बुटवल । रुपन्देहीको बुटवल-१६ बैठौलिया र कपरकट्टीसँग जोडिएको ताललाई ‘मिनी फेवा’ को रुपमा विकास गरिदै छ । करिब ५० वर्ष पहिलेदेखि स्थानीयले सिंचाईको मूख्य स्रोतका रुपमा परम्परागत रुपले प्रयोग गर्दै आएको बैठौलीया कपरकट्टी ताल पर्यटकका लागि आकर्षक केन्द्रका रुपमा रहेको छ । २१ विगाह क्षेत्रफलमा फैलिएको ताललाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नका लागि पञ्चवर्षीय गुरुयोजना अनुसार काम भैरहेको वडा अध्यक्ष रामप्रसाद पराजुलीले बताए । जिल्लाकै सबैभन्दा ठूलो दाबी गरिएको ताल बुटलको सेमलारदेखि बैठौलियासम्म २ किलोमिटर लामो क्षेत्रमा फैलिएको छ ।
बुटवलदेखि फर्साटिकरहुँदै जाँदा १२ किलो मिटर पश्चिममा पर्ने तथा पुर्व–पश्चिम राजमार्गको तामनगरदेखि ४ किलोमिटर दक्षिणमा अवस्थित तालमा अबदेखि डुङ्गा सयर गर्न पाइने भएको छ । दुई किलोमिटर (एकोहोरो) लामो डुङ्गा सयर गर्न पाइने यस ताललाई बुटवल उपमहानगरपालिकाले डुङ्गा उपलब्ध गराएपछि थप आकर्षण थपिएको छ । एक औपचारिक कार्यक्रमको आयोजना गरी तालमा डुङ्गाको उद्घाटन गर्दै मुख्यमन्त्री शंकर पोखरेलले समेत डुङ्गा चढेपछि खुसी व्यक्त गरेका छन् । पर्यटन विकासमा महत्वपूर्ण आयाम थप्न सक्ने तालको विकासका लागि सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाउँदै उनले थप व्यवस्थित र व्यवसायीक बनाउन सुझाब दिएका छन् । चारैतिर उर्वर र समथर जमिन, बीचमा ठुलो आकार लिएर फैलिएको ‘मिनी फेवा ताल’ आकर्षक मात्र होइन वरिपरी रहेका करिब ६ सय विगाह बढी जमिनलाई सिञ्चाई गर्ने गर्दछ । सिंचाईबाट कृषि उत्पादनमा समेत यसको महत्वपूर्ण भूमिका रहेको बताउछन् बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदी ।
ताललाई थप व्यवस्थित गर्दै नजिकै रहेको ऐतिहासिक नरैनापुर धामलाई समेत जोडेर विकास गर्ने गरी गुरुयोजना अनुसार काम भैरहेको उनले बताए । वि.स. २०५८ सालदेखि व्यवस्थित गरी सिञ्चाईको मूख्य स्रोतको रुपमा प्रयोग गरिँदै आएको तालको विकासको लागि बुटवल उपमहानगरपालिकाले गत आर्थिक वर्षमा ४० लाख रुपैयाँ रकम विनियोजन गरेको थियो । विनियोजित बजेटबाट तालको अतिक्रमित जग्गाको रेखाङ्कन तथा फिर्ता गर्ने काम गर्नुका साथै ताल सफाई र २ विगाह क्षेत्रफलमा पार्किङ स्थल निर्माण गरिएको वडा नम्बर १६ का अध्यक्ष रामप्रसाद रेग्मीले बताए । यस आर्थिक वर्षका लागि प्रदेश ५ पर्यटन, वन वातावरण तथा उद्योग मन्त्रालयले ५० लाख तथा बुटवल उपमहानगरपालिकाले विनियोजन गरेको ५० लाख रकमबाट ड्याम निर्माण, डुङ्गा स्टेशन र ताल सफाईको काम भइरहेको उनले जानकारी गराए । थारु समुदायको बाहुल्यता रहेको त्यस क्षेत्रमा व्यवस्थित ताल बन्ने भएपछि तालसँग सटेर रहेका जग्गा धनिहरुले २० फिटमा बनने फुथपाथ, बगैचा तथा रिङरोड निर्माणका जग्गा उपलब्ध गराउने भएका छन् ।
यस्तो बन्ने छ ‘मिनी फेवा ताल’
६ फिट चौडाईसहितको ४ किलोमिटर लामो फुथपाथ, त्यससँगै जोडिएको ४ फिट पराकिलो बँगैचा । बगैचासँगै जोडिएको हुने छ नाली सहितको १० फिट चौडाईको सिङ्गल लेन रिङ रोड । रिङ रोड तथा फुथपाथका विभिन्न ठाउँहरुमा पिउने बानीको व्यवस्था र बगैचामा सिञ्चाईका लागि धाराको व्यवस्था गरिने छ ।‘१०/१५ फिट गहिराई रहेको तालको बिच भागमा बराह मन्दिर र ताल वरिवरी सुरक्षाका लागि सिसि टिभी क्यामेर सहित रातमा पनि झिलिमिली देखिने गरी विजुली बत्तीको व्यवस्था हुने छ ।’–विकसित मिनी फेवातालको योजना सुनाउँदै वडा अध्यक्ष रामप्रसाद खरेलले भने ‘सुविधा सम्पन्न बोट स्टेशन, ४ विगाह क्षेत्रफलमा पार्किङ स्पोर्ट र तालका ४ स्थानमा सेल्फि जोन ।’
तालको बीच भागमा आकाशे पुलसहित पर्यटकका लागि आकर्षक जोनका रुपमा विकास गर्ने योजना रहेको उनले बताए । थप ५ विगाह जग्गा अधिग्रहण गरी तालको क्षेत्रफल वृद्धि गर्ने योजना रहेको उनले जानकारी गराए । मिनी फेवा तालको नजिकै हुने छ व्यवस्थित सिमसार ताल, जहा विभिन्न प्रजातिका चराचुरुङ्गी देख्न पाइने छ । अहिले ७/८ विगाहमा फैलिएको अर्को सानो ताललाई व्यवस्थित सिमसार बनाइने भएको हो ।
तालसँगै धाम र पिक्निक स्पोर्टको विकास
मिनी फेवातालसँग करिब करिव १ किलोमिटरको दुरीमा रहेको ऐतिहासिक नरैनापुर धामलाई थप व्यवस्थित गरिने भएको छ । हरेक वर्षको शिवरात्री पर्वमा भक्त जन तथा दर्शनार्थीको भिड लाग्ने धामलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नका लागि गुरुयोजना तथा केही योजनाहरुको डिपिआर समेत तयार गरी काम अगाडी बढेको हो । करिव १० विगाह क्षेत्रफलमा फैलिएको धाम परिसरमा शिव लिङ्ग सहितको १ सय ८ मिटर अग्लो भ्यू टावर निर्माण गर्नका लागि ३२ करोड बढीको डिपिआर तयार भैसकेको धाम व्यवस्थापन समितिका सदस्य तथा ताल विकास समितिका सल्लाहकार कमलप्रसाद ढुङ्गानाले जानकारी गराए । यसैगरी धाममा र तालको बीचमा पर्ने गरी करिव ७ विगाह क्षेत्रफलमा व्यवस्थित पिक्निक स्पोर्ट निर्माण गरिने उनले जानकारी दिए ।
प्रतिक्रिया