खजुरा । विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबले लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ । अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै एपीएफले उपाधि जितेको हो ।
नेपालगञ्ज रङ्गशालामा आज भएको फाइनलमा एपीएफले पुलिसलाई अन्तिम समयमा एक गोल गरेर स्तब्ध बनाएको हो । एपीएफका तर्फबाट खेलाडी गीता रानाले एक मात्र निर्णायक गोल गरिन् । राना प्लेयर अफ द म्याच भइन् । एपीएफले रौतहट फुटबल सङ्घलाई र पुलिसले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै फाइनल पुगेको थियो । जितसँगै एपीएफले रु पाँच लाख पाँच हजार ५५५ नगद पुरस्कार र ट्रफी प्राप्त गरेको छ ।
उपविजेता पुलिसले रु दुई लाख ५० हजार नगद पुरस्कार प्राप्त गरेको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी एपीएफकी कप्तान अनिता बस्नेत घोषित हुँदै नगद रु २५ हजार प्राप्त गरिन् । खेलको समापनमा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिम्लिसेना, नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीलगायतले विजेता समूहलाई पुरस्कार तथा ट्रफी प्रदान गरेका थिए ।
बाँके जिल्ला फुटबल सङ्घसँगको सहकार्यमा ‘अन्तराल’द्वारा वैशाख ५ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपाल र भारतका आठ टिमको सहभागिता थियो ।
प्रतिक्रिया