समृद्धिको आधार निर्माणमा पर्यटनले विशेष भूमिका खेलेको हुन्छ । यतिबेला ग्रामीण विकासको मेरुदण्ड नै पर्यटन बनेको छ । गाउँका मानिसहरु सहरतिर ताकिए । सहरका मानिसहरु प्रदेश र केन्द्रका राजधानीतिर बसाइँ सरिरहेका छन् । गाउँमा बिजुली पुग्यो । धारा पुग्यो । स्वास्थ्यचौकी छ । विद्यालयहरु छन् । सञ्चारका सबै साधनहरु पुगेकै छन् । कतै पक्की, कतै कच्ची,कतै ग्राभेल अनि कतै गाउँ छुने ट्रयाक खुलेकै छन् ।
तरपनि गाउँ रित्तिने खेलो बन्द भएको छैन । सामुदायिक वनमा झाँडीले साम्राज्य जमाएकै छ । बाँदरको आतङ्क सबैलाई थाहा भएकै विषय हो । दुम्सी, बँदेलले बचेखुचेका किसानका खेतबारी उधिनेर डोजरलाई चुनौती दिएका छन् । उत्पादनमाथि राइँझ्यालो मच्चाएकै छ । किसानहरुले खेतीपाती लगाउने तर वन्यजन्तुहरुले निःशुल्क सेवन र सुविधा लिने कामले उनीहरु आजित छन् ।
तैपनि यतिबेला सहरमुखी मानिसहरु गाउँमुखी पर्यटनका लागि भित्रिएका छन् । पहाडका गाउँ हुन् वा तराइएका गाउँहरुमा आन्तरिक एवम् बाह्य पर्यटकहरुको घुइँचो लागेको देखिन्छ । गाउँका रहनसहन, रीतिथिति, कला, संस्कार, संस्कृति, सभ्यता बुझ्नमात्र होइन, पहाडका टाकुराबाट एकैपटक हिमालका चुचुराहरु र तराईका फाँटहरु दृश्यपान गर्न पाइन्छन् । गाउँका समस्याहरु र समाधानका बाटाहरु अध्ययन गर्न त्यतै पुगेका छन् । ग्रामीण जनजीवन र एकताका कथा बुझ्न यतिबेला ग्रामीण पर्यटन रामबाण सावित हुँदैछ ।
गाउँमा पुग्दा हार्दिकता छ । मनोरम वातावरण छ । मिलनसार समाजको मिठासपूर्ण स्वागत छ । गाउँमा खुलेका होमस्टेहरुले आकर्षित गरिरहेका छन् । पाहुनालाई गुन्द्रीमा बसालेका छन् । आफ्ना रैथाने उत्पादन चखाएका छन् । कोदो, फापरका रोटीसँग स्थानीय चटनी चखाएका छन् । गाउँले आफैले उत्पादन गरेका मौवा, चामल, कोदो, चुत्रो र काफलका रक्सी(अर्नि) पाहुर बनाएर पाहुनाहरुलाई खुवाएका छन् । जिभ्रोमा झुण्डिने गाउँले परिकार सेवन गराएका छन् । गाउँको उत्पादन गाउँमै खपत भएका छन् । रैथाने उत्पादन, लोकल कुखुरासँग च्याट्ट चखाएका छन् । आँटो, ढिडो, भात, रोटी जे इच्छा गर्छन् पाहुनाहरुले सोही बमोजिम खुवाएका छन् ।
गाउँघरका टिपिकल सांस्कृतिक कार्यक्रमद्वारा पाहुनाहरुलाई भरपूर मनोरञ्जन दिल्याएका छन् । तराईतिर लाठीनाँच,सखिया,झुमडाले मनोरञ्जन दिने गरेका छन् भने पहाडतिर झ्याउँरे, सोरठी, ठूलोनाँच, कडुवा, सालैजो, टप्पा र घाँटु नाँचलगायतले आन्तरिक एवम् बाह्य पर्यटकहरु झुमेका छन् । दुःख बिसाउने चौपारी बनाएका छन् सांस्कृतिक कार्यक्रमलाई । आफ्नै नीति, नियम बनाएका छन् । सरकारले सहजीकरण गरिदिएको होमस्टे कार्यविधिलाई कायम राखेका छन् । पालना गरेका छन् । अनुशासन, सुरक्षा र सम्बन्धलाई स्थायी बनाउन कम्मर कसेर होमस्टे सञ्चालकहरु गतिशील भएका छन् ।
ग्रामीण पर्यटनका लागि गाउँठाउँमा प्राकृतिक चीजहरु नै काफी भएपनि कृत्रिम चीजहरुले समेत आकर्षण थपिरहेका छन् । मन्दिर बनेका छन् । गार्डेनहरु बनेका छन् । पिङ बनाइएका छन् । ढुंगाले बाटो छापिएका छन् । कुँडुले घरहरुले पर्यटकका मन खिचिरहेका छन् । कतै चौपारी बनाइएका छन् । कतै वन्यजन्तुका आकृति कोरिएका छन् । गाउँघरमा कराउने चराचुरुङ्गीका मधुरस्वरहरुले मनै प्रफुल्ल बनाएकै छन् । वन्यजन्तु हेर्नेहरुको लर्को देखिन्छन् जंगलसफारीमार्फत तराईमा ।
गाउँमा पर्यटकहरु पुग्दा उनीहरुका सिंगो शरीरमात्र पुगेका छैनन् बरु पुगेका छन् पर्यटकका ज्ञान, सीप र व्यवहारहरु समेत । उनीहरुका ज्ञान,सीप र व्यवहारले ग्रामीण भेगका जनताहरुलाई अनेक फाइदा पुगेका छन् । एउटा कृषिविज्ञ पर्यटक गाउँमा पुग्दा खेतीकिसानी, बीउविजनका कुरा सिकाउँछ । पशुसम्बन्धी जानकार पर्यटक पुगेको गाउँठाउँको अवस्था अध्ययन गरी कुन पशु पाल्दा फाइदा हुने छ सिकाउने छ । एकजना डाक्टर पुगेमा गाउँलेहरुको रोग थाहा पाउने छ र स्वाथ्यसम्बन्धी शिक्षा र रोगबाट बच्ने उपायहरु सिकाउने छ । त्यसैले ग्रामीण पर्यटनका लागि सबैसँग हातेमालो आवश्यक देखिन्छ ।
आन्तरिक एवम् बाह्य पर्यटकहरुले गाउँमा सञ्चालित होमस्टेहरुमा बसेवापत, खाएवापत अनि सांस्कृतिक कार्यक्रममा सहभागी भएवापत नगद आम्दानी प्राप्त गर्नेछन् । जसले गर्दा उनीहरुको आर्थिक उपार्जन हुने छ । गाउँका कुखुरा गाउँमै खपत हुनेछ । गाउँको रक्सी गाउँमै बिक्री हुनेछ । गाउँको अन्नपात गाउँकै होमस्टेमा सदुपयोग हुनेछ । ग्रामीण पर्यटनले स्वरोजगार एवम् रोजगारको अवस्था सिर्जना गर्नेछ । गाउँमै बसेर हरिया नोट समाएर खुसी मन साट्न पाउने छन् । प्राप्त रकमबाट घरखर्च टर्नेछ । औषधोपचार हुनेछ । सन्तानका शिक्षादीक्षामा लगानी सम्भव छ । आफ्नो वृत्तिविकासमात्र होइन,भौतिक एवम् आर्थिक विकासमा टेवा पुग्नेछ । ग्रामीण अर्थतन्त्रलाई समृद्ध तुल्याउने छ ।
देशमा यस्तै कमजोर अर्थतन्त्र रहिरह्यो भने सहर पसेकाहरु गाउँ फर्किने छन् । माटोको सुगन्ध लिने छन् उत्पादनसँगै । उत्पादकत्व बढाउने खेलोमा लाग्नेछन् । गाउँको माटोले माया पाउने छ । चुहिएका घरहरुले टिनका छानो फेर्नेछन् । भत्किएका आँगनहरु लिपिने छन्,पोतिनेछन् । गाउँको मुहार फेरिनेछन् । गाउँको माया, गाउँमै रम्ने छ । जम्ने छ । गोठमा र ओंठमा खुसीको वहार आउने छन् । गाउँमा पुग्ने पर्यटकहरुले मोहीसँग मकै खानेछन् । आँटो वा ढिंडोसँग दही र घ्यू खानेछन् । गुन्द्रुक खाँदै गन्थन गर्नेछन् । टिम्बुरको अचार खाँदै जिभ्रो फड्कार्ने छन् ।
बारीका डीलहरुमा अम्रिसो झुल्ने छन् । पाखाभरि फूलहरु फुल्नेछन् । खेतका आलीहरुमा भटमास, सिल्टुङ्ग र मासहरु झुल्नेछन् । आउने पाहुनाहरुलाई फर्किदा अम्रिसोको कूचो दिइने छ । हरिया नोटसँगै । फूलका माला लगाएर स्वागत र विदा गरिनेछन् । मास, भटमास, बेसार, अदुवा, केरा र तरकारी बेचेर पाहुनाहरुलाई मनग्यै आम्दानी बढाउन सकिने छ । बेमौसी तरकारीले गाउँलेहरुको आम्दानीमा बढवा दिने छ । किवी, आँप, कटहरलगायतका खेतीले किसानहरुलाई पैसा कमाउने मेसो दिनेछ । पर्यटकहरुसमेत अर्गानिक बस्तु खरिदपछि पुलकित हुनेछन् ।
गाउँको मुहार फेर्न ग्रामीण पर्यटन अमृत बराबर छ । गाउँमा खासै ठूलो कुरा चाहिएको छैन । चाहिएको छ त केवल निरन्तर पर्यटकहरुको आगमन । जसबाट आर्थिकलाभ प्राप्त भइरहोस् । सांस्कृतिक कार्यक्रममार्फत संस्कृतिको जगेर्ना भइरहोस् । रैथाने उत्पादनको खपत र बजारीकरण नै स्थानीय होमस्टे हुन सक्नेछन् । जसले गाउँलेहरुका ओठमा मुस्कान छरिरहोस् । खसी खाइनेछन् । बोकालाई बोकेर सहर लैजान पर्नेछैन । कुखुरा गाउँकै होमस्टेका कराहीमा बास्ने छन् ।
गाउँमा लगाइने मेला,महोत्सवले गाउँलेहरुसँग पर्यटकलाई जोड्ने छ । संस्कृतिको लेनदेन हुनेछ । संस्कार र सभ्यताको आदानप्रदान हुनेछ । स्थानीय उत्पादनले बजार पाउने छ । सांस्कृतिक कार्यक्रममार्फत केन्द्रीय कलाकारहरु गाउँसम्म आइपुग्नेछन् । उनीहरुसँग चिनजान र भेटघाट हुने अवसर जुर्नेछ । विकासका खाका कोर्ने योजनाविद्, नेता, शुभचिन्तक र ठूलोमात्रामा पर्यटकहरु समेत गाउँमा आइपुग्दा ग्रामीण अर्थतन्त्रलाई फराकिलो बनाउन सम्भव हुनेछ । यो नै ग्रामीण अर्थतन्त्रको समृद्ध आधार हुन सक्नेछ ।
सिरुबारी, घलेगाउँ,अमलटारी, डल्ला, जल्पाको ढोलीमारा र भरखरै सुरु भएको रम्भाको रानीबास होमस्टेले ग्रामीण पर्यटनलाई पक्कै टेवा पुराउँदैछ । नेचरगाइड तयार गरी ग्रामीण पर्यटन प्रवद्र्धनमा लगाउन सकिएमा उत्तम हुनेछ । यतिबेला ग्रामीण पर्यटनमार्फत गाउँफर्क अभियान सम्भव देखिन थालेको छ । ग्रामीण पर्यटन नै समृद्धिको आधार बन्दैछ ।
प्रतिक्रिया