ताजा अपडेट »

आफ्नो किड्नीको अवस्था थाहा पाउनुहोस् (१० लक्षण र बच्ने उपायसहित)

मंगलबार, १३ फागुन २०७६, १० : ५८
745 Shares
मंगलबार, १३ फागुन २०७६
745 Shares

किड्नी मानव शरीरको निकै महत्वपूर्ण अंगमध्ये एक हो । यसले रगतलाई फिल्टर गरेर त्यसमा रहेका हानिकारक तत्वहरुलाई पिसाबको माध्यमबाट बाहिर पठाउने काम गर्छ । त्यसैले यसलाई कतिपयले मानव शरीरको फिल्टर पनि भन्छन् ।

गलत खानपान तथा औषधीको साइड इफेक्टले समेत किड्नी खराब हुन सक्छ । भारतीय (नेफ्रोलोजिष्ट) डाक्टर सञ्जय गुप्ता भन्छन्, ‘किड्नीको बिमारीको लक्ष्यण सुरुमा सहजै थाहा हुँदैन, सोही कारण यसलाई साइलेन्ट किलर पनि भन्ने चलन छ ।’ यद्यपी केही सावधानी अपनाउने हो भने समयमै किड्नी रोगको संकेत पाउन सकिन्छ । थाहा पाइराखौँ किड्नी रोगको लक्षण र यसबाट बच्ने उपाय ।

लक्षणहरु:

१. यदि तपाइँको किड्नीमा समस्या आएको छ भने साविकको भन्दा बढी पिसाब लाग्छ । पटक-पटक शौचालय धाइरहनु पर्ने समस्या हुन्छ । अझै यो समस्या रातको समयमा बढी देखिन्छ ।
२. पिसाब गर्दा दुखाई महसुस हुन्छ । कतिपय समयमा त दुखाईले पिसाब गर्नै नसक्ने पनि हुनसक्छ ।
३. पिसाबमा रगत देखिनु किड्नी रोगको सबैभन्दा खतरनाक लक्षण हो । तुरुन्तै चिकित्सकलाई देखाउनुस् ।
४. किड्नीमा समस्या देखिँदा शरीरमा जमेको पानी र अनावश्यक नुनको मात्रा बाहिर निस्किन पाउँदैन । सोही कारण शरीर सुन्निन सक्छ । यस्तो अवस्थालाई (OEDEMA) भनिन्छ ।
५. किड्नीमा खराबी आउँदा रगतमा अक्सिजनको सहज सप्लाइ हुन पाउँदैन । यसकारण एमिनिया तथा कमजोरी महसुस हुनसक्छ ।
६. किड्नीमा खराबी आएमा शरीरबाट टक्सिन्स बाहिर निस्किन पाउँदैन । जसको असर छालामा देखिनसक्छ ।
७. किड्नीको खराबीले रगतमा युरियाको मात्रा बढ्न जान्छ । जसका कारण मुखबाट गन्ध आउने समस्या बढ्न सक्छ ।
८. किड्नीले सही ढंगले काम गर्न नसक्दा रगतमा पानी र नुनको मात्रा बढ्दछ । जसका कारण ब्लड प्रेसर बढ्न थाल्छ ।
९. शरीरबाट टक्सिन्स बाहिर निस्किन नपाउँदा चक्कर लाग्ने तथा वाकवाकी लाग्ने समस्या पनि देखिन सक्छ ।
१०. शरीरमा माथिदेखि तलसम्म जोडले दुखाई महसुस हुन्छ ।

बच्ने उपाय
१. एक दिनमा कम्तिमा ४ देखि ६ गिलास पानी पिउनुस् । यसले गर्दा शरीरबाट टक्सिन्स बाहिर निस्किन्छ । जसले किड्नीलाई स्वस्थ रहन मद्दत गर्दछ ।
२. खानामा नुनको मात्रालाई कन्ट्रोल गर्नुहोस् । नुनमा सोडियम हुन्छ । जसले ब्लड प्रेसर बढाउने मात्र होइन, किड्नी खराब गर्न पनि भूमिका खेल्छ ।
३. डायबिटिज र ब्लड प्रेसर कन्ट्रोल गर्नुहोस् । यी दुवै समस्या किड्नीका लागि नोक्सानदायक छन् ।
४. ज्यादा मसलेदार खाना खाने बानी नगर्नुस् ।
५. चुरोट, रक्सी या अन्य सूर्तीजन्य पदार्थको सेवनमा कन्ट्रोल गर्नुहोस् । यस्ता पदार्थहरुले शरीरमा टक्सिन्सको मात्रा बढाउन र किड्नी खराब गर्न भूमिका खेल्छ ।
६. लामो समयसम्म पिसाब रोकेर राख्ने बानी छ भने पनि होसियार । यस्तो बानी आजैबाट हटाउनुस् । यो किड्नीका लागि निकै नोक्सानदायक छ ।
७. डाक्टरको सल्लाहबेगर कुनै औषधी नलिनुस् । लगभग सबै पेन किलर तथा एन्टिबायोटिकले किड्नीलाई नोक्सान पुर्‍याउँछ ।
८. वजनमा कन्ट्रोल गर्नुस् । दुब्ला-पातला मानिसको तुलनामा मोटा मानिसहरुमा किड्नीको समस्या हुने खतरा बढी हुन्छ ।
९. नियमित व्यायाम गर्नुहोस् । योग तथा यस्तै अन्य व्यायामले शरीरमा रक्तरञ्चार प्रक्रिया नियमित हुन सहयोग पुग्छ । यो किड्नीका लागि पनि लाभदायक छ ।
१०. नियमित स्वास्थ्य चेकजाँच गराउनुस् । आफ्ना बाबुआमा तथा रगतको नाता रहेका नजिकका आफन्तमा ब्लड प्रेसर तथा डाइबिटिजको समस्या छ भने तपाई पनि होसियार रहनुस् ।-साझापोष्ट

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।