ताजा अपडेट »

मकै पौल्ने, सालको पात विक्री गर्ने तथा ई-रिक्सा चलाउने श्रमिकलाई बुटवलमा नगदसहित सम्मान

बुधबार, १७ बैशाख २०८२, १७ : ५४
264 Shares
बुधबार, १७ बैशाख २०८२
264 Shares

बुटवल । अन्तर्राष्ट्रिय श्रमिक दिवसको पुर्वसन्ध्यामा बुटवल उपमहानगरपालिकाले बुटवलमा सालको पात बेच्ने,मकै पोल्ने तथा ईरिक्सा चलाउने महिलाहरूलाई नगदसहित सम्मान गरेको छ ।

बुधबार बुटवल उपमहानगरपालिकाले एक कार्यक्रमकाबीच बुटवलमा सालको पात बेच्ने १० जना,पोल्ने १० जना र ईरिक्सा चलाउने १० जना गरी ३० जना महिलाहरूलाई जनही १० हजारका दरले सम्मान गरेको हो । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले चर्को घाम,चिसो र दिनरात नभनी जोखिमसहितको श्रम गर्ने श्रमिकको सम्मान गर्ने उद्देश्यले बुटवल उपमहानगरपालिकाले गतबर्षदेखि सम्मान गर्न थालेको बताए ।

श्रमको सम्मान गर्ने परिपाटीको विकास नहुँदा मुलुकमा बेथिति बढेको भन्दै नगर प्रमुख पाण्डेयले श्रमिकहरूलाई कुराले नभएर बास्तविक रूपमै श्रमको सम्मान गर्ने उद्देश्यले बुटवल उपमहानगरपालिकाले पात बेच्ने,मकै पोल्ने र ईरिक्सा चलाउने महिलाहरूलाई नगदसहित सम्मान गर्न सुरु गरेको उल्लेख गरे । बुटवल उपमहानगरपालिका श्रमिकको पक्षमा,काम गरेर खानेहरूको पक्षमा र कृषकको पक्षमा रहेको भन्दै उनले उपमहानगरपालिकाले सीप सिकेर स्वरोजगार बन्न चाहने नगरवासीहरूलाई बिभिन्न किसिमका सीपमूलक तालिमहरू समेत प्रदान गर्दै आइरहेको जानकारी गराए ।

samman2

बुटवल उपमहानगरपालिकाले सुनचाँदीका गहना बनाउने तालिम, पञ्चेबाजा बजाउने तालिम, जुत्ता चप्पल बनाउने तालिम, श्रृङ्गार सम्बन्धि तालिमलगायतका तालिम दिनुका साथै ब्यवसायीक कृषि तथा पशुपालनबाट आयआर्जन बृद्वि गर्ने उदेद्श्यले मकै पकेक्षेत्र, प्याज पकेट क्षेत्र तथा भैसीको पाडी बितरण लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको नगर प्रमुख पाण्डेयले बताए । उनले श्रम गरेर पनि बालबालिकालाई पढाउन नसकेका श्रमिकका बालबालिकाको पठनपाठनको जिम्मा बुटवल उपमहानगरपालिकाले लिने प्रतिवद्धता ब्यक्त गरे ।

उपप्रमुख सावित्रादेवी अर्यालले स्थानीय सरकार श्रमिक वर्गको साथमा छ भन्ने अनुभुति गराउन बुटवल उपमहानगरपालिकाले गतवर्षदेखि मकै पोल्ने, पात बेच्ने र ई रिक्सा चलाउने महिलाहरूलाई नगदसहित सम्मान गर्न सुरु गरेको भन्दै आगामी दिनमा गिट्टी कुट्ने श्रमिकहरूलाई पनि समेट्ने प्रयास गर्ने प्रतिवद्धता जनाइन् । यस्तो कार्य अन्य पालिकाहरूले पनि गर्न जरुरी रहेको भन्दै उनले श्रमको सम्मान गर्ने परिपाटीको विकास भए मात्रै मुलुक समृद्ध बन्ने धारणा राखिन् । जनताको नजिकको सरकार भनेकै स्थानीय सरकार भएको बताउँदै उपप्रमुख अर्यालले स्थानीय सरकारले सानातिना कुरामा पनि ध्यान दिनुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा ईरिक्सा ब्यवसायी सिताराम महतोले बुटवल उपमहानगरपालिकाले सडकमा मकै पोलेर जिविकोपार्जन गर्ने, जंगलबाट पात टिपेर ल्याई बजारमा बिक्रीवितरण गर्ने तथा ईरिक्सा चलाउने महिला श्रमिकहरूलाई नगदसहित सम्मान गर्नु खुसीको कुरा भएको भन्दै यस्ताखाले कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए । असंगठित क्षेत्रमा कार्यरत महिला श्रमिकहरूलाई सम्मान गरेकोमा सम्मानित महिलाहरूले खुसी ब्यक्त गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।