पुरुषोत्तम पाण्डेय
आफूलाई जन्मदिने स्त्री हुन्, आमा । माता र जननीका नामले पुकारिने जन्मदाता हुन् आमा । पूर्वीय वैदिक वाङ्मयमा ‘मातृ देवो भवः’ को संस्कार छ । वैशाख कृष्ण पक्षको औँसी (मातातीर्थ औँसी) मा आमाको मुख हेर्ने चलन छ नेपाली समाजमा । मातातीर्थ औँसीमा आमाका तस्बिरले मुहार पुस्तिका रङ्गिन्छन् । बिर्सिएर फेरि सम्झिएका सम्बन्धहरू पनि बलवान् देखिन्छन् तस्बिर र शब्दमा ।
हामी मातृत्वको सम्मान, ममताको महिमागान र वात्सल्यको गुणगानमा अभ्यस्त छौँ । ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ र ‘कपुत्रो जायेत क्वचिदपि कुमाता न भवति’ को पाठ कण्ठै छ हामीलाई । शाब्दिक हिसाबले दया, करुणा, ममता, बात्सल्य, माया र निःस्वार्थ प्रेमको गहिराइमा भेटिन्छिन् आमा । पुस्तकका पाना र लबजमा साक्षात् भगवान् बन्छिन् आमा । आमा, के तिमी सन्तानको मनमस्तिष्कमा विराजमान छौ त ? आमाका लागि सन्तान सर्वस्व हो । सन्तानका लागि आमा जन्मदाता, बाल्यकालकी सारथि, जीवनद्रष्टा र भविष्यद्रष्टा हुन् । न्यानोपनको आभाष र जिन्दगीको सुवास हुन् आमा । जीवनको पहिलो गुरु, पहिलो पुस्तक, ज्ञानको आधारशीला र मार्गदर्शक हुन् आमा । प्रसव पीडाभित्र सन्तानको रुवाइले अनुहारमा खुसीको रङ भरिने आमाले सन्तानको आँखामा कहिल्यै आँसुको कल्पना पनि गर्न सक्दिनन् ।
सन्तानको खुसीमा आफ्नो पीडा भुल्ने आमा ! साक्षात् भगवान् हुन् । कतै मातातीर्थ औँसीका नाममा आमाको महिमा र महत्ता सङ्कुचित हुँदै त छैन ? मिठाई, कपडा र अन्य उपहारमा रम्दिनन्, आमा । सुख, सुविधा र भौतिक सुविधाले सन्तान भुल्दिनन्, आमा । सन्तानको सफलतालाई आमाले आफ्नो जीवनको सार्थकता ठान्छिन् । आमा तिमी महान् छ्यौ । अँध्यारोमा उज्यालोको आभास दिने आमा । जीवनमा उभिन सिकाउने आधार हुन् आमा । चोटको मलम हुन् आमा । भोक र प्यासको समाधान हुन् आमा । आँसुको आहालमा पसिनाको पर्खालले जिउ अड्याएर सन्तानको भविष्य खोज्ने मेरी आमा आँसु लुकाउँछिन पीडा लुकाउँछिन सन्तानको प्रगतिका लागि जीवनको अमूल्य खुसी त्याग्छिन्, अनेकौँ कष्टकर राप, ताप र सन्ताप भोग्छिन् ।
सन्तानको पेट भरियो, आमाको भोक हरायो । सन्तान निरोगी भए आमाले आफ्नो रोग बिर्सिन् । सन्तानको अनुहारमा खुसी झल्कियो, आमाको शोक हरायो । आमा तिमी महान् छौँ । तर म तिमीलाई तस्बिरलाई जस्तो हेर्न र मूर्तिलाई जस्तो पुज्न चाहन्नँ ।
सन्तान मस्तसँग निदायो, आमाले निदाएको नाटक गरिन् र उसैका लागि काममा लागि परिन् । सन्तान बिरामी प¥यो आमा अनिँदो भइन् तर कहिल्यै निद्राले झुलिनन् । आफ्नो बात्सल्य भुलिनन् । आमा, तिमीसँग कस्तो दिव्य शक्ति छ हँ ? तर आमा, अरुले जे भन्ने भनून् । म तिमीलाई मन्दिरका देवीदेउतालाई जस्तो मान्दै मान्दिनँ ।
हेर, सन्तानप्रति आमाको विचित्र माया । घाममा छाया देखाउँछिन्, जाडोमा न्यानो तेल लगाउँछिन् । सन्तान पल्टियो वा केही भयो पीडा उनलाई हुन्छ अनि मुटुमा चोट पर्छ । आँखा रसाउँछ । आमा, किन तिमीलाई यस्तो हुन्छ ? के तिम्रो पीडामा पनि रुने मान्छे यो संसारमा छन् ? छन् भने आमा मलाई पनि त्यस्तै मान्छेको सङ्गत गराइदेऊ । किनकि ती मान्छेसँग मेरो पनि मन, विचार र व्यवहार मिल्छ । त्यसैले त आमा म तिमीलाई तस्बिरमा पुज्न चाहन्नँ ।
सवरीले त रामलाई जुठा वयर मात्र खुवाइन् । आमा, भन न तिमीले मलाई जीवनमा कति चिज जुठो खुवायौँ ? मेरा निम्ति तिमीले कति नमिठा खानेकुरा खायौँ ? आमा तिम्रो ममताले त सायद देवी काली, दुर्गाहरूको आक्रोस पनि हिऊझैँ सेलाउँदो हो । तिम्रो वात्सल्यको न्यानोमा ज्ञानकी अधिष्ठात्री सरस्वतीको ज्ञान पनि फिका हुँदो हो । आमा, मैले धेरै मन्दिरमा पुगेर यी र यस्तै देवीहरूको पूजा गरेँ । मूर्ति दर्शन गरेँ । तर म तिम्रो मन्दिरमा पूजा भएको हेर्न चाहन्नँ । मूर्ति र तस्बिरमा दर्शन गर्न चाहन्नँ । आमा थाहा छ तिमीलाई? तिमी त मेरो हृदयमा विराजमान छ्यौ ।
काँडाले घोच्छ सन्तानलाई, दुखाइ हुन्छ आमालाई । आमा, तिमीलाई किन यस्तो हुन्छ ? कतै कतै सुनेको छु, प्रह्लादले पाएको यातनाले भगवान् विष्णुलाई पीडा भएको थियो रे । के यस्तो पनि हुन्छ र ? आमा, तिमी मूर्त छाँै तर तिम्रो अमूर्त प्रेममयी कला मैले आजसम्म बुझेको छैन । त्यसैले त आमा म तिमीलाई मनको मन्दिरमा सजाएको छु ।
आमा, तिमीले दिएको जिन्दगीको उपहार, दुखपर्दा दिएको सुखको कोसेली र दशधारा खुवाएको दूधको भारा म कसरी तिरूँ? आमा, यदि मेरा कर्मले तिम्रा आँखा रसाएछन् भने मलाई अक्षम्य श्राप लाग्दछ । त्यसैले आमा, मलाई सत्कर्मको गोरेटोमा असल संस्कारको पगरी लगाइदेऊ है । पक्कै पनि म तिमीले दिएका उपदेश, संस्कार र ममताको सगरमाथाबाट कहिल्यै विचलित हुने छैन । किनकि यो तिमीले मलाई बच्चैदेखि सिकाएकी छ्यौ ।
आमा, तिमी सम्बन्धहरूको सगरमाथा हौ । ज्ञान, चेतना, वात्सल्य र ममताकी खानी हौ । आत्मीयता, न्यानोपन, हार्दिकता र कोमलताको संवाहक हौ । सृष्टि, दृष्टि र सन्तुष्टिकी प्रतिमूर्ति हौ । त्यसैले त तिमीलाई पृथ्वीसँग तुलना गरिएको छ । सन्तानको अनुपस्थितिमा तिमीलाई चाडपर्व, उत्सव, मेला, महोत्सव, चौरासी व्यन्जन सबै फिका लाग्छ रे । किन यस्तो हुन्छ हँ आमा तिमीलाई ? ‘मलाई असल आमा देऊ, म तिमीलाई राज्य दिन्छु ।’ के तिम्रै लागि भनेका हुन् त फ्रान्सका राष्ट्रपति नेपोलियन बोनापार्टले ।
आमा, सुन्दै छु अचेल वृद्धाश्रम खुलेका छन् रे । आमाहरूले नै आमाहरूलाई वृद्धाश्रम पठाउँदै छन् रे । आमा, यस्तो गर्दा तिम्रो मन पोलेन ? तिम्रो वात्सल्यको न्यानोले बुबाको पुरुष हठलाई किन पगाल्न सकिनौ ? आमा, ममताको स्पर्श यति कमजोर भएकै हो र? होइन भने, किन सम्झाइनौ तिमीले तिनीहरूलाई ?
आमा, सूर्य कहिल्यै अस्ताउँदैन तर केहीबेर बादलले छेक्दा सूर्य अस्तायो कि भन्ने लाग्ने मात्र हो । आमा, तिम्रो ममताको भकारीबाट माया जति झिके पनि सकिँदैन । त्यसैले मैले यसलाई केहीबेरको छाया मानेको छु । आमाको न्यानो काखमा निदाउन पाए मलाई संसार आफ्नै वशमा भए झैँ लाग्छ । त्यसैले आमा, तिमी जननी हौ, सिर्जामाता हौ, मायाकी खानी हौ । तिम्रो अभावमा जीवन उजाड र निरस लाग्छ । आमा, तिमी सौभाग्यकी खानी हौ ।
आमा तिमीलाई संसारमा खोजेर कहाँ पाइन्छ र ? आमा, सधैँ तिमीले दुख लुकाएर सन्तानलाई खुसी दिन्छ्यौ । सन्तानको छिछि र दुव्र्यवहारमा पनि तिम्रो स्नेह, ममता र विश्वासको डोरी चुड्दैन । आमा, तिमी हरेक बुहारी, छोरी, सासु र समग्र नारीमा प्रकट हुनुपर्छ । आमा, मातातीर्थ औँसीका दिन तिमीलाई दिन मैले कुनै उपहार किनेको छैन । आमा मेरा लागि तिमी तीर्थहरूको पनि तीर्थ हौ । त्यसैले आमा, म तिमीसँगै छु । म तिमीलाई मनमस्तिष्क र व्यवहारमा रातदिन सँगसँगै लिएर हिँडेको छु ।
प्रतिक्रिया