ताजा अपडेट »

लघुकथा लेखन प्रशिक्षण

शनिबार, १३ बैशाख २०८२, २२ : १५
20 Shares
शनिबार, १३ बैशाख २०८२
20 Shares

बुटवल । तेस्रो लेखक दिवसको अवसरमा नेपाली लेखक संघ, रुपन्देहीको आयोजनामा लघुकथा र यसका आयामहरु विषयक एक दिने प्रशिक्षणमूलक कार्यक्रम शनिबार सम्पन्न भएको छ। रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ स्थित गीर्वाण माविको सभाहलमा सम्पन्न कार्यक्रममा वरिष्ठ आख्यानकार वनमाली निराकार र केन्द्रिय सचिव निर्मल ढुंगानाले सहभागीहरुलाई यसको महत्व बारे जानकारी गराएका थिए । 

आफ्नो समाजमा घटित घटना विशेषलाई एकाकार गर्दै विषय, पात्र, सम्वाद, दृष्टिविन्दु, परिवेश, भाषाशैली, उद्देश्य वा सारतत्वमा ध्याँन दिएमा मात्र अब्बल लघुकथा लेख्न सकिने उनले बताए । प्रशिक्षण लिँदैमा मात्र कथा लेख्न नसकिने तर लेखनकार्यमा प्रशिक्षणले उर्जा प्रदान गर्दै बाटो देखाउने बताउँदै अब्बल कथा लेख्नसके त्यस्ता कथा जीवन्त हुने बताए ।

संस्थाका उपाध्यक्ष सरस्वती  बश्यालको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रममा लेखक संघका केन्द्रिय सदस्य एवं जिल्ला अध्यक्ष लीलाधर पाण्डेयले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै वर्तमानमा व्यस्त दैनिकीको माझमा एक बसाईमा पढेर सकिने र पाठक वा श्रोतामाझ तीब्र प्रभाव छाड्ने लघुकथा निकै लोकप्रिय हुँदै गएको उल्लेख गरे । प्रशस्त अध्ययन र अभ्यास गरेमात्रै अब्बल कथा जन्मिने उनले बताए । प्रशिक्षणमा ३० जना साहित्यकारहरुको सहभागिता रहेको थियो । 

प्रलेस रुपन्देहीका अध्यक्ष कृष्ण गाउँले, लेखक एवं स्तम्भकार हुमराज भुसाल लगायतले आफ्नो धारणा राखेका थिए । प्रशीक्षार्थीहरुका तर्फबाट रामप्रसाद बश्याल, लक्ष्मण बश्याल, तनुजा पाण्डे लगायतले आफ्नो अनुभव सुनाएका थिए । कार्यक्रमको संयोजन एवम् सन्चालन नेपाली लेखक सङ्घका जिल्ला सदस्य कवि उद्धव देवकोटाले गरेका थिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।