ताजा अपडेट »

पोषणका लागि रैथाने बालिको प्रयोग बढाऔं : मुख्यमन्त्री आचार्य

सोमबार, ०८ बैशाख २०८२, १२ : २८
30 Shares
सोमबार, ०८ बैशाख २०८२
30 Shares

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पोषणयुक्त खानपान र स्वस्थ जीवनशैलीका लागि प्रदेश सरकारले विशेष ध्यान दिएको बताएका छन् । ‘समतामूलक, उत्थानशील तथा दिगो खाद्य प्रणाली उन्मुख नेपाल ः स्वच्छ र पोषणयुक्त खाद्यमा सबैको पहुँच ।– भन्ने मूल नाराका साथ आयोजित खाद्य प्रणाली संवाद कार्यक्रममा मुख्यमन्त्री आचार्यले रैथाने खाद्यान्न बालिमा पोषणको मात्रा अधिक रहेको भन्दै रैथाने बालिको संरक्षण, सम्बर्द्धन र प्रयोगमा आधारित नीति लिइने बताए ।

उनले खेती प्रणालीलाई अर्गानिक बनाउनुपर्नेमा पनि जोड दिए । ‘रैथाने बालिको संरक्षण, उत्पादन र प्रयोग गर्न सरकारले नीति निर्माण गर्नेछ । पोषण प्रवर्द्धन एक्लो प्रयासले सम्भव हुँदैन । यसमा तीन तहका सरकार, सामाजिक संघसंस्था र समुदायको सहभागिता आवश्यक छ ।’– मुख्यमन्त्री आचार्यले भने ।

उनले विशेष योजना बनाएर जनताको घरदैलोमा पुग्न जरुरी रहेको र विद्यालय तहमा यसलाई अभियानका रूपमा लैजानुपर्ने उल्लेख गरे । मकै, गहुँ, जौं, फापर, कोदोजस्ता रैथाने बालि ओझेलमा परेको भन्दै संरक्षण, प्रवर्द्धन र प्रयोगमा आधारित नीति आवश्यक भएको धारणा राखे । प्रदेशमा नसर्ने रोगको अवस्था बढ्दो रहेको र यसले चिन्ता थपेको भन्दै विषादी प्रयोग नगरी खाद्यान्न तथा तरकारी उत्पादनलाई प्राथमिकता दिइने उनले स्पष्ट पारे ।

लुम्बिनी प्रदेशमा कुपोषणको अवस्था बढ्दो रहेको, मातृ मृत्यु दर, बाल मृत्यु दर र बाल विवाहजस्ता समस्या उच्च हुनु चिन्ताको विषय भएको र सुधारका लागि सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्रीले बताए । जनचेतना अभिवृद्धिका लागि समुदाय केन्द्रित अभियान थालिने र मिडिया क्षेत्रले पनि यसमा सहयोग गर्नुपर्नेमा उहाँले जोड दिए ।

लुम्बिनी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका उपसचिव घनश्याम चौधरीले प्रदेश खाद्यान्न, माछा, मासु र दूधमा आत्मनिर्भर भए पनि अन्य क्षेत्रमा अझ सुधार आवश्यक रहेको उल्लेख गरे । चौधरीका अनुसार लुम्बिनीमा पुड्कोपनाको अवस्था २५ प्रतिशत, ख्याउटेपना १६ प्रतिशत, कमतौल २३ प्रतिशत तथा पाँच वर्षमुनिका बालबालिकामा रक्तअल्पता ४९ प्रतिशत रहेको छ । प्रजनन उमेर (१५–४९ वर्ष) समूहका महिलामा पनि ४४ प्रतिशतमा रक्तअल्पता देखिएको छ । 

कार्यक्रममा राष्ट्रिय योजना आयोगका शाखा अधिकृत चन्द्रप्रकाश बस्नेतले प्रस्तुत गरेको तथ्याङ्क अनुसार नेपाल विश्व खाद्य जोखिम सूचकांकमा १२औं स्थानमा रहेको छ । उनका अनुसार हाल नेपालमा कुल जनसंख्याको ५७ प्रतिशत मात्र खाद्य सुरक्षाको अवस्था पुगेको छ भने बाँकी आंशिक वा पूर्णरूपमा खाद्य असुरक्षाको जोखिममा छन् ।

पूर्व स्वास्थ्य मन्त्री तथा प्रदेशसभा सदस्य विष्णुप्रसाद पन्थीले विषाक्त खाद्य र पत्रु खानाले मानव स्वास्थ्यमा समस्या उत्पन्न गराएको भन्दै पोषणयुक्त खानाको मात्रा सुनिश्चित गर्नुपर्ने बताए । डब्लुएचएचका कन्ट्री डाइरेक्टर शकिब नबी,जिल्ला समन्वय समिति महासंघ लुम्बिनीका अध्यक्ष द्रोण खत्रीले गाउँपालिका महासंघका सदस्य भक्तबहादुर जिसीले पोषण सुधारका लागि सरकारी तथा गैरसरकारी सहकार्य अपरिहार्य रहेकोमा जोड दिए । उद्योग वाणिज्य महासंघ लुम्बिनीका अध्यक्ष कृष्णप्रसाद शर्माले गुणस्तरीय र पोषणयुक्त उत्पादनमा ध्यान दिनुपर्ने धारणा राखे । गैरसरकारी संस्था महासंघ लुम्बिनीकी अध्यक्ष जितकुमारी बेल्वासे (शुसीला) ले किशोरीहरूमा कुपोषणको अवस्था बढ्दो रहेको भन्दै तिनीहरूलाई लक्षित पोषण नीति आवश्यक रहेको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।