ताजा अपडेट »

तिलोत्तमा नगर इन्टर्नसिप : युवाहरुलाई स्थानीय तह र प्रशासन बुझ्ने अवसर

आइतबार, १४ बैशाख २०८२, ०८ : ५७
154 Shares
आइतबार, १४ बैशाख २०८२
154 Shares

रवि सेन्चुरी 

वर्तमान समयमा युवालाई  देश विकास र समृद्धिको मेरुदण्ड मानिन्छन् । उनीहरूको ऊर्जा, सिर्जनशीलता र नवीन सोचले नै समाज र राष्ट्रलाई नयाँ दिशा प्रदान गर्न सक्छ । यही सन्दर्भमा, तिलोत्तमा  नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रम मार्फत युवा लक्षित 'नगर इन्टर्नसीप' को व्यवस्था गरेको छ । जहाँ तिलोत्तमा नगरपालिकाका १८ देखि ३५ वर्ष र महिलाको हकमा ४० वर्ष उमेर समुहका युवाले आवेदन दिन सक्छन । त्यसबाट छनौट भएका २० जनालाई १७ वडा र नगरपालिकामा  ३ महिनाको लागी इन्टर्नसिपका लागि खटाइन्छ । खटिएका इन्टर्नले वडा सचिप र शाखा प्रमुखको सहयोगमा सम्बन्धित क्षेत्रमा काम सिक्ने र त्यस कामको  प्रक्रिया बुझ्ने अवसर प्राप्त गर्छन ।

तिलोत्तमा नगरपालिका का प्रशासकीय प्रमुख नारायण अर्यालका अनुसार यस कार्यक्रम मार्फत तिलोत्तमाका युवायुवतीहरूलाई स्थानीय तह बुझ्न, प्रशासनिक प्रक्रिया बुझ्न, उनीहरुको  क्षमता विकास गर्न, व्यावहारिक ज्ञान प्राप्त गर्दै भविष्यमा प्रशासन क्षेत्र तिर लाग्न प्रेरणा मिल्नेछ । स्थानीय तहलाई  नेपालको संविधान २०७२ ले प्रदान गरेको विकेन्द्रीकृत शासन प्रणालीअन्तर्गत एकल र सयुक्त अधिकार प्रदान गरेको छ । स्थानि तहले आफ्नो नीति निर्माण एवम् कार्यक्रम मार्फत कार्यान्वन गर्न सक्छ । स्थानीय  तहले जनताको नजिकबाट सेवा प्रदान गर्ने र स्थानीय आवश्यकता अनुसार नीति निर्माण गर्ने जिम्मेवारी बोक्ने भएकाले पनि सिकाइक दृष्टि महत्वपूर्ण रहेको छ ।
 
तिलोत्तमा ‘नगर इन्टर्नसीप’ मार्फत सहभागीको व्यक्तिगत र सामाजिक विकासका लागि एक प्रभावकारी वातावरण  निर्माण गरि युवाहरुलाई प्रशासनिक  क्षेत्रमा प्रयोगात्मक सहभागी गराई नगरपालिकामा  सकारात्मक संदेश प्रवाह गर्न चाहन्छ । तिलोत्तमा  ‘नगर इन्टर्नसिप’ को महत्व निम्न रहेको छ ।

१. व्यावहारिक ज्ञान र सीप विकास
युवाहरुले शैक्षिक संस्थाहरूबाट  सैद्धान्तिक ज्ञान सिक्ने गर्छन तर  व्यावहारिक ज्ञान र वास्तविक जीवनका चुनौतीहरूको सामना गर्न विभिन्न इन्टर्नसीपले महत्वपूर्ण भूमिका खेल्ने गर्छ । तिलोत्तमाको नगर इन्टर्नसिपाले सहभागीहरूलाई स्थानीय शासन प्रणाली, नीति निर्माण प्रक्रिया, बजेट व्यवस्थापन, सेवा प्रवाह र समुदायसँगको अन्तरक्रियाको प्रत्यक्ष अनुभव प्रदान गर्छ । उदाहरणका लागि, स्थानीय तहमा इन्टर्नसीप गर्ने युवाले कसरी वडा कार्यालयले जनताका गुनासा सम्बोधन गर्छ, कसरी विकास योजनाहरू बनाइन्छ र कसरी बजेट कार्यान्वयन गरिन्छ भन्ने कुरा नजिकबाट बुझ्न सक्छन् ।

यो अनुभवले उनीहरूको सीप विकासमा ठूलो योगदान पुर्याउँछ । उनीहरूले समय व्यवस्थापन, टोलीमा काम गर्ने क्षमता, नेतृत्व कौशल र समस्या समाधान गर्ने कला सिक्छन्। यस्ता सीपहरू भविष्यमा कुनै पनि क्षेत्रमा काम गर्नका लागि आधारभूत र आवश्यक हुन्छन् । साथै, इन्टर्नसिपले उनीहरूलाई स्थानीय तहका कर्मचारी र सामाजिक व्यक्तिहरु सँग सम्बन्ध विस्तार  गर्ने अवसर पनि प्रदान गर्छ, जसले उनीहरूको क्यारियर निर्माणमा महत्वपूर्ण हुन् सक्छ ।

२. स्थानीय शासन प्रणालीको बुझ्ने अवसर 
नेपालको सङ्घीय संरचनाले स्थानीय तहलाई विकासको केन्द्रबिन्दु बनाएको छ। स्थानीय तहहरूले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकास र सामाजिक कल्याणका क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेल्छन्। यस्तो अवस्थामा, नगर इन्टर्नसीपले सहभागीहरूलाई स्थानीय शासन प्रणालीको गहिरोज्ञान प्रदान गर्छ। उनीहरूले स्थानीय तहको कार्य सञ्चालन, नीति निर्माण र जनसहभागिताको प्रक्रियालाई प्रत्यक्ष रूपमा अवलोकन गर्न र त्यसमा योगदान दिन सक्छन्।

उदाहरणका लागि, एक इन्टर्नले स्थानीय तहको योजना तर्जुमा प्रक्रियामा सहभागी भएर समुदायको आवश्यकता पहिचान गर्ने, प्राथमिकता निर्धारण गर्ने र बजेट विनियोजन गर्ने तरिका सिक्न सक्छ। यो अनुभवले उनीहरूलाई भविष्यमा स्थानीय शासनमा नेतृत्वदायी भूमिका का लागि क्षामतावन बन्न मद्दत गर्छ । साथै, यो प्रक्रियाले उनीहरूमा लोकतान्त्रिक मूल्य र मान्यताप्रति सम्मान र जिम्मेवारीको भावना पनि जागृत गराउछ ।

३. सामाजिक उत्तरदायित्व र समुदायसँगको सम्बन्ध
नगर इन्टर्नसीपले युवायुवतीहरूलाई आफ्नो समुदायसँग जोडिन र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न प्रेरित गर्छ । स्थानीय तहमा काम गर्दा उनीहरूले समुदायका वास्तविक समस्याहरू, जस्तै गरिबी, बेरोजगारी, शिक्षा र स्वास्थ्य सेवाको अभाव, नजिकबाट देख्न र बुझ्न पाउँछन्। यस्ता समस्याहरूको समाधानमा सहयोग गर्न उनीहरूले आफ्नो ज्ञान र सीप प्रयोग गर्न सक्छन् । जस्तै,  सहभागीले ले स्थानीय तहमा सञ्चालित सामुदायिक विकास कार्यक्रममा सहभागी भएर समुदायका सदस्यहरूसँग अन्तरक्रिया गर्न सक्छ। यसले उनीहरूमा सामाजिक संवेदनशीलता र समुदायप्रति जिम्मेवारीको भावना विकास गर्न सक्छन । साथै, यो अनुभवले उनीहरूलाई समुदायका सांस्कृतिक, आर्थिक र सामाजिक विविधताबारे बुझ्नका निम्ति अवसर प्राप्त गर्छन, जसले उनीहरूको विश्वदृष्टिकोणलाई फराकिलो बनाउँछ ।

४. रोजगारीका अवसर र क्यारियर विकास
स्थानीय तहमा यस नगर इन्टर्नसीपले युवायुवतीहरूलाई रोजगारीका अवसरहरू सिर्जना गर्न पनि सहयोग गर्छ। इन्टर्नसीपको अवधिमा उनीहरूले प्राप्त गरेको अनुभव र सीपले उनीहरूको सिभिलाई बलियो बनाउँण मद्दत गर्छ । साथै, स्थानीय तहमा काम गर्ने क्रममा उनीहरूले विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूसँग सम्पर्क स्थापित गर्न सक्छन्, जसले भविष्यमा रोजगारीका ढोका खोल्न सक्छ ।
नेपालमा स्थानीय तहहरूले विभिन्न विकास परियोजनाहरू सञ्चालन गर्छन्, जसमा प्राविधिक, सामाजिक र प्रशासनिक क्षेत्रमा जनशक्तिको आवश्यकता पर्छ । इन्टर्नशिपले युवायुवतीहरूलाई यस्ता क्षेत्रमा आफूलाई प्रमाणित गर्ने अवसर दिन्छ ।

५. आत्मविश्वास र व्यक्तिगत विकास
यस नगर इन्टर्नसीपले युवायुवतीहरूको आत्मविश्वास र व्यक्तिगत विकासमा ठूलो योगदान पुर्‍याउँछ। स्थानीय तहमा काम गर्ने क्रममा उनीहरूले विभिन्न चुनौतीहरूको सामना गर्छन्, जस्तै जनताका गुनासा सुन्ने, जटिल परियोजनाहरूमा काम गर्ने र समयसीमाभित्र काम सम्पन्न गर्ने। यी अनुभवहरूले उनीहरूको आत्मविश्वास बढाउँछ र उनीहरूलाई कठिन परिस्थितिमा पनि सकारात्मक रूपमा अगाडि बढ्न प्रेरित गर्छ।

साथै, इन्टर्नशिपले उनीहरूको सञ्चार कौशल, विश्लेषणात्मक क्षमता र निर्णय लिने क्षमता पनि विकास गर्छ। यी गुणहरू व्यक्तिगत र व्यावसायिक जीवन दुवैमा महत्त्वपूर्ण हुन्छन्।

यी विभिन्न क्षेत्रमा युवाहरुको क्षामता र नेतृत्व विकासका निम्ति तिलोत्तमा नगरपालिकाले ‘नगर इन्टर्नसीप कार्यक्रम आफ्नो नीति तथा कार्यक्रम समावेश गरि कार्यान्वन गर्दैछ । उक्त अवसरलाई युवाहरुले प्रतिस्पर्धा गरि लाभ लिन जरुरि छ । (लेखक तिलोत्तमा नगरपालिकाको सामाजिक विकास समिति संयोजक हुन्)
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।