बागलुङ । बागलुङ नगरपालिकाका नगरउपप्रमुख राजु खड्काले आफूले पाउने तलबभत्ता सामाजिक कार्यमा खर्च गरेका छन् । शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर उनले तलबभत्ता खर्चंदै आएका हुन् ।
खड्काले चार विद्यालयमा कोष स्थापना गरेकाे छभने गरिब तथा सहिद परिवारलाई खाद्यान्न प्रदान गर्दै आएका छन् । उपप्रमुखका लागि प्राप्त सेवासुविधाबापतको रकम सामाजिक काममा क्रमशः लगाउँदै जाने उनले बताए ।
जनप्रतिनिधिलाई प्राप्त सेवासुविधा सामाजिक क्षेत्रमा खर्चिने गरी घोषणाअन्तर्गत क्रमशः कार्यान्वयनमा गएको खड्काले जानकारी दिए । उनले बागलुङबाट विपन्न विद्यार्थीले अध्ययन गर्ने सामुदायिक विद्यालयमा आर्थिक सहयोग गरिरहेको भन्दै पोसाक तथा शैक्षिक सामग्रीमा यसले सहज बनाएको उल्लेख गरे । उनका अनुसार हालसम्म रु पाँच लाखभन्दा बढी रकम सामाजिक र शैक्षिक क्षेत्रमा खर्च भएको छ ।
बागलुङ नगरपालिका–१ स्थित रामरेखा आधारभूत विद्यालयमा एक लाखको अक्षय कोष, बागलुङ नगरपालिका–२ स्थित रुद्रेपीपल माध्यामिक विद्यालयमा रु एक लाखको अक्षय कोष, बागलुङ नगरपालिका–१२ स्थित कृष्ण प्राविलाई रु ५० हजार सहयोग गरेको खड्काले जानकारी दिए ।
यस्तै बागलुङ नगरपालिकाको पहिलो बालमैत्री विद्यालयका रूपमा घोषणा गरिएको सिगाना माविलाई तलबभत्ताको रकमबाटै रु ४४ हजारको पुरस्कार प्रदान गरेको उनले बताए ।
जिल्लाका क्रियाशील पत्रकारलाई लेखनवृद्धिमा सघाउन पत्रकार महासङ्घमा खडा गरिएको लेखनवृद्धि कोषमा उपप्रमुख खड्काले रु ३५ हजार सहयोग प्रदान गरेकाे पत्रकार महासङ्घ बागलुङका अध्यक्ष राम थापाले जानकारी दिए । उनका अनुसार नगरउपप्रमुले प्रत्येक दसैँमा सहिद, बेपत्ता र घाइतेका परिवारलाई लत्ताकपडा र खाद्यान्न वितरण गर्दै आएका छन् ।
सामुदायिक विद्यालयमा गरिब तथा जेहेन्दार विद्यार्थीको हितका लागि खर्चिंने गरी कोष स्थापना कार्यलाई १४ वटा वडामा पुर्याउने लक्ष्य रहेको खड्काले जानकारी दिए । “जनप्रतिनिधि जनताको सेवक हो । नगर उपप्रमुखको हैसियतमा विभिन्न सेवासुविधाबापतको रकम आउने रहेछ, उक्त रकमलाई सामाजिक काममा लगाउने घोषणापत्रमा उल्लेख गरेअनुसार कार्यान्वयनमा लागेको हुँ”, उनले भने, “आफूलाई प्राप्त सेवासुविधा सहिद परिवार, बेपत्ता, घाइतेको उन्नयनका लागि र शैक्षिक सुधारमा खर्च गर्नेगरी अगाडि बढेको छु ।”
उनले उत्कृष्ट अध्ययन तथा अध्यापन भइरहेको सामुदायिक विद्यालयका विद्यार्थीको हितका लागि अक्षयकोष स्थापना गर्दै जाने लक्ष्य रहेको बताए । “काम गर्ने क्रममा जनताकामा पुग्दा जहाँ सहयोगको आवश्यकता देख्छु, त्यही प्रत्यक्ष सहयोगसमेत गर्दै आएको छु”, उनले भने ।
प्रतिक्रिया