ताजा अपडेट »

कश्मीर आक्रमणमा मारिएका बुटवलका सुदीपको शव आजै ल्याउने तयारी

बुधबार, १० बैशाख २०८२, १४ : ४९
132 Shares
बुधबार, १० बैशाख २०८२
132 Shares

बुटवल। भारतको जम्मू कश्मीरको पहलगाममा आतंकवादी आक्रमणमा परी मृत्यु भएका नेपाली सुदीप न्यौपानेको शव नेपाल पठाउने प्रक्रिया सुरु भएको छ । नयाँदिल्लीस्थित नेपाली दूतावासले सुदीपको शव नेपाल पठाउने प्रक्रिया सुरु गरेको हो ।
 
“अहिले शवको पोष्टमार्टम कार्य भइरहेको छ । यो सकिएपछि हामी शव नेपाल पठाउँछौँ । सम्भव भएसम्म आज (बुधबार) साँझ, नभ्याए भोलि (बिहीबार) नेपाल पठाउँछौँ,” नयाँ दिल्लीस्थित नेपाली दूतावास स्रोतले भन्यो ।
 
सुदीप गत शनिबार आमा र दुई नातेदारसँगै भारतको जम्मू कश्मीर घुम्न गएका थिए ।
 
आतंकवादीहरूले मंगलबार जम्मू कश्मिर घुम्न गएका पर्यटकमाथि आक्रमण गर्दा सुदीप पनि परेका थिए । घटनामा २६ जना पर्यटकको मृत्यु भएको अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएका छन् ।
 
नयाँ दिल्लीस्थित नेपाली दूतावासले सुदीपको शवलाई उनकी आमा र दुई नातेदारसँगै नेपाल पठाउन लागेको छ ।

सुदीपको घर बुटवल उपमहानगरपालिका–१४ भएका कारण उनको शव नयाँ दिल्लीबाट काठमाडौं हुँदै पठाउने वा गोरखपुर हुँदै बुटवल पठाउने भन्ने निर्णय भइनसकेको स्रोतले बतायो ।
 
“मृतकको शव उनको आमा र दुईजना नातेदारसँगै पठाउँछौँ । काठमाडौं हुँदै वा गोरखपुरबाट सिधै बुटवल पठाउने भन्ने निर्णय भइसकेको छैन,” दूतावास स्रोतले भन्यो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।