ताजा अपडेट »

सांसदहरु भन्छन् : मन्त्रीका निर्वाचन क्षेत्रमा मात्रै बजेट जाने प्रवृत्ति अन्त्य होस्

शुक्रबार, १२ बैशाख २०८२, १६ : २०
52 Shares
शुक्रबार, १२ बैशाख २०८२
52 Shares

काठमाडौं । शक्ति र पहुँचका आधारमा बजेट विनियोजन हुने प्रवृत्तिको अन्त्य गरिनुपर्ने धारणा सांसदहरुले  राखेकाछन्। प्रतिनिधिसभाको आजको बैठकमा बोल्नेक्रममा सांसदहरुले विकासको आवश्यकता र नागरिकको चाहनाको पहिचान गरी कुशलतापूर्वक बजेट विनियोजन गरिनुपर्ने धारणा राखे ।

जनमत पार्टीका सांसद अब्दुल खानले जनताले भोगिरहेका समस्याप्रति लक्षित गरेर बजेट निर्माण गर्न आवश्यक रहेको बताए । उनले सकेसम्म देशभित्रकै कच्चापदार्थलाई प्रयोग गरी अर्थतन्त्रलाई अगाडि बढाउने नीति ल्याउनुपर्नेमा जोड दिए । 

जनता समाजवादी पार्टी (जसपा) नेपालका राजकिशोर यादवले चालु अधिवेशनबाट अत्यावश्यक विधेयकहरु पास गर्नुपर्ने आवश्यकता रहेको औल्याए । उनले भने, “चालु अधिवेशनले समस्या समाधान गरोस् । आशा पलाउने गरी र आवश्यकताको आधारमा बजेट आओस् ।”

सांसद सर्वेन्द्रनाथ शुक्लाले अर्थतन्त्र शिथिल हुँदै गएको विषम परिस्थितिमा आउने आगामी आर्थिक वर्षको बजेट अघिल्ला वर्षहरुभन्दा फरक हुनुपर्ने बताए । राजस्व सङ्कलन घटेको, तस्करी बढेकोलगायतका विषयहरु उन्ले संसदमा उठाए । यसवर्ष किसानले मलको समस्या भोग्नु नपरोस भनेर सरकारले सतर्कता अपनाउन सुझाव दिए ।

सांसद गङ्गाराम चौधरी डगौराले शक्ति र पहुँचका आधारमा बजेट बाँड्ने प्रवृत्ति रोकिनुपर्ने बताए । “मन्त्रीका निर्वाचन क्षेत्रमा मात्रै बजेट केन्द्रित नहोस् । पहुँचका आधारमा बजेट नबाढियोस् । आफ्ना कार्यकर्ता पोस्ने बजेट नआओस्”, उनले भने, ‘उत्पीडनमा परेका समदायलाई केन्द्रमा राखेर बेराजगारी घटाउने गरी बजेट आओस् ।’ बजेटमाथि नीतिगत निगरानी गर्न आवश्यक रहेको पनि उनले बताउनुभयो । बजेट तर्जुमा, स्वीकृती, कार्यान्वयन, मूल्याङ्कनलगायतका प्रक्रियालाई गम्भीर रुपमा हेरिनुपर्ने सांसद चौधरीको भनाई छ ।

सांसद प्रेम सुवालले शिक्षक आन्दोलनका कारण कक्षा १२ को परीक्षा रोकिँदा विद्यार्थीहरुको भविष्यमाथि खेलबाड भइरहेको उल्लेख गरे । प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय सुशासन आयोग गठन गरिनुलाई सरकारमाथि सरकारकै अविश्वासको उपजका रुपमा हेरिनुपर्ने सुवालको बुझाइ थियो । सार्वजनिक ऋण निरन्तर बढ्ने, युवाहरु विदेश पलायन हुने, आन्तरिक उत्पादन बढ्न नसक्नेजस्ता जटील समस्याको समाधान खोज्नेगरी बजेट केन्द्रित हुनुपर्ने उनको भनाइ छ ।

सांसद चित्रबहादुर केसीले लोकतन्त्रमाथि चौतर्फी रुपमा आक्रमण भइरहेको उल्लेख गर्दै जनताको आकाङक्षाअनुसार काम गर्न नसकेका कारण नै वितृष्णा बढेको बताए । “भष्ट्राचार गर्नेलाई कारबाही नहुने र संरक्षण गर्ने प्रवृत्तिको लेखाजोखा जनताले राखिरहेका छन् । भ्रष्टाचारमा हामी आफै लिप्त छौं भने जनतालाई कसरी सम्झाउनुहुन्छ ?”, सांसद केसीले भने । लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि सबै दल एकजुट हुनुपर्ने पनि उहाँको भनाइ थियो । 

सांसद डा अमरेशकुमार सिंहले चुनाव जित्नका लागि राजनीतिक दल र तिनका नेताहरुले व्यवसायीहरुसँग रकम उठाउने गरेको र सरकारमा गएपछि उनीहरुलाई फाइदा हुनेगरी निर्णय गर्ने गरेको आरोप लगाए । उनले दलीय भागबण्डाका आधारमा नियुक्ति, सरुवा, बढुवा हुने प्रवृत्ति मौलाएको बताए । लोकतन्त्रलाई नेताहरुबाट सँ्कट रहेको सांसद सिंहको भनार्इ थियो । 

सांसद योगेन्द्र मण्डलले सरकारको बोली एउटा र व्यवहार अर्को रहेको दाबी गरे । उनले शिक्षक आन्दोलन चाँडो टुङ्गाउन आवश्यक रहेको उल्लेख गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।