ताजा अपडेट »

अध्यक्ष लिङ्देनको अभिव्यक्ति भ्रामक भएको भन्दै कांग्रेसद्वारा भर्त्सना

आइतबार, १४ बैशाख २०८२, १८ : ३०
52 Shares
आइतबार, १४ बैशाख २०८२
52 Shares

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कोटेश्वरस्थित भाटभटेनीमा भएको तोडफोड र लुटपाटमा कांग्रेसका एक सहमहामन्त्रीका छोरासमेत संलग्न भएको अभिव्यक्ति प्रति ध्यानाकर्षण भएको जनाएको छ ।

कांग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले आज विज्ञप्तिमार्फत कांग्रेसका एक सहमहामन्त्रीका छोरासमेत संलग्न भएको, प्रहरीद्वारा समातिएको र गृहमन्त्रीको आदेशले उनको रिहाइ गरिएको भनी अध्यक्ष लिङ्देनले दिएको अभिव्यक्ति भ्रमपूर्ण रहेको भन्दै भर्त्सना र निन्दा गरेको छ । कांग्रेसले राप्रपाका कार्यकर्ताहरुले गरेका अवाञ्छित क्रियाकलाप र लुटपाटको ढाकछोप गर्ने उद्देश्यले सो अवाञ्छित कार्यको दोष एक जिम्मेवार र सभ्य नागरिक माथि लगाएको भन्दै निन्दा गरेको छ ।

यही वैशाख १२ गते राप्रपा अध्यक्ष लिङ्देनले संसद्मा आफ्नो मन्तव्यका क्रममा सो अभिव्यक्ति दिएका थिए । एउटा राजनीतिक पार्टीका अध्यक्षकोतर्फबाट संसद्मा आधारहीन कुरा प्रस्तुत गर्नुभन्दा पनि आफ्ना नेता, कार्यकर्ता तथा समर्थकलाई अनुशासित र जिम्मेवार बनाउनतर्फ विशेष ध्यान दिन विभागका प्रमुख मीनबहादुर विश्वकर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसले अध्यक्ष लिङ्देनलाई राजनीतिक अभिष्ट पूरा गर्न अर्काको प्रतिष्ठा तथा सामाजिक मर्यादाप्रति संवेदनशील भई आफ्नो पद र संसद्समेतको गरिमालाई ध्यानमा राख्न आग्रह गरेको छ । साथै त्यस्ता कपोलकल्पित र भ्रामक कुराबाट सचेत रहनसमेत कांग्रेसले सबैलाई आग्रह गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।