काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को उच्चस्तरीय समितिले आगामी वैशाख २० देखि २२ गतेसम्म काठमाडौँमा आयोजना हुने एकताको महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । सर्वोच्च अदालतको आदेशअनुसार गठित उच्चस्तरीय समितिले तय गरेको कार्ययोजना बमोजिम महाधिवेशनको तयारीहरू अन्तिम चरणमा पुगेको संयोजक डा.शेष घलेले जानकारी दिएका हुन ।
समितिका संयोजक डा.घलेका अनुसार निर्वाचन समिति गठन भइसकेको छ भने सदस्यता नवीकरण तथा वितरण प्रक्रिया पनि सम्पन्न भएको छ । महाधिवेशन प्रतिनिधिहरूको छनोट प्रक्रिया वैशाख ९ गतेसम्म कायम रहने छ । हालसम्म विभिन्न मुलुकबाट प्रतिनिधिहरू काठमाडौँ आइपुगिसकेका छन् भने थप प्रतिनिधिहरू आउने क्रम जारी छ ।
डा. घलेले अदालतको आदेश बमोजिम तोकिएको समयमै कार्य सम्पन्न गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको जनाउँदै मिति परिमार्जन गर्ने कुनै विकल्प नरहेको स्पष्ट पारे । उनले निर्धारित कार्ययोजना समयमै सम्पन्न नगरे अदालतको अवहेलनामा पर्ने भएकाले सम्पूर्ण पदाधिकारी, प्रतिनिधि तथा सरोकारवालाहरूलाई आफ्नो तहबाट सक्दो सहयोग गर्न अपिल समेत गरेका छन् ।
सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा एकता महाधिवेशन उच्च स्तरीय कुल समिति तथा प्रचार प्रसार समिति संयोजक रविना थापाले एनआरएनए उच्चस्तरीय समितिको वेबपोर्टलमा १६ हजार बढीले सदस्यताका लागि आवेदन दिएको जानकारी दिइन् । ‘एनसीसीहरुमा आवद्ध भएर एनसीसीले उच्चस्तरीय समितिलाई पठाएको संख्या जोड्ने हो भने ४७ हजार बढी रहेको छ । उच्चस्तरीय समितिको वेबपोर्टल र एनसीसीहरुबाट आएको संख्या जोड्दा ६३ हजार बढी जना सदस्य बन्नु भएको छ,’ उनले भनिन् ।
त्यस्तै उनले उच्च स्तरीय समितिको १४ पटक बैठक बसिसकेको पनि जानकारी दिइन् । उनले सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयको पटक पटकको पत्राचारका बाबजुद संघको सचिवालय, एमआइएस प्रणाली लगायतमा पहुँच नदिइएकाले उच्चस्तरीय समितिले आफ्नै वेब पोर्टलमा सदस्यता आह्वान गरेको जनाइन् ।
साथै महाधिवेशन सम्पन्न गर्नका लागि वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको जानकारी दिइन् ।
प्रतिक्रिया