ताजा अपडेट »

बुटवलको जितगढीमा आइतबार विजय उत्सवसहित साँस्कृतिक साँझ आयोजना हुने

शनिबार, ०६ बैशाख २०८२, १२ : ००
252 Shares
शनिबार, ०६ बैशाख २०८२
252 Shares

बुटवल । ऐतिहासिक जितगढी किल्लामा आइतबार साँस्कृतिक साँझ आयोजना हुने भएको छ । हरेक वर्ष बैशाख ७ गतेका दिन मनाउँदै आइएको विजय उत्सवको अवसरमा बुटवलको जितगढी किल्लामा यस वर्ष साँस्कृतिक साँझ आयोजना गर्न लागिएको हो । बुटवल उपमहानगरको प्रवर्द्धनमा आयोजना गर्न लागिएको उक्त कार्यक्रममा विभिन्न कलाकारहरुबाट देशक्ती गायन तथा नृत्यहरु प्रस्तुत गरिने भएको हो । 

हरेक वर्ष गोरखादेखि पैदलयात्रा गरी बैशाख ७ गतेका दिन बुटवलको जितगढीमा आएर भव्य समारोहसहित समान गर्ने परम्परा रहेको छ । यस वर्ष पनि नेपाली सेनाको गोरखा दरबार हनुमान भन्ज्याङबाट सुरु भएको गोरखा–जितगढी पदयात्राको टोलीलाई स्वागत गर्ने कार्यक्रम रहेको बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले जानकारी दिए । ऐतिहासिक दरबार, गढी, किल्ला र पदमार्गको संरक्षण अभियान अन्तर्गत नेपाली सेनाले स्थानीय तहहरुसँगको सहकार्यमा गोरखादरबारदेखि जितगढीसम्मको यो पदयात्रा तेस्रो पटक आयोजना गरेको हो । गोरखाबाट हिँडेको टोली तनहुँ, स्याङ्जा, पाल्पा हुँदै वैशाख ७ गते ऐतिहासिक जितगढी किल्लामा आइपुग्नेछ ।

राष्ट्रिय झण्डासहित एकीकरणमा स्थापित श्रीनाथ, कालीबक्स, बर्दवाणी, सबुज, पुरानो गोरख र जितगढी लडाइँमा सहभागी गुरुबक्स गुल्म सहभागी छन् । पदयात्रामा गोरखाको रिपुमर्दन गण, तनहुँको रूरू भैरवदल गण, काली भञ्जन गण, राजदल गण, दि फेमस महिन्द्रदल गण र रुपन्देहीको तारादल गण सहभागी हुँदै छन् ।

यस वर्ष विजय उत्सव कार्यक्रम अन्तरगत विहान पदयात्रामा रहेको नेपाली सेनाको टोलीलाई सम्मान गर्ने कार्यक्रम रहेको छ भने साँझ ६ बजेदेखि साँस्कृतिक साँझको आयोजना गरिएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।