ताजा अपडेट »

जुम्लाको पर्यटकीयस्थल गिडिदहलाई प्रवर्द्धन गरिँदै

विहीबार, ०४ बैशाख २०८२, १६ : ४७
12 Shares
विहीबार, ०४ बैशाख २०८२
12 Shares

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–४ मा रहेको गिडिदहलाई पर्यटकीयस्थलका रूपमा विकास गरिने भएको छ । तालोपानी गाउँपालिकाले आफ्नो पर्यटन प्रवद्र्धन कार्यक्रमअन्तर्गत गिडिदहलाई पर्यटकीयस्थलका रूपमा विकास गरी बढीभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्ष कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ ।
 
गाउँपालिका प्रमुख नन्दप्रसाद चौलागाईंले पर्यटकीय हिसाबले सम्भावित स्थानहरूको पहिचान गरी भ्रमण वर्ष कार्यक्रम सफल एवं उपलब्धिमूलक बनाउने कार्यक्रम सफल बनाउन स्थानीयवासीसँग अनुरोध गरे । उनले गिडिदहमा आर्थिक गतिविधिलाई चलायमान बनाउने, संस्कृतिको संरक्षण गर्नेलगायतका कार्यक्रमसहित पर्यावरणीय सम्मेलन आयोजना गर्न लागेको जानकारी दिए ।
 
वडा नंं ४ का वडाअध्यक्ष अमरबहादुर रोकायाले सरोकार भएका सबै पक्षको सहभागितामा भ्रमण वर्ष कार्यक्रम घोषणा गरिएकाले अपेक्षित लक्ष्य हासिल गर्न सबैको साथ सहयोग आवश्यक हुने धारणा व्यक्त गरे । गिडिदह भ्रमण वर्षमा आउने पर्यटकको सहजताका लागि अहिले पदमार्ग, पुल र धर्मशालालगायतका भौतिक संरचना निर्माणको काम भइरहेको वडाअध्यक्ष रोकायाले जानकारी दिए ।
 
वडा कार्यालयको हाँकु त्रिवेणीदेखि फूलचउल्यासम्मको १३ किलोमिटर बाटोको डिपिआर निर्माण भइसकेको पालिकाले जनाएको छ । गिडिदहको विकासका लागि सङ्घीय, प्रदेश र स्थानीय सरकारबाट संयुक्त रूपमा रु एक करोड ६० लाखभन्दा बढी बजेट विनियोजन भएको सो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।