बुटवल । आवासीय चिकित्सकहरुलाई तोकिएको न्युनतम पारिश्रमिक कार्यान्वयन गर्न सरकारलाई दबाब दिदै देशभरका चिकित्सकहरु अनिश्चितकालिन आन्दोलनमा उत्रेका छन । आन्दोलनको कार्यक्रम अन्तरगत आजदेखि आकस्मिक र सघन उपचार (आईसीयू) बाहेकका सेवा ठप्प पार्ने भएका छन् ।
देशभरका चिकित्सकहरुले विहिबार जिल्ला प्रशासन कार्यालयहरुमा धर्ना दिनुका साथै ज्ञापनपत्र बुझाएका थिए । आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै नेपाल चिकित्सक संघ लुम्बिनी अञ्चल शाखा बुटवलले जिल्ला प्रशासन कार्यालय भैरहवामा ज्ञापनपत्रसहित दुई घण्टा धर्ना दिएको थियो । संघका उपाध्यक्ष वर्षा थापा, सचिव प्रकाश बस्नेत, कोषाध्यक्ष रमेश भट्टराई, सदस्य सम्राट पराजुलीले सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जिवी रानालाई ज्ञापन पत्र बुझाउँदै आन्दोलनका कार्यक्रमबारे प्रकाश पारे ।
चिकित्सा शिक्षा आयोगको १६ औ पूर्ण बैठकबाट आवासीय चिकित्सकहरुको पारिश्रमिकको विषयमा भएको निर्णय कार्यान्वयन नहुँदा आन्दोलमा उत्रनुपरेको नेपाल चिकित्सक संघ लुम्बिनीका अध्यक्ष डा. कृष्ण खरेलले बताए । स्वास्थ्यकर्मीहरुको सम्मान, हक अधिकार र सुरक्षाका लागि संघर्षका कार्यक्रम अघि बढाउन बाध्य भएको उनले बताए । घोषणा अनुसार आवासीय चिकित्सकहरुको न्युनतम पारिश्रमिक कार्यान्वयन नभएसम्म आन्दोलन नरोकिने उनले बताए । ‘अस्पतालमा अतिआवश्यक सेवाबाहेकका अन्य सबै सेवा अनिश्चित समयका लागि बन्द गर्ने निर्णय गरेका छौ ।’– उनले भने ।
बैठकमा संघका सहसचिव मोहन तिवारीले यो आन्दोलन समग्र चिकित्सकको पक्षमा भएको बताए ।
प्रतिक्रिया