ताजा अपडेट »

राप्रपा उपाध्यक्ष रविन्द्र मिश्रलाई म्याद थपका लागि अदालत पेस गरिँदै

आइतबार, १४ बैशाख २०८२, १२ : ०९
50 Shares
आइतबार, १४ बैशाख २०८२
50 Shares

काठमाडौं । चैत १५ गते राजावादी समूहले गरेको प्रदर्शनलाई भड्काएको आरोपमा पक्राउ परेका राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्रलाई आज अदालतमा उपस्थित गराइँदै छ । यसअघि गरिएको ३ दिनको म्याद थप सकिएसँगै आइतबार दिउँसो काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराउन लागिएको हो ।

यसैबिच मिश्रले आफूलाई भेट्न जाने पार्टीका नेताहरूलाई निर्णायक आन्दोलन गर्नु पर्ने बताउने गरेका छन् । राजावादी पार्टी राप्रपाका एक नेताले पछिल्लो दिन प्रहरी परिसरमा भेट्न पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई समेत मिश्रले यही सुझाव दिएको जानकारी दिए । ‘राप्रपाका लागि माहौल एकदमै अनुकूल छ । यो माहौल सधैँ नरहन सक्छ, अहिले नगरे कहिले ?’ वरिष्ठ उपाध्यक्ष मिश्रको भनाइ उद्धृत गर्दै राप्रपाका ती नेताले भने ।

‘नेताहरू निजी स्वार्थमा रुमल्लिन हुन्न । कमसेकम भावी सन्तति र पार्टीका लाखौँ युवाहरूको भविष्यका लागि नेतृत्व जिम्मेवार भएर आन्दोलनमा होमिनु बाहेक अरू विकल्प छैन,’ मिश्रले लिङ्देनलाई भने । अध्यक्ष लिङ्देनलाई जस्तै पार्टीका अरू नेता समक्ष पनि मिश्रले यही विचार राख्ने गरेका छन् । 

केन्द्रीय सदस्य रञ्जन कार्कीका अनुसार, मिश्र बाहिर भएका घटनाक्रम बारे अपडेट छन् । उनले हिरासतमा भेट्न आउन राप्रपाका नेता, कार्यकर्ता र राष्ट्रवादी धारका अभियन्ताहरुलाई उर्जा थप्ने र यथार्थपरक सुझावहरु दिने गरेका छन् । ‘विहान उठेर दुई घण्टा कसरत गर्छु । त्यसपछि दिनको पत्रपत्रिका सबै पढ्छु । कविता लेख्छु । खानपिनको कुनै समस्या छैन । खाली समय आराम गर्छु, कुनै कुनै बेला निदाइ पनि हाल्छु । साथीहरु नियमित भेट्न आउनु हुन्छ, भेटघाट हुन्छ, गर्छु । बस्ने, खाने कुनै समस्या छैन, कोठाको सुविधा राम्रो छ, आराम छ,’ मिश्रको भनाइ उद्धृत गर्दै कार्कीले भने ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।