एक उद्यमी महिलाको जीवन कथा र भविष्यको सपना
बाबा रामदेवले भनेका थिए–जिन्दगी युद्ध(संग्राम) हो । जसले जित्न सक्छ ऊ नै बाँच्छ । साँच्चिकै उनले आफ्नै शरीरको रोगसँग युद्ध लडिन र जितिन् । अर्थात् उनी बाँचिन् । १२ वर्षको उमेरदेखि उनलाई बाथ ज्वरो (Rhyumatic heart Disease) ले समायो र सोही रोगबाट बच्न ३४ वर्षको उम्मेरसम्म नियमित औषधी खाइन् ।
आमा ४० वर्ष पुग्दा जन्मिएकी उनी सातवर्षको उमेरमा बाबा गुमाइन् । २० वर्षको उमेरमा मस्तिष्कको क्षयरोगले दुईदिनसम्म कोमामा पुर्यायो । डेढवर्षसम्म क्षयरोगको औषधी खाएपछि निको भईन् । पोखराको मणिपाल शिक्षण अस्पतालमा उनको रोग बेलैमा निदान र उपचार भएकै कारण आयू थपियो । घरीघरी टन्सिलले सताइ रहँदा शल्यक्रिया गर्नु पर्यो । रोग उनको जीवनमा संघर्षको यात्री बनेर साथ लागि रह्यो । पीडाको इनार जति खन्यो त्यति दर्दनाक हुन्छ भन्थे । मलाई उनको जीवनीले त्यस्तै सोच्ने बनायो ।
गुल्मीको रुरु गाउँपालिका रिडीबजारमा जन्मिएकी उनी माइतीमा कान्छी सन्तान् थिइन् । दुई दाजुहरु र दुई दिदीहरु थिए उनका । कान्छी भएकीले परिवारमा माया,ममता र स्नेहको पोखरीमा चुर्लुम्म डुबेकी थिइन् तर रोगले उनलाई मृत्युको आगनमा घुमाइ रहन्थ्यो । परिवारको बलियो आर्थिक अवस्था थिएन । घरको मियो बाबा नभएपछि जिन्दगीमा सुखको दाइँ लगाउन पाएनन् ।
धेरैले उनलाई मृत्युको मुखबाट फर्किएर आएको नाफाको पाहुना ठान्छन् । उनलाई बाँच्ने आधार दियो त केवल आफ्नै आन्तरिक आँट,हिम्मत र विश्वासले । बाँच्न सिकायो त आफ्नै परिवार,समाज र आफन्तीका प्रेरणाले । त्यही भएर त आज आफ्नै परिचय बनाएकी छन् । सबैले जमुना भनेर चिनेका छन् ।
हो ! उनी हुन् –जमुना सुबेदी पोखरेल । १२ पास गरेपछि पढ्न र रोजगारीको शिलशिलामा बुटवल आइन् । आफ्नी ठूल्दिदी उनका सहारा बनिन् । डुबेको मान्छेलाई परालको त्यान्द्रो पनि सहारा हुन्छ भने झैं ठूल्दिदी बलियो सहारा भईन् । जमुनाले लुम्बिनी वाणिज्य क्याम्पसमा बीबीएस पढाइ थालिन् । अग्नि इन्फोटेक ईन्स्टिच्यूट,बुटवलमा रिसेप्सनिष्टमा पहिलो पटक जागिरे भइन् ,छाडिन् । त्यसपछि तिनाउ साप्ताहिक पत्रिकामा मार्केटिङ्को काम थालिन् । बुटवलको चर्को घाम र फिल्डमा हिडिरहनु पर्ने भएको हुँदा स्वास्थ्यले साथ नदिएपछि पाउनु पर्ने तलव समेत गोली मारिन् ।
आर्थिक अभाव र घरायसी समस्याले पढाइलाई बीचमै थाँति राखेर पोखरमा रहेको पशु स्वास्थ्य तथा परामर्श केन्द्रमा लेखापालको रुपमा जागिरे भइन् जमुना । अदिति र सौर्यका आमा बनिसकेका जमुनाले २०६५ सालमा सैनामैना–१०,सालझण्डीका भुवन पोखरेलसँग पोखरामा रहँदा बस्दा नै लगनगाँठो कसेकी थिइन् अर्थात् दुई मुटु एक बनाएकी थिइन् । जीवनको ११ वर्षे निरन्तर यात्रामा भुवनले जमुनालाई सहारा र जमुनाले भुवनलाई आधार ठानिन् । बुटवल –१३,बेलबासमा उनीहरुले डेढ वर्ष अघि सौर्य गार्मेन्ट खोलेका छन्् । ८ जना नेपाली महिलाहरुलाई रोजगार दिएका छन् । उनीहरुका आश्रित परिवारलाई समेत बाँच्ने आधार दिएका छन् । नेपालमै उद्यम गरौं र नेपाली हुनुको गर्व गरौं भन्ने उनीहरुको मूलमन्त्र हो ।
उद्यमी महिला बनेर समाजमा परिचय बनाउने र सफल उद्यमी बन्ने जमुनाको योजना र सपनालाई भुवनले हरपल साथ दिएका छन् । होस्टेमा हैसे गरेका छन् । घरभित्रमात्र होइन परिवार र समाजलाई समृद्धिको गोरेटोमा लैजानका निम्ति जमुनाले आफ्नो समय लगानी गरेकी छन् । त्यसैले पनि उनलाई बुटवल उपमहानगरपालिकाद्वारा गठित उपप्रमुख महिला उद्यमशीलता विकास समितिको सञ्चालक सदस्यमा उद्योगीका तर्फबाट मनोनित गरिएको हुन सक्छ । उनले सो समिति मार्फत आफ्नो उद्यमशीलता सम्बन्धी क्षमता र योग्यता प्रदर्शन गर्ने अवसर समेत पाइएकी छन् । रुपन्देही उद्योग संघको कार्यसमितिमा मनोनित सदस्यका रुपमा क्रियाशील छन् ।
१६ वर्षको उमेरमा उनले गाउँमै यूथ अफ न्यू जेनेरेशन नामक क्लवको अध्यक्ष भई नेतृत्व गरेकी थिइन् । उनमा नेतृत्व र संयोजन गर्ने विशिष्ट क्षमता र गुण भएकै कारण आज रुरु मिलन केन्द्र,रुपन्देहीकी अध्यक्ष,न्यू भिजन फाउण्डेसन नेपालकी कार्यसमिति सदस्य,जितेश्वरी सामुदायिक वन उपभोक्ता समूहकी कार्यसमिति सदस्य,महिला मञ्च,नेपालकी कार्यसमिति सदस्य भई आफ्नो पदीय दायित्व सफलतापूर्व निर्वाह गरेकी छन् । बीबीएस् उत्तीर्ण जमुनासँग गार्मेन्ट सम्बन्धी क्षमता छ । उनले यूटुव हेरेर गामेन्ट सम्बन्धी धेरै कुरा सिकेकी हुन् । आफ्नो सीप र क्षमता उनले आफ्नै क्षेत्रमा लगानी गरिहेकी छन् । सधैं हँसिली देखिने जमुनाले रोगको पहाडलाई परिश्रम र पौरखले ढालिन् र आज सक्षम उद्यमी बनेर सबैका माझ उभिएकी छन् ।
उनी भन्छिन्–महिलालाई सबै क्षेत्रमा पहिला बनाउने अभियानमा छु । सबैभन्दा पहिला चाहिने भनेकै आर्थिक अधिकार हो । आर्थिक अधिकारको लडाइँमा अग्रभागमा लडिरहने मेरो सपना अवश्य पूरा हुने छ । हाम्रो अगाडिको बाटो भने कै आर्थिक अधिकारसहितको राजनीतिक अधिकार हो । सकारात्मक चिन्तन,मनन,निरन्तरको परिश्रम र प्रयासले नै वर्तमानमा जमुनाले रोगलाई पछारेकी छन् । उनीसँग अहिले रोगले मुकाबिला गर्न छाडेको छ । राजनीति र पत्रकारिता उनको रहरको विषय हो । राजनीति भनेपछि हुरुक्क हुने जमुनालाई आर्थिक समृद्धिले नै राजनीतिमा टिक्न सकिन्छ भन्ने लाग्छ । पत्रकारिता रहर मै गयो उनको । उनका फेसबुकका वालहरुमा फोटो क्याप्सनसँगै पत्रकारिताका केही खुबीहरु देख्न र हेर्न पाइन्छन् ।
प्रतिक्रिया