उनको जन्मघर पाल्पाको तिनाउ गाउँपालिका वडा नं.२ को बुढासटक हो तर अचेल तिलोत्तमा नगरपालिकाको मणिग्राममा बस्दै आएकी छन् । टंक र कौशिलाकी कान्छी छोरी हुुन् विष्णु । विष्णुको नागरिकताको नाम विष्णुकुमारी घिमिरे हो । उनका तीन दाइ र एक दिदीको विहे भई सक्यो । २०७६ मंसीर २५ गते उनका बुवालाई दमले उनीहरुबाट चुँडेर लग्यो । आमा कान्छा दाइसँगै छिन् । बाबाको मृत्युले विष्णुको मन एकोहोरिन्छ घरिघरि । मनमा पीडा ताजै छ । जीवनको सहारा दिने बाबाको मृत्युले आँखा ओभाना छैनन् । अहिले पीडाको घाउ सम्झनाको मल्हमले पुर्दैछिन् ।
हाईस्कूल पढ्न उनलाई घरबाट हिडेर डेढघण्टा लाग्ने दोभान मावि पुग्नु पथ्र्यो तर, उनका लागि सो शैक्षिक यात्रा सहज थिएन । घरबाट वा स्कूलबाट छिटो हिड््ने तर ढिलो पुग्ने अवस्था थियो । कारण उनको शारीरिक अवस्था नै हो । विष्णुको दाहिने खुट्टा देब्रे खुट्टाको तुलनामा डेढ इञ्च छोटो छ । सानैमा उनलाई पोलियो माइलाइटीस भएपछि यस्तो अवस्था व्यहोर्नु परेको आफूले बुझ्ने भइपछि थाहा पाइन् ।
विष्णुले २०६२ सालमा प्रवेशिका परीक्षा उत्तीर्ण गरेकी हुन् । प्रमाण–पत्र तह उत्तीर्ण गरेर स्नातक पहिलो वर्षको परीक्षामा सामेल भईन् तर सो तह भने पूरा गर्न सकिनन् । कारण अनेक छन् ।
उनी दोभान गाउँ अपाङ्गता पुनस्र्थापना समितिका अध्यक्ष थिइन् । उनले उक्त पदमा रहेर १२ वर्ष नेतृत्व गरिन् । गाउँमा उनले आफ्नो समितिका तर्फबाट आफू जस्तै साथीहरुलाई न्यायो कपडा बाँडिन् । ह्विल चियर,सेतो लौरो र ब्रेल लिपि समेत बाँडिन् । सबैका घरघरमा पुगिन् । खाएको नखाएको दुःख र सुख बुझ्न उकाली ओराली गरिन् । अपाङ्गता सम्बन्धी सचेतना शिक्षा,शिविर सञ्चालन गरी जिल्लाकै नमूना समितिको रुपमा विष्णुले समितिलाई परिचित गराएकी थिइन् ।साँच्चिकै विष्णु सबैका निम्ति असल पात्र बनेर उभिइन् । उनले पाल्पा सिविआरको सहयोगमा भक्तपुरबाट एक सय दिनको अपाङ्गता सम्बन्धी तालिम हासिल गरेकी छन् । सो तालिमले उनको जीवनमा नयाँ आयाम थपि दिएको छ ।
अहिले उनी राष्ट्रिय अपाङ्ग महासंघको पाल्पा जिल्ला उपाध्यक्ष छिन् । समुदायमा आधारित पुनस्र्थापना केन्द्र(सीबिआर),पाल्पाको सदस्य छिन् । उनलाई पदले भन्दापनि कामले चिनाएको छ । सामाजिक काम भनेपछि हुरुक्क हुने विष्णुले जीवन निर्वाहका लागि सिद्धबाबा मन्दिरको धर्मशालामा दर्शन पूजा पसल सञ्चालन गरेकी छन् । सोही पसलको आम्दानी,आफ्न्तीले दिएका दान–दक्षिणा र बंशबाट प्राप्त अंशलाई जोडेर अहिले तिलोत्तमा वडा नं.६ झरना पथमा ८ धूर जग्गामा एकतले खुसीको भवन ठड्याएकी छन् । घरतिरबाट अन्यायमा परेकी आफ्नी दिदी अनि दुई छोरालाई समेत सहारा दिएकी छन् । उमेरलेभन्दा पनि अनुभवले उनी पाकी भएकी हुन् । संसार बुझेकी छन् । दुःखीका दुःखलाई हटाउन सधैं कर्मशील छिन् ।
स्कूले जीवनमा उनकै संगीसाथी र छिमेकीहरुले अपमानजनक शब्दले बोलाउँथे वा चिच्चाएर जिस्काउथे तब मनमा अनेक तर्कनाहरु खेल्थे । पीडावोध हुने गर्दथ्यो । मन दुख्थ्यो,हेपिनुको पीडा कम्तिको हुन्थेन । तैपनि ती पुराना तीता कुराहरुलाई दबाएर अपाड्डता भएका ब्यक्तिहरुलाई सेवा गर्न पाउँदा उनका खुसीहरुले सगरमाथा चुम्ने गर्थे । पीरका पोकालाई घरनजिकै बग्ने तिनाउमा बगाउँथिन् ।
विष्णुमा बदला होइन् सबैका विचार बदल्ने भाव छ । उनका हरप्रयासहरु आफू जस्तैका जीवनमा सेवा गर्ने रहर र अदम्य आँट छ । दोभानमा रहेका सय बढी अपाङ्गता भएका साथीहरुलाई आफ्नो समितिमा एकीकृत गरेकी थिइन् । उनीहरुको अवस्था अनुसारको परिचय पत्र दिलाउनका लागि कम्मर कसेर लागेकी थिइन् । भोक,शोक नमानेर गाउँबस्तीमा आफू जस्तैका स्याहार गर्न पुगेकी थिइन् ।
अचेल सिद्धबाबा मन्दिर,पाल्पामा फूल प्रसादीको पसल थापेर भक्तजनहरुको सेवा गरेकी छन् । विष्णुका वर्तमान सुखमय छन् तर विगत सोचें जस्तै सरल थिएन । विष्णुले समितिको अध्यक्ष रहँदा गाउँमा आफू जस्तैका आयआर्जनका लागि आर्थिक सहयोग गरेकी थिइन् । बंगुर,बाख्रा,कुखुरापालनका लागि अनुदान स्वरुप सहयोग गरेकी थिइन् । नोखराज लम्साल,नरसिंह भण्डारी,रामबहादुर पल्ली,ज्योतिलाल बस्याल,ओमकुमारी पुनले बाख्रापाल्न थालेपछि उनीहरुका जीवनमा आर्थिक फड्को मारेको विष्णुको अनुभव छ । ती सुखका कुराहरुले विष्णुको जीवनमा उत्साह र हौशला थपिन्छ ।
ओम कुमारी पुनले आफ्नो छोराको नाममा २०६४ मा पाएको एउटा माउ बाख्राबाट हालसम्म करिव दुई लाख ५० हजार बढी नगद आम्दानी गरी सकेका छन् । चारवटा माउ र तीनवटा पाठापाठी अझ्ै छन् । यो सफलताको कुरा सुनाउँदै गर्दा विष्णु झन् उत्साहित हुन्छिन् ।
निरन्तर अपाङ्गता सम्बन्धी काम र सेवा गर्ने अठोट बोकेका विष्णुले जीवनमा आइपर्ने समस्याबाट तर्सेर भाग्न नहुने र घृणालाई सहजै स्वीकार गरी मायामा बदलेर अघि बढेमा जीवनको गन्तब्यमा पुग्न सक्ने बताउँछन् । गुमनाम यात्रामा रहेकाहरुलाई निश्चित भविष्य निर्माण गर्नका लागि उनले खेलेको भूमिका कुनै कालखण्डामा स्वर्ण अक्षरले लेखिने छन् । संस्कृतिलाई समृद्धिसँग जोडेर लैजाने उनको सपना छ ।
विष्णु सबैका निम्ति उदाहरणीय पात्र हुन् । उनीबाट धेरै सिक्नु पर्ने ज्ञान,सीप र व्यवहारहरु छन् । हक्की स्वभावकी विष्णुमा धूप बनाउने,बाती काट्ने,टपरी खुट्ने ,सेलरोटी पकाउने राम्रा कला छन् । जो नयाँ पिंढीलाई हस्तान्तरण गर्नु जरुरी देखिन्छ । समाजले उनको कामको प्रशंसा गर्दै उनीबाट आवश्यक सहयोग लिने बेला आइ सकेको छ । समाज सेवामै जीवन गुजार्ने सपना बुनेका विष्णुको रहरले सार्थकता पाउने दिन अब टाढा छैन ।
प्रतिक्रिया