ताजा अपडेट »

देश विकासमा मतभेद नराखौँ : प्रधानमन्त्री ओली

शुक्रबार, ०५ बैशाख २०८२, १७ : ५५
16 Shares
शुक्रबार, ०५ बैशाख २०८२
16 Shares

चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासमा मतभेद नराख्न आग्रह गरेका छन् । भरतपुर पुलचोक–गोन्द्राङ– ६ लेन सडकको आज यहाँ उद्घाटन गर्दै उनले सबैलाई विकासमा केन्द्रित हुन आग्रह गरेका हुन् । प्रधानमन्त्री ओलीले भैरहवा, वीरगञ्ज, पोखरा र काठमाडौंको मध्यभागमा पर्ने यहाँको सडक एसियाली मापदण्डअनुसार नमुना बनाइएको र पूर्व–पश्चिम राजमार्गलाई थप फराकिलो बनाइने बताए । सरकारको आफ्नै लगानीमा यो सडक बनाइएको उनले उल्लेख गरे । 
    
प्रधानमन्त्री ओलीले विकासमा राजनीति गर्न नहुनेमा जोड दिए । उनले भने, “अहिले चुनाव लाग्या पनि छैन र अहिले चुनाव प्रचार गर्नु पर्या पनि छैन । त्यतापट्टी गइहाल्नुपर्ने आवश्यकता पनि छैन”, उनले थपे, “म आग्रह गर्न चाहान्छु सबैलाई सधैँ राजनीति मात्रै, सधैँ चुनाव मात्रै होइन । विकासमा ध्यान दिउँ । हामीले एक भएर देश बनाउनुपर्नेछ । मतभेदमा होइन एकतामा जोड दिउँ ।” 

विचारमा विविधता हुनसक्ने भन्दै प्रधानमन्त्री ओलीले देशको विकास गर्ने कुरामा मतभेद नराख्न आग्रह गरे । “देशको विकास गर्नैुपर्छ । हामी सबै मिलेर विकास गर्ने हो । कोही आएर हाम्रो देश बनाउँदैन । आफ्नो बलमा राष्ट्रिय एकताका साथ एकजुट भएर अघि बढेर विकास गर्नुपर्छ”, उनले भने, “डेमेक्रेसीलाई बलियो पार्ने, विकास गर्ने र सुशासनलाई बलियो बनाउने कुरामा एकजुट भएर अघि बढ्न फेरि पनि आग्रह गर्छु ।” देश विकासका लागि स्थिरता चाहिने भन्दै उनले दुई ठूला दल मिलेर सुशासन र विकासमा लागेको बताए । 

देश अनेक उतारचढावबाट चल्दै आए पनि २०४७ सालपछि भौतिक पूर्वाधारका क्षेत्रमा फड्को मारेको बताए । उनले भने, “विकासले गति लिएको छैन भन्ने कुरा होइन । विकासमा काफी प्रगति भएको छ, थप प्रगति गर्न आवश्यक छ ।” भौतिक निर्माणका क्रममा एकैपटक सबै काम गर्नुपर्नेमा जोड दिँदै उनले बनाउने र भत्काउने काम गर्न नहुने बताए । 

प्रधानमन्त्री ओलीले चितवन जिल्ला त्रेतायुगदेखि नै ऐतिहासिक महत्व बोकेको जिल्ला भएको उल्लेख गरे । उनले भने, “राम जन्मेदेखिको लामो इतिहास छ । यो वास्तवमा एउटा सभ्यताको सुरुआत भएको भूभाग हो ।” 

नारायणगढको पुलचोकदेखि भरतपुरको गोन्द्राङसम्मको यो सडक निर्माणका लागि २०७७ साल असोज २६ गते इण्डो सगुन जेभीसँग सम्झौता गरिएको थियो । सडकको सोही वर्ष माघ १७ गते तत्कालीन प्रधानमन्त्री ओलीले नै शिलान्यास गरेका थिए । सडक रु एक अर्ब १३ करोड ३५ लाख ३४ हजारमा निर्माण सम्पन्न भएको डिभिजन सडक कार्यालय चितवनका सूचना अधिकारी इ कृष्ण आचार्यले जानकारी दिए ।  
    
छ दशमलव ०८ किलोमिटर सडक ५० मिटर चौडा रहेको छ भने सडक क्षेत्रमा फुटपाथ, ढल, सर्भिस लेन, स्मार्टलाइट जडान र बिजुली भूमिगत गरिएको छ । चौबिसकोठीदेखि भरतपुर ओरालोसम्मको सडकको पानी पुँगी खोलामा र चौबिसकोठीदेखि बसपार्कसम्मको पानी केरुङ्गा घोलमा जानेगरी ड्रेन तयार गरिएको आचार्यले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।