा हो ।

कुट्डाँडामा उनीहरुको पुरानो बार्दली सहितको पुर्खौली घर छ । गोठमा एउटा दुहुनो गाई छ । डाँडामा घर,उस्तै हावा चलिरहन्छ । छोटो परिवार छ । सासु र श्रीमान जीवनका मार्गदर्शक बनेका छन् । ससुराले साथ छोडेको पनि ढाईवर्ष भयो । जेठो छोरोले सरकारी छात्रवृत्तिमा नाम निकालेर पक्लिहवा कृषि क्याम्पसबाट बिएस्सी एजीको तेस्रो सेमेष्टर परीक्षा दिइसकेको छ । कान्छो छोरो डुम्रे बजारको सनराईज बोर्डिङ्ग स्कूलबाट एईई दिने तयारीमा छ ।

गोमा सुखमा खाई खेली हुर्किएकी एक्ली छोरी थिइन् । उनलाई माइतीघरमा खासै घाँसदाउरा गर्नु परेन । शिक्षित र सानो परिवार भएकाले काममा खासै चाप थिएन । दुःखका कुनै पहाड उक्लिनु परेन । सुखैमा हुर्किएकी उनलाई विहेपछिका दिनहरु भने त्यति सहज भएनन् । कान्छी बुहारी भएर आउँदा पाँच जेठाजूहरु विहे गरी छिन्नभिन्न भइसकेका थिए । आमाजुले घर गरिसकेकी थिइन् । जीवनको नयाँ दैलो उघार्न दुलही बनेर आइपुगेकी थिइन् गोमा । घरमा सासुससुरासँगै चारजनाको परिवार बन्यो ।

त्यतिबेला गाउँमा पानीको उस्तै समस्या । अंशमा परेको पाखोबारी । जीवनका अघि गोमालाई गन्तव्य भेट्न मुस्किल प¥यो । पढेकी आफू र श्रीमान । श्रीमानले रिब्दिकोटको भाष्कर माविमा अस्थायी रुपमा पढाउँथे । गोमालाई रोजगारको बाटो साँघुरो भो । पढेको मान्छे घरमै बसिरहँदा पनि उराठ र उदास लाग्ने । घरदैलो मात्रले सुख नआउने र सुन्दर भविष्य नबन्ने भएपछि श्रीमानसँग मिलेर जीवनको नयाँ योजना बुनिन् । योजनामा कृषि कर्म पहिलो प्राथमिकताभित्र पर्यो । भविष्यमा अभावका आकास ओढ्न नपरोस् भनेर मनको देउरालीमा पसिनाको सिंचाइ गर्ने रहर हुर्काए उनीहरुले ।

बाँच्ने आधारका लागि र आफूलाई स्वरोजगार बनाउन बेमौसी तरकारीखेती थालिन् । तरकारीले उनलाई तगडा बनायो । आशा जगायो । हरिया नोट समाउँदा दुःखजति सबै पसिना बनेर आफ्नै पाखोबारीमा बगे । पसिनाको मूल्यले उनलाई उत्साह थप्यो । गरे सकिदो रहेछ भन्ने आत्मविश्वास र बल प्राप्त भयो । पाखुरीको बललाई पाखोबारीमा मलसँग मिसाएपछि आफ्नै अघि जर्जरभूमि पनि आम्दानीको थलो बन्दो रहेछ–गोमा भन्दै थिइन् । आफ्नै भूमिमा निरन्तर पसिनाको सपना बगाइ रहिन् उनले ।

२०७३ सालदेखि उनले आफ्नो १३ रोपनी सोही जग्गामा स्थानीय जातको सुनकागती लगाइन् । अहिले उनको पाखोबारीमा करिव चारसय कागतीका विरुवाहरु छन् । यो वर्ष नौं लाखको कागती बेचिन् । यसवर्ष दुईसय बिरुवाहरुले दाना दिएका थिए । समयमै बजारको अवस्था बुझ्न सकेको भए धेरै मूल्य पर्ने गोमा भन्दै थिइन् –राम्रो, स्वस्थ र सप्रेको एउटा कागतीको बोटमा पच्चीस सयदेखि तीन हजारसम्म दाना लाग्दा रहेछन् । यसरी हिसाव गर्दा एउटा बोटबाट १० हजारसम्म आम्दानी हुँदो रहेछ । उनको कागतीको सुन्दर बगैँचा हेर्न टाढा टाढाबाट समेत नागरिकहरु कुट्डाँडा पुग्न थालेका छन् ।

गोमा आफैले स्याङ्गजा,पोखरा,नारायणघाट,काठमाडौं र अर्घाखाँची कागती बेच्न जीपमा पठाइन् र बैंकबाट पैसा बुझिन् । गएका दुईवर्षसम्म उनले बुटवल,तानसेन र स्थानीय डुम्रेबजारमा कागती बेचेर एक–दुईलाख रुपैयाँ आम्दानी गरेकी थिइन् । उनले स्थानीय नागरिकहरुलाई सिजनल रोजगारी दिएकी छन् । पुषमाघ महिनामा दैनिक ४/५ जनाले कागतीका बोटहरुमा मल हाल्ने,गोडमेल गर्ने,काँटछाँट गर्ने काम पाउँछन् । चैत्र र बैसाखमा सिंचाई र असोजदेखि मंसीरसम्म कागतीको दाना टिप्नका लागि स्थानीय नागरिकलाई रोजगार दिन्छिन् । गतवर्ष मलजल र ज्यालामा करिव डेढलाख बढी खर्चिएकी थिइन् ।

कागती खेती फस्टाउँदै गएपनि त्यसमा भने समयसमयमा विभिन्न किसिमका रोगहरुले सताउँदै आएको गोमाले बताइन् । क्यांकर रोग,ढुसीको समस्या र लिफ माइनर कीराले कागतीलाई हानी गर्छ । त्यस्ता रोग र समस्याहरुबाट कागतीलाई बचाउनका लागि साइपरमेथ्रीन,बेबीसटीन,निलोतुथो र चुनाको मिश्रण र गहुँत लाभदायक हुने उनले सुनाइन् । गोमालाई कामको अनुभवले कुनै कृषिविज्ञ भन्दा कम बनाएको छैन । यसपाली फागुनमा परेको असिनापानीले कागतीका बोटमा पलाउँदै गरेका पालुवाहरुलाई सिख्रो पार्यो । आफ्नै वडापालिकाबाट आएका कृषि कर्मचारीलाई सो क्षति सम्बन्धी जानकारी गराएपनि अहिलेसम्म कुनै राहत नपाइएको गुनासो गरिन् ।

गोमालाई दायित्व इन्नोभेसन पाल्पा नामक गैह्सरकारी संस्थाले पचास हजार नगदसहित पुरस्कृत गरेको थियो । यसैवर्ष डुम्रेबजारमा खुलेको साइन रेसुङ्गा बैंकले सफल महिला उद्यमी भनेर तत्कालीन गर्भनर डा.चिरञ्जीवी नेपालबाट सम्मानित हुने अवसर पाइन् । कागती कृषि कर्मसँगै गोमा भण्डारी मस्याम माविमा व्यवस्थापन समिति,अध्यक्ष भएकी थिइन् । गोमाले अहिले पार्टीमा जिल्लास्तरको नेतृत्व गर्छिन् । समृद्धिको चाहना आर्थिक क्रान्तिबाट सम्भव देख्छिन् ।

उनको भविष्यको गन्तव्य भनेको हाइटेक नर्सरी बनाई कागतीका बेर्ना बेच्नु हो । हुन त उनले गतवर्षदेखि नर्सरीको काम थालेकी छन् । यसवर्ष उनले कागतीका १० हजार बेर्ना चालीस रुपैयाँको दरले तिनाउ गाउँपालिकालाई बेच्दैछिन् । बाँकी पाँच हजार बेर्ना विभिन्न संघसंस्था र व्यक्तिहरुलाई बेच्ने तयारी पूरा गरेकी छन् । अचार बनाउने विचार गर्दैछिन् । कागतीका बियाँबाट निक्लिएको रसलाई प्रशोधन गरी चूक,जुश लगायतका सामग्री बनाउने उनको सकारात्मक र व्यवसायिक सपना छिट्टै पूरा हुने छन् । महिलाहरुलाई आफूजस्तै कृषि उद्यमी बनाउने रहर बोकेकी छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।