ताजा अपडेट »

आगलागी र डुबानको जोखिममा मर्चवार, विपत न्युनीकरणमा ध्यान दिन जनप्रतिनिधिलाई स्थानीयको आग्रह

शनिबार, ०६ बैशाख २०८२, २० : २५
26 Shares
शनिबार, ०६ बैशाख २०८२
26 Shares

बुटवल । रुपन्देहीको दक्षिणी भेग विपतको जोखिम क्षेत्र भएकाले त्यसको न्युनिकरणको लागि पहल गर्न मर्चवारबासीले जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् । उनीहरुले मर्चवार क्षेत्र आगलागी र डुबानबाट बढि प्रभावित क्षेत्र भएकाले सम्भावित क्षति हुन नदिन तीन वटै तहका सरकारले ध्यानु दिनुपर्ने उल्लेख गरे । 

युएनडिपी र सामुदायीक प्रकोप व्यवस्थापन समितिको राष्ट्रिय सञ्जालको सहकार्यमा चादँनी नेपालले आयोजना गरेको सार्वजनिक सुनुवाइमा मर्चवारबासीले आफ्नो क्षेत्रमा विपत न्युनीकरणको लागि पर्याप्त बजेट छुट्याउन समेत माग गरे ।

कोटइमाइ गाउँपालिकाको मझगँवामा भएको कार्यक्रममा स्थानियहरुले गर्मी सुरु भएसँगै अब आगलागीका घट्ना भइरहने मर्चवारको तीन पालिकाको लागि कम्तीमा एउटा दमकल उपलब्ध गराउन आग्रह गरे। साथै बर्षा अघि नै डुवान न्युनीकरणमा ध्यान दिन समेत माग गरे ।   

सहभागीको गुनासो सुनेपछि प्रदेश सांसदहरुले विपत पूर्व तयारीको लागि प्रदेश स्तरबाट सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । कांग्रेस लुम्बिनी प्रदेश सभाकी प्रमुख सचेतक जमुना ढकालले संघ, प्रदेश र पालिकाका जनप्रतिनिधिहरुबीच समन्वय भएमा विपत न्युनीकरणको लागि सहज हुने बताइन् । उनले विपत आउन नागरिक पनि सचेत हुनुपर्ने र प्रदेशबाट विपतको प्रभावकारी कार्यक्रम ल्याउन आँफूहरुले पहल गर्ने जानकारी दिइन् । 

नेकपा एमाले प्रदेश सभा संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठले मर्चवारमा हुने डुबान जस्ता विपत न्युनिकरणको लागि प्रदेश स्तरबाट पहल गर्ने बताए । उनले प्रदेशमा विपत व्यवस्थापन कोष रहेकाले त्यसको परिचालनको लागि पालिकाहरुसँग सहकार्यबाट अघि बढाउनुपर्ने धारणा राखे ।  

मर्चवार क्षेत्रका प्रदेश सांसद बसिउद्धिन खाँले डुबानको जोखिमबाट बचाउन तिनाउ र दानव नदिको व्यवस्थापन अपरिहार्य भएको भन्दै त्यसको लागि आफूहरुले निरन्तर पहल गरिरहेको बताए । सो क्षेत्रका अर्का प्रदेश सांसद कन्यैया वानियाँले मर्चवारमा दमकलको व्यवस्था गर्न आँफूहरुले निरन्तर पहल गरेको भन्दै यही जेठमा दमकल आउने जानकारी दिए ।

कार्यक्रममा पालिका प्रमुखहरुले मर्चवारमा विपत न्युनीकरणको लागि स्थानिय स्तरमा आफूहरुले पहल गरेको र बजेटको अभावमा कार्यक्रम प्रभावकारी हुन नसकेको बताए । कोटइमाइ गाउँपालिकाका प्रमुख बालकृष्ण त्रिपाठीले पालिकाको बजेटले मात्र विपत न्युनीकरण गर्न नसकिने भन्दै संघ र प्रदेशको सहयोग पनि चाहिने उल्लेख गरे । 

सम्मरीमाइ गाउँपालिकाका अध्यक्ष विनोद श्रीवास्तवले आफ्नो पालिकाका ३ वटा वडा दानव नदिको डुबान र कटानको जोखिममा रहेको भन्दै त्यसको नियन्त्रणको लागि माथिल्ला तहका सरकारले ध्यान दिनुपर्ने बताए । मर्चवारी गाउँपालिकाका अध्यक्ष गया बरयीले पालिकाको तर्फबाट सचेतनामुलक कार्यक्रमहरु गरेको जानकारी दिँदै प्रदेशबाट कम बजेट आउँदा थप कार्यक्रम गर्न नसकेको भनाइ राखे ।

चाँदनी नेपालका कार्यकारी निर्देशक भवानीप्रसाद पाण्डेले विपत न्युनिकरणको लागि जनप्रतिनिधि र स्थानियबीच सम्बाद होस भनेर सार्वजनिक सुनुवाइ आयोजना गरिएको जानकारी दिए । कार्यक्रममा सामुदायीक प्रकोप व्यवस्थापन समिति राष्ट्रिय सञ्जालका अध्यक्ष जगन्नाथप्रसाद कुर्मीले विपदको याम सुरु भएकाले यो बेला जोखिम न्युनिकरणको लागि विशेष ध्यान दिनुपर्ने बताए ।

सञ्चारकर्मी रामविकास चौधरीले मर्चवारमा कुला नाला मेटिँदा पनि डुबानको जोखिम बढेको भन्दै अहिले भएका कुला नालाहरुको सरसफाइ गर्नुपर्ने धारणा राखे । कार्यक्रममा वडाध्यक्ष सञ्जयकुमार सैनी, स्थानियहरु गोकुल प्रसाद यादब, सहाबुद्धिन देवान, इसारा अहमद मुशलमान लगायतले बोल्दै मर्चवारले पटक पटक विपदको सामना गर्नुपरेकाले जोखिम न्युनिकरणको लागि अब प्रभावकारी काम गर्न जनप्रतिनिधिहरुलाई आग्रह गरेका थिए । 

कार्यक्रमपछि प्रदेश सांसद, जनप्रतिनीधिहरुले तटीय क्षेत्र दुई मुहानको अवलोकन गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।