ताजा अपडेट »

यु-१९ विश्वकप एसिया छनोट : निर्णायक खेलमा शनिबार नेपाल र अफगानिस्तान भिड्दै

शुक्रबार, ०५ बैशाख २०८२, ०९ : ०२
116 Shares
शुक्रबार, ०५ बैशाख २०८२
116 Shares

बुटवल । आइसिसी यू-१९ विश्वकप २०२६ अन्तर्गत एसिया छनोट अन्तरगत नेपाल र अफगानिस्तान बीचको निर्णायक खेल शनिबार हुँदै छ । तल्लो मूलपानी क्रिकेट मैदानमा विहान साढे ९ बजेदेखि सुरु हुने प्रतियोगिताको विजेता नै सन् २०२६ मा हुने विश्वकपका लागि छनोट हुने छ । 

छनोट प्रतियोगिता अन्तरगत नेपाल र अफगानिस्तान दुबै समुहले समान ३ खेल जितेका छन् । नेपालले पहिलो खेलमा युएईलाई ५ रन र दोस्रो खेलमा ओमानलाई ८ विकेटले हराएको थियो भने हङकङलाई ९ विकेटले पराजित गर्‍यो । अफगानिस्तानले पनि नेपाल बाहेक प्रतियोगितामा सहभागी सबै देशलाई पराजित गरेको छ । 

एसिया छनोटअघि नेपाल र अफगानिस्तान तीन खेलको एकदिवसीय सिरिज खेलेका थिए। तल्लो मुलपानी मैदानमा भएको सिरिजको सुरूवाती खेलमा नेपालमाथि अफगानिस्तान हाबी भएको थियो। यद्यपी दोस्रो र तेस्रो खेलमा नेपालले पुनरागमन गर्‍यो। दोस्रो खेलमा एक रनले पराजित भएको नेपालले अन्तिम खेलमा जित निकालेको थियो। 

अफगानिस्तानसँग मुलपानी मैदानमा अभ्यास सिरिज खेल्दा फाइदा पुगेको नेपालका कप्तान नरेन भट्ट बताउँछन्। सन् २०२६ मा जिम्बावे र नामिबियामा हुने आइसिसी यू-१९ विश्वकपमा एसियाबाट एक टोलीमा मात्र छनोट हुने व्यवस्था छ।

नेपालले गत वर्ष दक्षिण अफ्रिकामा भएको विश्वकप खेलेको थियो। त्यसअघि नेपालले २००० देखि २००८ सम्म लगातार पाँचपटक विश्वकप खेलेको थियो। सन् २०१२ र २०१६ मा पनि खेल्दै नेपालले अहिलेसम्म आठ पटक युवा विश्वकप खेलिसकेको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।