रित्तै आएर सित्तै खाने जात भनेर हेपिइन्छ महिलाहरुलाई । महिला पहिला भनेर नारामा सीमित गराइएका हुन्छन् । महिला मुक्तिका हजार उपायहरु आज आफ्नै कठिनाईका कारागारमा छन् । जतिसुकै समानता र समावेशिताका कुरा गरेता पनि महिलाहरु ३३ प्रतिशत् कागजी घोडा बनेर दौडिरहेका छन् । देशले एकैपटक महिला राष्ट्रपति,प्रमुख न्यायाधिश र सभामुख नपाएको कहाँ हो ? प्रतिनिधि पात्र बनेर मात्र आममहिलाहरुको चुल्होमा आगो बल्दो रहेन छ । राजनीतिक अधिकार त पाए नेपाली महिलाहरुले तर आर्थिक,सामाजिक र सांस्कृतिक अधिकारहरुको अवस्था कस्तो छ ? यी कुराहरुका सन्दर्भमा बुझ्नु आजको पहिलो आवश्यकता समेत हो । महिलाहरुले जबसम्म घरायसी वा दैनिकी खाँचो टार्न श्रीमानको कोटको खल्ती छाम्ने दिन जाँदैनन् तबसम्म महिला अधिकारका कुरा गरिहनु हाँसोको विषय रही रहने छ ।
आर्थिक अधिकारसहितको अन्य अधिकार नै महिलाहरुको खास अधिकार हुन् र आन्दोलन समेत । महिलाहरुलाई घरबाट आगनमा,आगनबाट चोकमा,चोकबाट चौराहमा र चौराहबाट समाजमा ल्याउने कामहरु भए यी सबकुराहरुलाई वर्तमान महिला र नेतृत्वले व्यवस्थापन गरी संस्थागत गर्नु जरुरी देखिन्छ । यी आम महिलाहरु मध्येकी हुन् विशेष महिला दिया तिवारी । माइती गाउँमा कविता भनेर धेरैले चिन्दछन् । देवदह नगरपालिकाको वडा नम्बर १० मा पर्ने भलुही,बडेडाँडा उनको माइती गाउँ हो । माइती तर्फकी काइँली छोरी उनी घरतिरकी एक्ली बुहारी हुन् ।
आफ्नै खुट्टामा उभिएर हातमा सीप,मस्तिष्कमा ज्ञान अनि व्यवहारमा जीवन जिउने सपना बुनेर बुटवमा दिदीभिनाजुसँग आइ पुगेकी थिइन् उनी २०६७ सालमा । कोरा थिइन् । सिक्नुपर्छ तर के आफ्ैलाई केही थाहा थिएन । दिन बित्दै गए । उमेर चढ्दै गयो । त्यसपछि उनले थालिन सिक्न कम्प्यूटर । कम्प्यूटरमा वर्ड,फोटो सप,ग्राफिक डिजाइन गर्दागर्दै भिडियो इडिटिङ्ग समेत । यी सब सिकाईमा उनका नियमित अभ्यास र दिदीभिनाजूका सहयोग एवम् समर्थन मिसिएका छन् ।
स्टील क्यामेरा चलाउन सिकिन् । क्रमशः दियाले भिडियो खिच्न थालिन् ।
विहे, पूजाआजा,मेला,महोत्सव अनि विविध कार्यक्रमहरुमा समेत दियाको क्यामेराले फोटो र भिडियो खिच्न थाले धेरैका । उनको परिचय नयाँ बन्यो–क्यामेरावाली ! मान्छे हेर्दा लुरीलुरी अर्थात् होचो कदकी तर काम,सीप,जाँगर र शाहस भने परालका कुन्यू जत्रा अग्ला । उनी आफ्नो क्षमताले भ्याएसम्म पुग्नुपर्ने ठाउँ र जानुपर्ने थलोसम्म नपुगेको अवस्था हुन्थेन । बुटवलको सेरोफेरोमा दोहोरिरहने अनुहार थिइन् दिया । नछुट्ने नाम थियो दियाको । विहे, पूजा वा अन्य धार्मिक कार्यक्रमहरुमा दियालाई फोटो वा भिडियो खिच्न जाँदा कन्या भएकै कारण दक्षिणा मिल्थ्यो । माया गर्थे कर्ताहरुले पनि । हेर्दै लोभ लाग्दी उनी कम बोल्ने तर सही बोल्ने गर्थिन । भीडहरुमा उनी प्रायः एक्ली नारी हुन्थिन् । तर कहिल्यै आफूलाई कमजोर ठानिनन् । यो पेसामा थोरै महिलाहरुको सहभागिता रहेको सबैलाई थाहा भएकै विषय हो ।
क्यामेरा चलाउन उनले प्रारम्भिकदेखि एड्भान्स कोर्ष समेत गरिन् । खुव लगाव लगाएरै उनले कम्प्यूटर, स्टील क्यामेरा र भिडियो क्यामेरा चलाउन सिकेकी हुन् । यी बस्तुको सिकाई, प्रयोग र निरन्तरता भनेको व्यवहारमा देखिने कुरा हुन् । उनी सानी भएकै कारण कहिलेकाँही कुर्चीमा चढेर खिच्नु पथ्र्यो । त्यतिबेला जिस्काउनेहरुले कुर्ची हल्लाई दिने अनि लोटाइ दिन खोज्ने नगरेका पनि होइनन् । फुच्ची भएकै कारण यस्तीले पनि के खिच्ली र भनेर घोच्याउँथे रे ! यी सब अब्यवहारिक भोगाईहरुले यो पेसामा उनलाई स्पात बनायो अनि झन् धारिलो बनायो ।
फोटो सुन्दर बनाउने कला हो । अर्थात् फोटोग्राफी भनेकै कलाको पेसा हो । एउटा फोटोले लाखौं शब्दले भन्दा बढी एकैपटक सन्देश दिन सक्छ । फोटो भविष्य हो नयाँ पिंढीका लागि भने पुराना पिढीका लागि इतिहास हो । वर्तमान युवा पुस्तामा क्यामेरा रहर र फेसन भएको छ । उनी यही वर्षको माघ महिना २३ गतेदेखि दिया तिवारी ज्ञवाली भईन् । अर्थात् गुल्मी बम्घाका मधुसुदन ज्ञवालीकी जीवनसंगीनी भइन् । सधैं अर्काका फोटो र भिडियो खिच्ने उनी क्यामेराको फोकसमा आफै परिन् त्यो दिन । दिदीभिनाजूका सहयोग र आशीर्वाद लिएर आफ्नै वैवाहिक जीवनको यात्रामा लगनगाँठो कसिन् । गुल्मीको रुरुमा स्थायी घरजम गरेर ।
हिजोआज मधुसँगै अस्थायी रुपमा रुपन्देहीको मणिग्राममा नौली दुलही बनेर दिन बिताउँदै आएकी दियाले भविष्यमा यो पेसालाई आर्थिक पाटोसँग जोडेर स्वरोजगारको मूलबाटो बनाउने योजना बुनेकी छन् । श्रीमानले उनको योजनामा काँध थापेका छन् । आफ्नै खुट्टामा उभिनका लागि मात्र होइन् आफ्नो ज्ञान, सीप र क्षमतालाई दैनिक व्यवहारमा उतार्नका लागि निकट भविष्यमै स्टूडियो खोल्ने शुभ समाचार सुनाइन् । महिलाहरु साँचिक्कै पहिला हुन सक्छन् भन्ने नमूना बनेर देखाउने आफ्नो सपना रहेको समेत दियाले बताइन् ।
प्रतिक्रिया