बुटवल । रुपन्देहीमा तिलोत्तमामा जारी १० औं मणिमुकुन्द भलिवल कप पुरूष इन्डो–नेपाल क्लब च्याम्पियनसिपको उपाधिका लागि भारतको साग भलिबल एकेडेमी गुजरात र गल्कोट भलिबल क्लब भिडने भएका छन ।
शुक्रबार भएको पहिलो सेमीफाईनल खेलमा भारतको साग भलिबल एकेडेमीले गण्डकी प्रदेश भलिबल संघलाई ३–१ को सेटमा रोक्दै उपाधि दाबेदारी पेश गरेको हो । यसैगरि दोस्रो सेमीफाईनलमा गल्कोट भलिबल क्लबले विभागिय टिम त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै फाईनलको यात्रा पक्का गरेको हो । फाईनल खेल शनिबार साँझ हुने छ । यसैगरि तेस्रो स्थानका लागि गण्डकी प्रदेश भलिबल संघ र त्रिभुवन आर्मी क्लबका बिचको खेल पनि शनिबार नै हुने खेल संयोजक सुरेन्द्र गुरूङले बताए ।
तिलोत्तमा नगरपालिका–२ स्थित क्लबको खेल मैदानमा भएको निक्कै प्रतिस्प्रर्धात्मक खेलको पहिलो सेट गण्डकी प्रदेश भलिबल संघले २५–२१ अंकका साथ जित निकालेर अग्रता लिएको थियो । तर भारतको साग त्यसपछिको ३ सेट लगातार जित्दै उपाधि दाबेदारी पेश गरेको हो । भारतको साग भलिबल एकेडेमीले २५–२०, २९–२७, २५–१७ को लगातार जित निकाल्दै खेलमा फर्कियो । खेलमा सागका सुरज चौधरी प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।
दोस्रो सेमीफाईनलमा पहिलो सेट गल्कोट भलिबल क्लबले २५–१८ अंकसहित जित निकालेर अग्रता लिएको थियो । दोस्रो सेट भने त्रिभुवन आर्मी क्लब २५–२३ को अंकले बराबरी गर्यो । त्यसपछि भने गल्कोट लगातार २५–१४, २५–२२ अंकसहित जित निकाल्दै फाईनलमा प्रवेश गरेको हो ।
खेलमा गल्कोटका अमिर सेरागत प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए । प्रतियोगितामा उपाधि विजेता टिमले नगद ३ लाख ११ हजार १११ रुपियाका साथै ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता टिमले नगद २ लाख ११ हजार १११, ट्रफी,मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने क्लबका क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीले बताए ।
यसैगरि तृतीय टिमले नगद १ लाख ११ हजार १११, ट्रफी, मेडल र प्रमाणपत्र, सान्त्वना हुने टिमले नगद ६६ हजार ६६६ रुपियाँ, ट्रफी, मेडल तथा प्रमाणपत्र बाट पुरस्कृत गरिने उनले बताए । प्रतियोगितामा सर्वोत्कृष्ट प्लेयर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट सर्भर, उत्कृष्ट कोच र अनुशासित खेलाडीलाई पनि नगद र कपबाट पुरस्कृत गरिने उनले बताए । बैशाख ६ गतेबाट सुरु भएको प्रतियोगितामा आठ टिम भाग लिएका थिए ।
प्रतिक्रिया