काठमाडाैँ । गायिका सुस्मिता स्याङतानको आवाजमा 'कुलमानलाई फालेर' बोलको गीत सार्वजनिक गरिएको छ। नेपाल विद्युत प्राधिकरणाका तत्कालिन निर्देशक कुलमान घिसिङ लाइ सरकारले कार्यकारी निर्देशककाे पदबाट हटाएकाे भन्दै लोडसेडिङको अँध्यारोबाट उज्यालोतर्फ डोहोर्याउने व्यक्तित्व कुलमान घिसिङको सम्मानमा उक्त गीत तयार गरिएको हो।
यो गीतले हाल सामाजिक सञ्जालमा व्यापक चर्चा बटुल्दैछ। गीतले कुलमान घिसिङलाई सच्चा राष्ट्रसेवकका रूपमा प्रस्तुत गर्दै उनको इमानदार नेतृत्वप्रतिको सम्मान व्यक्त गरेको छ। साथै, यस गीतमा राजनीतिक प्रभावका कारण इमानदार व्यक्तिहरूको असमय विदाइप्रति गम्भीर प्रश्न उठाइएको छ।
गीतमा सशक्त स्वर दिएकी गायिका सुस्मिता स्याङतानको प्रस्तुति सबैको मन छोएको छ भने गीत, संगीत तथा सिर्जना विवेक लोप्चनले गरेका हुन् । संगीत संयोजन कुनसाङ दोर्जे लोप्चनले गरेका छन् भने सहयोगी स्वरमा अर्जुन न्यौपानेको योगदान रहेको छ।
भिडिओ पक्षलाई पनि सशक्त बनाउन निर्देशक तथा क्यामराम्यान विशाल सापकोटा र सम्पादन तथा रंग संयोजनमा त्रिलोक लामाले उत्कृष्ट योगदान दिएका छन्।
सम्पूर्ण टिमले गीतलाई केवल सांगीतिक सिर्जना मात्र नभई एक सामाजिक सन्देश र राष्ट्रप्रेमको अभियानको रूपमा प्रस्तुत गरेका छन्। यस गीतमार्फत अहिलेको नेपालमा इमानदार, निडर र जनमुखी नेतृत्वको खाँचो गहिरो रूपमा उठाइएको छ। दर्शक, श्रोता र देशप्रेमी युवाहरू यो गीतलाई ‘जनताको आवाज’ भन्दै विभिन्न माध्यममा साझा गरिरहेका छन्।
प्रतिक्रिया