ताजा अपडेट »

प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्नः कांग्रेस

विहीबार, ०४ बैशाख २०८२, १३ : ४४
40 Shares
विहीबार, ०४ बैशाख २०८२
40 Shares

काठमाडौं । नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दलका नेताले भन्ने बितिक्कै सरकार नढल्ने स्पष्ट पारेको छ । केही दिन अघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ बर्षमा सरकार ढल्ने दावीको खण्डन गर्दै कांग्रेसले उनलाई जवाफ दिएको हो ।

‘प्रमुख प्रतिपक्षी दलले त सरकारको प्रतिपक्षमा भएको हुनाले सरकार ढलिहालोस् भन्ने स्वभाविक धर्म नै हो,’ बैठक पछि कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले भने,  ‘उहाँ (प्रचण्ड) ले भनेको कुरामा टिप्पणी छैन । उहाँले के भन्नुहुन्छ भन्ने आधारमा सरकार बन्ने र ढल्ने हुँदैन ।’ कांग्रेस र एमाले बिचको गठबन्धनमा समस्या भइरहेको अवस्थामा आज सभापति शेरबहादुर देउवाले पदाधिकारी र मन्त्रीहरूको संयुक्त बैठक राखेर छलफल गरेका थिए ।

प्रचण्डले ओली सरकार ढाल्न कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफू तयार रहेकोसमेत बताएका थिए। सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहीबार करिब तीन घन्टासम्म चलेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले गठबन्धन दलहरूभित्र अझै समन्वयको आवश्यकता औंल्याए ।

पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा सरकारमा पार्टीबाट सहभागी मन्त्रीहरू पनि सरिक थिए। कांग्रेस सम्मिलित केपी शर्मा ओली नेतृत्वको सरकारको कारकारबाहीको गतिलाई लिएर पार्टीभित्र आवाज उठिरहेका बेला सभापति देउवाले छलफल राखेका हुन्।

नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सरकारको कामकारबाही सुस्त भएकोमा टिप्पणी गरेका थिए। बूढानीलकण्ठमा भएको छलफलपछि प्रवक्ता प्रकाशशरण महतले गठबन्धन दलहरूबीच अझै समन्वय र सन्तुलनको खाँचो रहेको कुरा छलफलमा उठेको बताए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।