बुटवल । विगतका वर्षका होलीमा निकै चहल पहल हुने बुटवल लगायत आसपासका क्षेत्रमा यस वर्ष भने सुनसान रहेको छ ।
होलीमा बुटवलको ट्राफिक चोक, देबिनगर लगायत अन्य स्थानमा होली विशेषका कार्यक्रम आयोजना हुने भएता पनि अहिले विश्वभरी देखिएको कोरोना भाइरसका कारण बुटवल लगायतका अन्य कुनै पनि स्थानमा औपचारीक कार्यक्रमको कुनै आयोजना गरिएको छैन् । होलीको दिन बुटवलमा बिहानैदेखि चहलपहल हुने भएता पनि अहिले बुटवल सुनसान जस्तै रहेको छ । विगतको तुलनामा अहिले होलीका टिसट, रङ पनि निकै कम बिक्री भएको बुटवलको ट्राफिक चोकमा होली समानको व्यापार राखेका व्यापारी रबि केसरीले बताए ।
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पनि होली पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै यतिखेर विश्व कोरोना भाइरस विरुद्ध लडिरहेको भन्दै यो वर्षको होली पर्व ठूला जमघटमा नभई पारिवारिक रुपमा मनाउन आग्रह गरेका छन् । ‘यतिखेर विश्व कोरोना भाइरस विरुद्ध लडिरहेको छ । नेपालमा पनि संभावित जोखिमलाई ख्याल गर्दै उच्च सर्तकता अपनाइएको छ । कोरोना भाइरसको संक्रमणको संभावित जोखिमलाई ध्यान दिदैं सरकारले सभा, सम्मेलन र ठूला जमघट नगर्न आग्रह गरेको छ । तसर्थ यो वर्षको होली पर्व ठूला जमघटमा नभई पारिवारिक रुपमा मनाऔं । सरकारले कोरोना भाइरसको संभावित जोखिम न्युनिकरण गर्न शुरु गरेको पूर्व तयारी र सर्तकता अभियानलाई सहयोग गर्दै अघि बढ्न हार्दिक अपील गर्दछु ।’ उनले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ ।
केन्द्र सरकारले पनि अहिले विश्व भरी कोरोना भाइरसको संक्रमण रहेकाले सभा, सम्मेलन र ठूला जमघट नगर्न आग्रह गरेको छ । विगतका वर्षमा पत्रकार महासंघ रुपन्देही लगायतका अन्य संघ संस्थाले आयोजना गर्ने होली मिलनका कार्यक्रम आयोजना गरेका छैन् । होलीका दिन विगतमा युवा युवतीहरु बिहानै देखि होली खेल्न सार्वजनिक ठाउँमा निस्कने भएता पनि अहिले विगतमा चहल पहल हुने त्यस्ता स्थानहरु सुनसान जस्तै रहेका छन् । कोरोना भाइरसको नागरिकमा डर र त्रासका कारणले गर्दा नै यस पटक पारिवारिक रुपमा नै होली मनाएका छन् ।
फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व हिजो हिमाली एवं पहाडी जिल्लामा मनाइएको थियो । हिमाली र पहाडी क्षेत्रमा पनि विगतको तुलनामा निकै सुनसान रहेको थियो । आज तराई क्षेत्रमा मनाउने प्रचलन रहेको छ ।
फोटोफिचर:
प्रतिक्रिया