यतिबेला पौष्टिक तत्वको अभावका कारण मानिसको शारीरिक वृद्धि, विकासमा असर पुगेको छ । पुग्नुपर्ने तौल पुगेको छैन । हुनुपर्ने उचाइँमा कमी आएको छ । सरुवा वा नसर्ने विभिन्न किसिमका रोगहरुका आक्रमणले निरोगी हुन सकिएको अवस्था छैन । रोगसँग लड्ने क्षमता मानिसमा दिनप्रतिदिन घट्दै गइरहेको छ । खानामा कार्बोहाइड्रेडको मात्रा प्रयोग बढिरहेको बेला प्रोटीन र भिटामीनको अभाव देखिन थालेको छ । हरिया सागसब्जी र फलफूलको उत्पादन र उपभोगको अवस्थामा नेपाल कमजोर देखिन्छ ।
खानामा हुने पोषिलो तत्व नै पौष्टिक तत्व हो । मानौं एकपाथी दूधबाट एकमाना घ्यू आएमा त्यो एकमाना घ्यू नै दूधमा रहेको खास पौष्टिक तत्व हो । हामीले खाने खाद्यपदार्थहरु सबै पोषिला नहुन पनि सक्छन् । त्यसैले खानामा पौष्टिक तत्व मिलाएर खाएमा शारीरिक वृद्धिविकास सम्भव छ । रोगबाट बच्न सकिन्छ । दीर्घजीवन यापन गर्न सकिन्छ । दीर्घजीवन नै खानाको मुख्य लक्ष्य हो । खानाले निरोगी बनाउने र दीर्घजीवी बनाउने लक्ष्य राखेको हुन्छ । मात्र यसको प्रयोगले असर र प्रभाव पार्ने हो ।
उचित एवम् पौष्टिक तत्वयुक्त खानाको अभावले नै रक्तअल्पता हुने गरेको छ । उमेर अनुसार उचाइँ र तौल बढ्न सम्भव छैन । थुप्रै किसिमका रोेगहरु मानिसमा लागेका छन् । रोग लाग्नु र निराकरण गरी निरोगी बनाउनुभन्दा रोग लाग्न नदिनु नै स्वास्थ्यको मूलमर्म हो । त्यसैले रोगबाट जोगाउने, रोगी हुन नदिने र रोगको नजिक पुग्न नदिने मुख्य कुरा नै मानिसले खाने खाद्यपदार्थ र पौष्टिक तत्व नै हो । त्यसका लागि पोषण शिक्षा आवश्यक र जरुरी हुन्छ । विद्यालय तहमा नै पोषण शिक्षा चाहिने कुरा लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री माननीय चेतनारायण आचार्यले दाङको लमहीमा भएको ‘खाद्य प्रणाली नीति संवाद कार्यक्रम’मा बोलेका थिए । उनले भनेका थिए-गरिवले खाने भनेर हेपिएको कोदोको कथा आज सबैले बुझ्दैछन् । फाल्लिएको मकैको मर्म आज थाहा लाग्दैछ । आलुको अन्तर्य बुझ्न कठिन छैन । गहुँको गहनता सबैले बुझेकै छन् । फापर त रोटी,ढिडो भएर फस्टाउँदैछ । सिन्कीले समृद्धिको यात्रा तय गरेको छ । लोपोन्मुख खाद्यबालीहरुलाई जोगाउँदै रैथाने खानामा सबैले जोड दिनुपर्छ ।
विद्यालयको खाजामा रैथाने उत्पादनलाई मिसाउन सकिएमा उत्तम हुने छ । फाष्टफूडले बालबालिका रोगी भए । अभिभावकहरु अल्छी भएको संकेत गर्दैछ । जौंको जमाना आउलाजस्तो छ । भटमासले प्रोटीन दिएको छ । हरिया सागले आइरन दिएको छ । भिटामीन थपेको छ । तर आज हाम्रो समाजले नजानेर हो या जानीजानी लोकल कुखुरा बेचेर ब्रोइलर किनेर खाएको छ । हरिया सागसब्जी बजारमा बेचेर सोयाबिन किन्दै, खाँदै रमाएको छ । गाउँलेहरुले भैसी र गाईको शुद्ध घ्यू सहरमा बेचेर डाल्डा किनेर खाएका छन् । यी कुरा पोषण शिक्षाको अभावले हो या हेलचक्राइँले हुँदैछन् ?
पोषण शिक्षा कसलाई दिने हो खासमा ? खाना पकाउने भान्सेलाई दिने कि खाद्यपदार्थ किन्ने घरबेटीलाई ? यो कुराका बारेमा प्रष्ट हुनुपर्छ । भान्सेले त ल्याएको पकाइदिने हो । उसलाई बरु खाना पकाउँदाका कुरा सिकाउनु पर्छ । ताछ्ने, छिल्ने, काट्ने, भुट्ने, तार्ने, झान्ने, कतिबेरसम्म पकाउने हो भन्ने शिक्षा भान्सेलाई चाहिन्छ ? पकाएको कतिबेरभित्र खानुपर्ने हो बताउनुपर्छ । पौष्टिक तत्व नाश हुनबाट जोगाउने तरिका केके हो ? पौष्टिक तत्व पाइने खाद्यपदार्थका बारेमा जानकारी त क्रयशक्ति भएका घरबेटी जसले खाद्यपदार्थ किन्दछन् उनीहरुलाई दिनुपर्छ । कुन खाद्यपदार्थमा कुन पौष्टिक तत्व हुन्छन् भन्नेकुरा किन्ने ब्यक्तिले अनिवार्य जान्नुपर्छ नत्र खानामा विविधता हुँदैन र प्राप्त हुनुपर्ने पौष्टिक तत्वहरुको अभावले ब्यक्ति रोगी हुनेछ ।
नेपालमा मानिसहरु रोगी हुनुको कारणमध्ये पोषण शिक्षाको अभाव मुख्य हो । त्यसबाहेक खाना पकाउने कला, व्यवहार र खाना खाने समयको जानकारी अभाव समेत हुन आउँछ । खाना औषधी हो र औषधी नै खाना हो । सही खाना खाएमा औषधी चाहिँदैन र गलत खाना खाएमा औषधीले समेत काम गर्दैन । नेपालमा खाद्यपदार्थ वा सागसब्जी उत्पादन भइरहेका छन् तर तिनीहरु यतिबेला विषादीमुक्त छैनन् । प्राङ्घारिक मलको प्रयोग कम हुँदै गएको छ । बस्तुभाउ पाल्ने मानिसहरु कम भए । गाउँ, रित्तिदैछ । सहरमा सीमित कोठामा जीवन निर्वाह हुँदैछ । मानिसलाई रासायनिक मलका कारण उत्पादन छिटो चाहिएको छ । यसको असर मानवजीवनमा कति छ, बुझ्न झन कठिन हुँदैछ । विषादीका कारण चराचुरुङ्गी,पशुहरु समेत बिरामी भएका छन् । मानिसहरुमा अनेक रोग ल्याएको छ । त्यसैले पौष्टिक तत्वको अभाव हुन नदिन रैथाने कृषि र अर्गानिक खेतीमा बढी जोड दिनुपर्नेछ ।
आफ्नै रैथाने बीऊ जोगाउन कठिन भएको छ । रासायनिक मलका कारण माटोको उत्पादकत्व क्षमतामा कमी आइरहेको छ । सिंचाईको अभावले खेतीपाती भनेजस्तो हुन सकेको छैन । सिंचाइ भएको ठाउँमा किसानहरुले मौसमी तथा बेमौसमी तरकारी खेती गर्न भ्याएका छैनन् । किनेर खाने संस्कृतिको विकास प्रशस्तै भयो तर गरेर खाने कृषि संस्कृतिमा कमी आयो । कृषिका कुरा बढी भए । सबैभन्दा धेरै कुरा हुने विषय नै कृषि भयो तर उत्पादन प्रायःशून्य ! निर्वाहमुखी कृषि,निर्यातमुखी कृषि हुन कठिन भयो । प्रविधिमैत्री कृषि हुन सकेन ।
कृषि शिक्षा पढेका परदेश हान्निए । कखरा जानेकाले कृषि गर्दा मल,बीऊ र भिटामीनको मात्रा मिलाउन जानेनन् । पुरातनशैलीको खेतीपातीले उँभो लाग्न झन् कठिन भो । जानेकाहरु, पौरख गर्न सक्नेहरु परदेशिएपछि ओठ निचोर्दा दूध आउने बालबालिकाहरु र ठाडो परेर आकास हेर्न नसक्ने बुढाखाडाहरुले कृषि गरेर कसरी धानिन्छ देश ? कृषिप्रधान नेपाल आज कृषिबाटै बाँच्ने प्रयास गर्दैछ । यसका लागि लुम्बिनी प्रदेश सरकारले कृषिलाई नै प्राथमिकता दिएको छ । कृषिबाटै करोडपति बन्न सकिन्छ भनेर सबैलाई सन्देश बाँडिरहेको छ ।
‘समतामूलक, उत्थानशील र दीगो खाद्य प्रणाली उन्मुख नेपाल’को नाराले सार्थकता पाउन अझै कति समय कुर्नुपर्ने हो तैपनि हामीले आफूलाई कृषिकर्ममा ढालौं । कृषिमार्फत् आफैले आफैलाई पालौं । कुराका खेती धेरै भए । अब खेतीका कुरा र काम गरौं ।
प्रतिक्रिया